बागलुङ ढोरपाटनका फरार मेयरविरुद्ध ५ सय ८९ उजुरी – Nepal Press

बागलुङ ढोरपाटनका फरार मेयरविरुद्ध ५ सय ८९ उजुरी

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध ५ सय ८९ उजुरी परेको छ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत रहेका नेपालीविरुद्ध आइतबार दिउँसोसम्म बचतकर्ताको ५ सय ८९ उजुरी परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मङ्गलवारदेखि उजुरी दर्ता सुरु भएकोमा आइतबार दिउँसोसम्म ५ सय ८९ बचतकर्ताले नेपालीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

बागलुङ, गलकोट र बुर्तिबाङमा सहकारी सञ्चालन गरी झन्डै २ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेर भागेको भन्दैसहकारीका अध्यक्ष देवकुमार नेपालीविरुद्ध बचतकर्ताले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए ।

‘हालसम्म नेपालीविरुद्ध ५ सय ८९ उजुरी परेको छ, अहिले पनि उजुरी दिन आइराख्नुभएको छ,’ डीएसपी केसीले भने, ‘हालसम्म ७४ करोड ८८ लाख ६२ हजार ठगी गरेको उजुरी आएको छ ।’

सहकारीमा समस्या देखिएपछि अध्यक्ष नेपाली जेठ ५ गतेदेखि सम्पर्कविहीन छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीविरुद्ध बचतकर्ताहरूको अर्बौँ रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरूविरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ गते पत्राचार नै गरेका थियो ।

सोहीअनुसारसहकारीका अध्यक्ष नेपालीविरुद्ध आवश्यक कागजात र प्रमाण जुटाएर उजुरी दिन जिल्ला प्रहरी कार्यालय बागलुङले गत जेठ २१ गते आग्रह गरेको थियो ।

मेयर नेपालीले एक महिनाअघि विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर