भारतीय फिल्म रोक्न हल-हलमा नगर प्रहरी, हल सञ्चालक भन्छन्- बालेनको आदेश मान्छाैं – Nepal Press

भारतीय फिल्म रोक्न हल-हलमा नगर प्रहरी, हल सञ्चालक भन्छन्- बालेनको आदेश मान्छाैं

काठमाडौं । काठमाडौं महानगरपालिकाले भाेलिबाट महानगरभित्रका सबै हलहरुमा भारतीय सिनेमा चलाउन रोक लगाउने भएको छ । मेयर बालेन्द्र साहको निर्देशनमा नगर प्रहरीले आज काठमाडौंका विभिन्न हलमा पुगेर भारतीय फिल्म हटाउन पूर्वसूचना दिएका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालको राष्ट्रिय विभूतिका रुपमा रहेकी सीतालाई ‘भारतीय छोरी’ भन्दै गलत तवरबाट प्रस्तुत गरेपछि त्यसलाई सच्याउन बालेनले ३ दिनको अल्टिमेटम दिएका थिए ।

तर आदिपुरुषले संवाद सच्याउन अटेर गरेपछि काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने घोषणा बालेनले गरिसकेका छन् । त्यसही घोषणाबारे जानकारी गराउन नगरप्रहरीलाई आज बेलुकी हलहरुमा पठाइएको हो ।

बालेनको आदेशलाई हल सञ्चालकहरुले अटेर नगर्ने संकेत देखिएको छ । हामी सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका सञ्चालक भाष्कर ढुंगानालाई यस विषयमा जिज्ञासा राख्दा उनले भारतीय फिल्म भोलीबाट नचलाउने बताए । नगर प्रहरीहरु आएर आफूसँग मौखिक कुराकानी गरेको उनले जानकारी दिए ।

ढुंगाना भन्छन्, ‘उहाँहरुले लिखित नोटिस दिनुभएको छैन । आज साँझ आएर भोलिबाट चलचित्र नचलाउन मौखिक आदेश दिनुभएको छ । हामी भोलिबाट हिन्दी चलचित्र रोक्छौं । जनताको विषयमा हामी संवेदनशील हुनुपर्छ र छौँ ।’

यद्यपी, संघीय सरकारबाट चलचित्र चलाउन भन्ने र नगर सरकारबाट नचलाउन भन्ने दुईथरि कुराले भने अन्योल सिर्जना भएको उनले गुनासो गरे ।

हिन्दी फिल्म हटाउन पूवसूचना दिन आएका नगर प्रहरीलाई वान सिनेमाजका सञ्चालकले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए । आजको टिकट बिक्री भइसकेको तर भोलिदेखि कुनैपनि भारतीय फिल्मको सो नराखिएको उनले जानकारी दिएका छन् ।

तस्बिरहरू: उमेश कार्की 

 


प्रतिक्रिया

One thought on “भारतीय फिल्म रोक्न हल-हलमा नगर प्रहरी, हल सञ्चालक भन्छन्- बालेनको आदेश मान्छाैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *