मधेश प्रदेशमा सत्ता गठबन्धनमा दरार- लोसपा, माओवादी र जनमतको छुट्टै बैठक – Nepal Press

मधेश प्रदेशमा सत्ता गठबन्धनमा दरार- लोसपा, माओवादी र जनमतको छुट्टै बैठक

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सहमतिविपरीत सरकार विस्तार गर्न खोजेपछि सत्ता गठबन्धनमा दरार देखिएको छ । मुख्यमन्त्री यादवविरुद्ध सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी एक ठाउँमा उभिएका छन् ।

जसअनुसार तीन दलको संयुक्त बैठक जनकपुरधाममा सुरु भएको हो । यसअघि माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । लोसपा सरकारमा सहभागी नै छैन । जनमत पार्टीलाई दिइएको कृषि मन्त्रालय खोस्ने तयारी मुख्यमन्त्री यादवले गरेका छन् ।

मुख्यमन्त्री यादवले अपमानित गर्नेगरी जनमत पार्टीको तर्फबाट मन्त्री बसन्त कुशवाहाको कृषि मन्त्रालय खोसेको, कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई आफूखुशी मन्त्रालय दिएर सरकारमा सहभागी गराउन लागेपछि तीन दल आवश्यक छलफलका लागि अलग बैठक बसेको बुझिएको छ ।

लोसपा संसदीय दलका नेता अभिराम शर्माले केन्द्रमा भएको सहमतिविपरीत मुख्यमन्त्री यादवले सरकार विस्तार गर्न खोजेकाले आवश्यक निर्णय गर्न लोसपा, माओवादी र जनमत पार्टीको बैठक बसेको बताए ।

उनले भने, ‘मुख्यमन्त्रीबाहेक सबै मन्त्रालय खाली गर्ने सहमति भएको थियो । तर, मुख्यमन्त्री यादवले सहमति उल्लंघन गरेका छन् । त्यसैले अब के गर्ने भन्ने विषयमा हामी छलफल गर्दैछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर