भ्रमको शिकार नबन्न अमेरिकास्थित प्रवासी नेपालीलाई एमाले महासचिव पोखरेलको आग्रह – Nepal Press

भ्रमको शिकार नबन्न अमेरिकास्थित प्रवासी नेपालीलाई एमाले महासचिव पोखरेलको आग्रह

‘पपुलिस्टहरुकै जस्तो कुरा गर्ने हो भने कम्युनिस्ट पार्टी खारेज गरे हुन्छ, देशभक्त नेतृत्वको रक्षा गर्नु चाकडी होइन’

केन्टकी (अमेरिका) । अमेरिकास्थित प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन आएका नेकपा एमालेका महासचिव शंकर पोखरेल एमाले समर्थक प्रवासीहरू भ्रमको शिकार बनेकोमा चिन्ता व्यक्त गरेका छन् ।

केन्टकी राज्यको लेक्जिन्टनमा आयोजित प्रवासी नेपाली मञ्चको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले विरोधीहरूले फैलाएका भ्रमको शिकार एमाले कार्यकर्ताहरू समेत भइरहेको बताए ।

महासचिव पोखरेलले भने– यहाँ केपी ओलीका कमजोरीहरूबारे प्रश्न गर्न पाउने कि नपाउने भन्ने प्रश्न उठ्यो । कसले भन्छ पाइँदैन भनेर । तर केपी ओलीले देशको पक्षमा उभिएर लड्दाखेरि विदेशीको इशारामा गरिएको घेराबन्दीको असर तपाईँहरूमा समेत परेको छ । देशभक्त नेतृत्वको रक्षाको कुरा गर्दा चाकडी लाग्न सक्छ । देशभक्त नेता, विकासको नेतृत्व गरेको नेताको पक्षमा उभिने कुरा कुनै व्यक्तिको पक्ष लिएको हुन्न । तर विरोधीहरूको घेराबन्दी र उनीहरूले गरेका कु प्रचारको असर तपाईँहरूमा समेत परेको छ ।

महासचिव पोखरेलले सधैँभरि विरोध मात्र गरेर देश अघि नबढ्ने बताए । पोखरेलले जसले देशभक्ति र विकासको नेतृत्व गरेको छ,उसलाई वैदेशिक शक्तिको इशारामा घेराबन्दी गरेको बेला उनीहरूकै एजेण्डा बोकेर हिँड्न खोजिएको बताए ।

प्रवासी नेपालीमाझ पोखरेलले भने– यस्तो बेला केपी ओलीका विरुद्ध विरोधीले चलाएका भ्रमको पछि लाग्ने कि नेतृत्वमाथिको प्रहारविरुद्ध एकजुट हुने ? नेताहरुबीच खाडल सिर्जना खोज्ने ? सत्य र भ्रमको बिचको अन्तर छुट्ट्याउन सकिएन भने सत्य स्थापित हुँदैन ।

महासचिव पोखरेलले पपुलिस्टहरुले जे कुरा गर्छन् त्यही बोल्ने हो भने कम्युनिस्ट पार्टी विघटन गरे हुने बताए । उनले समाज बदल्न र समाजलाई सही दिशामा लैजान तितो बोल्न सक्नुपर्ने बताए ।

मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यले सम्बोधन गरेकी थिइन् भने विकास र भूराजनीतिका अध्येता अमेरिकी विश्वविद्यालयका प्राध्यापक डा.दिनेश पौडेल, डा.शतिस देवकोटा, छवि पाण्डे, कृष्ण ढकाललगायतले फरक विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर