‘दान्भी’मा एक्सन अवतारमा पूजा, कुन्साङसँग जोडी पक्का – Nepal Press

‘दान्भी’मा एक्सन अवतारमा पूजा, कुन्साङसँग जोडी पक्का

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी नायिका पूजा शर्मालाई दर्शकले लभ स्टोरी फिल्ममा बढी हेर्दै आएका छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल लभ स्टोरी फिल्मले पूजाको परिचय बनाएको छ ।

तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छन् । चाँडै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ । फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजमले काम गर्ने पक्का भएको छ । यो कुन्साङको डेब्यु फिल्म हो ।

फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यसअघि ‘जय शम्भु’ निर्देशन गरेका थिए । फिल्मको एक्सन दृश्यलाई समीक्षकदेखि दर्शकले प्रशंसा गरेका थिए ।

रुपेशले भने, ‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्र्याउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ ।’

फिल्मलाई लिएर नायिका पूजा शर्मा उत्साहित छिन् । पूजाले फिल्मका लागि मेहनत गरिरहेको बताइन् ।

उनले भनिन्, ‘दर्शकमा मलाई लिएर लभ स्टोरी फिल्मको छाप छ । यसपटक दर्शकले दान्भीमा मेरो नयाँ अवतार देख्न पाउनुहुनेछ ।’

नायक कुन्साङले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको सुनाए ।

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवणकुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्कबहादुर वाइबा फिल्मका सहनिर्माता हुन् ।

फिल्मका अन्य कलाकार र टीम चाँडै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *