बजेट किताबमा प्रदेशको नाम सच्याउन दुई मन्त्रालयलाई सभामुखको निर्देशन – Nepal Press

बजेट किताबमा प्रदेशको नाम सच्याउन दुई मन्त्रालयलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट किताबमा भएको त्रृटि सच्याउन निर्देशन दिएका छन् । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन् ।

बजेट किताबमा पर्यटन मन्त्रालयले प्रदेशको नाम यसअघि नै सच्याउने भनेपनि अहिले पनि नसच्याएको र सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश ५ लेखेपछि संसदमा हंगामा भएको थियो ।
एमाले सांसदहरूको विरोधपछि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु गरेर सभामुखले निर्देशन दिएका हुन् ।

यस्तो छ सभामुखको निर्देशन

हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौं । सम्बन्धित मन्त्रालयहरूबाट वार्षिकरूपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिकामा उल्लेखित केही विषयहरु, खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षण सहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ ।

साथै, त्यस्ता कुनै त्रुटिहरू भएका भए तत्काल सच्याउन पुनः निर्देशन गर्दछु ।

त्यसैगरी सभाको आजको कार्यसूचीमा रहेको सहरी विकास मन्त्रालयअन्तर्गत वार्षिकरूपमा सम्पादन हुने कार्यक्रमको शीर्षकहरूमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरूले प्रश्न उठाइसके पश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउनेसमेत प्रतिबद्धता व्यक्त गरिसक्नुभएकाले अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकता अनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर