‘हस्तकलामा सम्मान र इज्जत नहुँदा युवाहरू आकर्षित भएनन्’ (भिडिओ) – Nepal Press

‘हस्तकलामा सम्मान र इज्जत नहुँदा युवाहरू आकर्षित भएनन्’ (भिडिओ)

हस्तकला संघका अध्यक्ष रमेश सिंह भन्छन्-  ललितपुरलाई वर्ल्ड क्राफ्ट सिटी बनाउन कोसेली घर आवश्यक तीन मुख्य विषयमध्ये एक हो

काठमाडौं । ललितपुर हस्तकला संघका अध्यक्ष रमेश सिंह ललितपुर महानगरपालिकाद्वारा सञ्चालित कोसेली घरका व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनै सिंहले ललितपुरको पाटन ढोकामा सञ्चालित कोसेली घरको नालीबेली नेपाल प्रेससँग साझा गरेका छन् । प्रस्तुत छ, कोसेली घर सञ्चालनको कथाः

कोसेली घर भन्नाले उपहार (गिफ्ट) भन्ने बुझिन्छ । ललितपुर महानगरपालिकाबाट सञ्चालित कोसेली घरले ललितपुर हस्तकला संघबाट व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

ललितपुर महानगरपालिकालाई ३५औं वर्ल्ड क्राफ्ट सिटी बनाउने घोषणा गर्न आवश्यक तीन मुख्य विषयमध्ये कोसेली घर एक हो । क्राफ्ट सिटीका लागि एक ट्रेनिङ सेन्टर, अर्काे विश्वविद्यालय र एक हस्तकला प्रदर्शन चाहिन्छ । क्राफ्ट सिटीको लागि नै कोसेली घरको स्थापना गरिएको हो ।

कोसेली घरको सुरुवात

कोसेली घरको अवधारण धेरै पहिलेदेखि थियो । यो हस्तकला बनाउने कलाकार व्यवसायले उत्पादन तथा निर्माण गरेका सामानको प्रदर्शन गर्ने स्थान हो । धेरै पहिलेबाटै आवाज उठाउँदा उठाउँदै बल्ल बल्ल बनेको हो कोसेली घर । ५-६ वर्ष पहिले वर्ल्ड क्राफ्ट सिटी बनाउने घोषणा गरिएपछि तीनवटा क्राइटेरियामध्ये कोसेली घर नभई नहुने भएकाले मेयरको पहिलो कार्यकालमा स्थापना गर्न जोड भएको थियो । एक वर्षअघि नै उद्घाटन हुनुपर्नेमा यस वर्षको बैशाख ५ गतेमात्रै भयो ।

कोसेली घरको संरचना बनाउनेदेखि व्यवस्थापनसम्म सबै महानगरले गरिरहेको छ । सबै कर्मचारी, भाडा, बिजुली तथा विभिन्न व्यवस्थापन खर्चको लागि महानगरले वार्षिक ४३ लाखको हाराहारीमा बजेट दिने गरेको छ । सात जना जनशक्ति महानगरकै बजेटबाट परिचालन गरिएको छ ।

महानगरभित्र रहेका सबै कला उद्यमी तथा कलाकारका लागि प्रदर्शनी स्थलको रुपमा व्यवस्था गरिएको छ । अहिले कमभन्दा कम प्रतिशत नाफामा हस्तकला उपलब्ध गराइरहेका छौं । बाहिरी बजारभन्दा कोसेली घरमा सस्तो मूल्यमा बेचिरहेका छौं । स्थानीय मानिसहरुले सबै सामान सस्तोमा पाउने भएकाले उनीहरुले नै प्रवर्द्धन गरिरहेका छन् ।

हस्तकलाको आयात र मूल्य निर्धारण

ललितपुर महानगरभित्र मात्रै नभएर ललितपुर जिल्लाभरबाट उत्पादन भएका सामानहरु प्रदर्शन गरिरहेका छौं । सामानहरु महानगरभित्र मात्रै नभएर उपत्यकाभरबाट ल्याउने गरिन्छ । कति सामानहरु विदेशबाट आयात गर्ने गरिन्छ । भारत, ताइवान, चीन, सिंगापुरबाट कच्चापदार्थ ल्याउने गरिन्छ । नेपालमै पाइने कच्चापदार्थ प्रयोग गरेर पनि बनाइने गरिन्छ ।

हस्तकलाको मूल्य महानगरबाट होइन व्यवसायी तथा मुख्य कलाकारबाटै तोकिन्छ । सोही मूल्यमा कमभन्दा कम प्रतिशत नाफा राखेर बिक्री गरिन्छ ।

ललितपुर महानगरपालिकालाई ३५औं वर्ल्ड क्राफ्ट सिटी बनाउने घोषणा गर्न आवश्यक तीन मुख्य विषयमध्ये कोसेली घर एक हो । क्राफ्ट सिटीका लागि एक ट्रेनिङ सेन्टर, अर्काे विश्वविद्यालय र एक हस्तकला प्रदर्शन चाहिन्छ ।

प्रतिक्रिया राम्रो नै आइरहेको छ । अहिले कलाकारले सीधै सामान राख्ने गर्छन् । कुनै व्यापारी बीचमा नभएकाले मूल्य सस्तो छ । व्यापारीले गर्ने मनोमानी हिसाबको दर यहाँ छैन । कलाकारकै दरमा हस्तकला सस्तो मूल्यमा बेचिन्छ । बाहिरको भन्दा धेरै सस्तो मूल्यमा सामान पाइरहेकाले ग्राहकबाट राम्रो प्रतिक्रिया आइरहेको छ । कोसेली घर आफैंमा नयाँ र हाम्रा लागि पनि नौलो कुरा हो । नेपालभरमै सरकारी क्षेत्रबाट सञ्चालनमा रहेको यो पहिलो कोसेली घर हो ।

ललितपुरमा भएका सबै कलाहरुलाई समेटिरहेका छौं । त्यसमा छुटेका केही थोरबहुतलाई पनि जोड्ने कोसिस गर्दछौं । ललितपुरमा पहिलेदेखि नै भएका मुख्य धातुकला, प्रस्तरकला, काष्ठकला, सुनचाँदी र चित्रकला सबैलाई ल्याइसकिएको छ । बाँकी रहेका केही विधाहरु आउने क्रममा छ । कोरोनाले गर्दा कलाकारले पनि माग भए जति मात्रै बनाउने र बेच्ने गरेका छन् ।

कलाप्रतिको युवाहरुको चासो र भविष्य

कलाकारहरुलाई बाहिरी र सरकारी दुबै परिवेशमा प्रोत्साहन तथा सम्मान छैन । कलाकारलाई एक ज्यामीको रुपमा मात्रै हेर्ने गरिन्छ । त्यसैले हाम्रो पुर्खासम्म जसरी पनि काम गरियो । अबको सन्तति आउँदा पैसा छ । तर, मान सम्मान र इज्जत केही छैन । कलाकारभन्दा पनि कामदारको रुपमा हेर्ने गर्दा धेरैजसो युवा पुस्ता विदेशतिर जाने गरेका छन् । हामीले यसलाई जोगाउनुपर्छ । ललितकलालाई जोगाइराख्न कोसेली घरको स्थापना गरिएको हो । व्यवसायमा भविष्य छ । तर, मान सम्मानको कमी छ । अलिकति दुःख गर्नुपर्ने हुन्छ । तैपनि युवाहरुले नयाँ प्रविधिको प्रयोगबाट नयाँ नयाँ कला उजागर गरिरहेका छन् ।

यो पहिलो पाइला हो । यस्तै सरकारले बाटोहरु खुलाउँदै जाने तथा राष्ट्र बैंकबाट उद्यमीहरुलाई न्यूनतम ब्याजमा ऋण प्रवाह गर्ने र प्रशासनिक कार्यमा सहजीकरण गर्ने वातावरण मिलाउनुपर्छ । एउटा सानो कलाको लागि चाहिने कच्चापदार्थ छैन । यहाँ ढुंगा पाइँदैन । बाहिर जिल्लाबाट ढुंगा ल्याउनुपर्छ । विभिन्न चेक पोस्टमा अवरोध सृजना भइरहेको हुन्छ । त्यस्तै काठको अभाव छ । तराईका जिल्लाबाट काठ ल्याउनुपर्ने हुन्छ । त्यसमा पनि धेरै झन्झट हुन्छ ।

त्यसैगरी धातुकलाका लागि चाहिने तामा पाइँदैन । सुन विदेशबाट आयात गर्नुपर्छ । सुन राष्ट्र बैंकबाट पाइँदैन, कालोबजारबाट सुन किन्नुपर्ने हुन्छ । यसमा अधिक मूल्य पर्ने हुन्छ । सुनको गहना बनाउन चाहिने मर्करी (पारो) अवैध छ । विभिन्न सामान उपलब्ध नहुँदा नहुँदै पनि तयार पार्नुपर्ने हुन्छ । त्यसैले सरकारले कच्चापदार्थ सहज उपलब्ध गराउने हो भने झन राम्रो हुन्छ र युवा पुस्तालाई पनि यसमा समेट्न सकिन्छ ।

पाटन ढोका ऐतिहासिक ढोका हो । पाटन ढोका नचिन्ने मान्छे बेग्लै हुन्छ । यसै स्थानमा पर्यटनको लागि बसपार्क बनाइसकेका छौं । प्रयोगमा ल्याउनमात्रै बाँकी छ । महानगरले पर्यटनका लागि ‘इलेक्ट्रिक भेहिकल’ महानगरभित्र सञ्चालन गर्ने र विद्युतीय गाडी पाटन ढोकाबाटै सुरु हुने भएकाले पनि उचित स्थान भयो । पहिलेदेखि नै पाटन ढोका मुख्य स्थान भएकाले पनि यही कोसेली घर स्थापना गरेका हौं । निकट भविष्यमा पाटनकै मंगलबजारमा विस्तार गर्ने योजना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *