श्रीमतीलाई धरौटी मागियो, ११ महिने छोरो च्याप्दै श्रीमानलाई कारागारका लागि विदा गरिन् – Nepal Press

श्रीमतीलाई धरौटी मागियो, ११ महिने छोरो च्याप्दै श्रीमानलाई कारागारका लागि विदा गरिन्

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगि प्रकरणमा पक्राउ परेका १८ जनामध्ये २ जनासँग मात्र धरौटी मागिएको छ । बाँकी १६ जनालाई मुद्धा पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गरिएको छ । धरौटी मागिएमा टंक गुरुङ र लक्ष्मी महर्जन रहेका छन् ।

उनिहरु दुवैले शुक्रबार नै धरौटी बुझाएका छन् ।  महर्जनसँग ५ लाख र गुरुङसँग १० लाख रुपैयाँ धरौटी मागिएको थियो । लक्ष्मी र उनका श्रीमान हरिभक्त दुवै यो प्रकरणमा प्रतिवादी बनेपछि अदालतमा हाजिर भएका थिए । हरिभक्त भने कारागार चलान भए । लक्ष्मीले ११ महिने छोरा च्याप्दै इजलास कक्षबाहिर श्रीमान हरिभक्तलाई विदा गरेकी थिइन् ।

लक्ष्मी नेपाल प्रहरीको नायब निरिक्षक-सई हुन् । उनी प्रहरी अस्पतालकी स्टाफ नर्स हुन् । हरिभक्त न्युरोडस्थित एक सहकारीका म्यानेजर हुन् । जाहेरवालाले बुझाएको रकम हरिभक्त र लक्ष्मीको खातामा जम्मा भएको पाइएपछि उनिहरुलाई प्रतिवादी बनाइएको थियो । कोरोना महामारीका बेला भएको लकडाउनका कारण सहकारीमा आर्थिक संकट परेका कारण अर्का प्रतिवादी सन्देश शर्मालाई सहकारीमा रकम जम्मा गर्न अनुरोध गर्दा उनले यो मुद्धामा जाहेरवाला रहेका गजेन्द्र बुढाथोकीलाई भनेर पैसा जम्मा गर्न लगाएको हरिभक्तको दावी थियो ।

हरिभक्तले गजेन्द्रले पठाएको रकम जम्मा गर्न श्रीमती र सहकारीका अन्य व्यक्तीको खाता नम्बर उपलब्ध गराएको पाइएको थियो । त्यसरी जम्मा भएको रकम पछी गजेन्द्रले भनेकै व्यक्तीलाई पठाएको दावी हरिभक्तले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *