मिथक ! सच्चिने कि सक्किनेको दुबिधा – Nepal Press

मिथक ! सच्चिने कि सक्किनेको दुबिधा

गोरेटोको गुन्जायस पनि स्वाभाविकै लाग्न थाल्यो । आफ्नै मूल्य र मान्यताको बीचमा दौडेका पाइलाहरु ढल्पलाउने भइरहँदा जीवनमा आउने उतारचढाव स्वाभाविक नै हुने रहेछ । क्षणिकतामा पौडिएका भावहरु अन्ततः डुबुल्की मार्नुको विकल्प रहेनछ । यही विकल्पविहीनतामा विगतका पलहरु निरन्तर रुपमा पौडिरहे । लाग्छ, अबका बाँकी पलहरु यसैको दृश्यचक्रमा नियतिहरु दोहोरिनेछन् ।

हिजोको पालुवाले आज अन्देखा परिवर्तन गरेछ । स्वाभाविकताको नियमन नै यही रहेछ । यद्यपि यही नियमन जीवनको उर्बरतामा सोच्न नसकिने मानवीय प्रवृत्ति रहेछ । लाग्छ, सबै सम्भावनामात्र छ । आवेग र उत्तेजनाले वैयक्तिक भावनामा कति चोट पुगे, यो निर्मम आत्माले सोच्न सकेन । सायद यही नै आत्मानुभूतिको परिचय हो । भोगाइ र देखाइको तादात्म्यता किञ्चित सम्भव रहेनछ । जीवनका स्वर्णिम उपलब्धतालाई नै सर्वेसर्वा सोच्नेहरु समयसँगै पराजित हुने क्रममा स्खलित हुने रहेछ । निरन्तरताभित्र अन्धकार त क्षणिकमात्र रहेछ । दिनको उज्यालोले रातको भ्रम चिर्न सहजै सक्नेरहेछ । यद्यपि आत्मरतिले जीवनमा ठूल्ठूला महत्वाकांक्षाको पहाड समीपमा रहे ।

आभाषको पनि मात्रा हुन्छ क्यारे ! आवश्यकतामा ग्रहण गर्न नसकेका आभाषहरु जीवनका उत्तरार्द्धमा चम्किलो घाम बनेर घोचिरहे । सोचको बन्धनमा आभासका किरणहरु चम्किरहे । लाग्छ, त्यो चम्किलो किरणको राप सजिलै ढल्मलाउने छैन । विधाताको यो नियमनमा छिर्न पर्ने बाध्यतामा अनकण्ठ तवरबाट लामबद्ध हुन हानथाप गरिरहे । सोचको बन्धनभित्र बाट निस्कने प्रयत्न फगत हुने शिवाय अन्य रहेन । त्यही उन्मादको बीचमा हुर्किएको महत्वाकांक्षाले अन्ततः डेरा जमाएको छ ।

बनाउने र बन्ने त जीवनका साधनमात्र रहेछ । साध्य त वर्तमान रहेछ । अन्य सबै मिथक ! बगिरहेको त्यो वेगमा पनि असमानता रहेछ, हिजो बेस्सरी चिच्याएको खोलीको गर्जन आज सुस्ताएको छ ।

धर्तीमा टेकेको पाइलामा पनि जब अनायासै प्रश्नहरु खडा हुन्छ तब जीवनको वास्तविक बोधले घर गर्दाेरहेछ । हरेकतामा अर्थले राज गरेपछि सृष्टिका भौतिक वस्तुहरु फिक्का हुनु स्वाभाविकै रहेछ । सबै परिवर्तनशील तर सोचमा बन्धन बनिदिँदा त्यसले पार्ने प्रभाव र असरहरु भयानक हुने रहेछ । आत्मानुभूतिको यो श्रृंखलामा अनेकौं प्रश्नका बाढी थुप्रिँदा पुरिनुपर्ने स्वाभाविकलाई समेत नजरअन्दाज गर्नु भनेको जीवनको दुःखका कारण रहेछ ।

हिजोको घमाइलो घामले आज पोलेको छ । सायद सृष्टिको यो सहज नियमनलाई समेत आत्मसात गर्न नसक्दा पोलिने क्रमको सुरुवातले व्यापकता पाएको छ । निश्चल र निर्मम आत्माहरु निरीह सावित हुने तीव्रताका साथ लागिरहेका छन् । हिजोको बलियो आधार त्यही प्रहारमा पनि ढरमराएको जस्तो, आत्माले हारेको जस्तो र सबै प्रहार आफूमा बज्रिए जस्तो समयको नै माग होला सायद ! हेर्ने दृष्टिकोणमा पनि चेतनाले डेरा जमाउँछ क्यारे ! नत्र यति धेरै आत्मानुभूतिको कसी किन ? स्वाभाविकभित्र पनि प्रश्नको ज्वारभाटाहरु यसैको परकम्प होला । सच्चिने कि सक्किनेको दोधारमा रहेका सोचहरुमा सकारात्मक प्रभावले जित्ने आशामा बिर्को लागेको छ । अब त रातको अन्धकारमा नै अपनत्व देख्ने बानीको विकास भएको छ । यसैभित्र जीवनका फूलहरु फक्रिएका कल्पनाहरु हृदयंगम हुने आधार बनेको छ ।

त्यो चम्किलो नयनभित्र पनि उदासीनताको प्रकाशले ढाकेको जस्तो । खोलाको सुस्केराभित्रको आनन्दमा रम्न खोज्ने आत्माहरु पनि बिच्किए जस्तो । हिजो आकाश चुम्ने गरी गएका बोटहरुमा आज त कतै घुम्रिए जस्तो । सायद जीवनको अर्थ यहीभित्र भेटिन्छ क्यारे ! कोइलीको चिर्चराहटमा भेटिने आनन्द जीवनको कुन पलमा सम्भव होला र ? बनाउने र बन्ने त जीवनका साधनमात्र रहेछ । साध्य त वर्तमान रहेछ । अन्य सबै मिथक ! बगिरहेको त्यो वेगमा पनि असमानता रहेछ, हिजो बेस्सरी चिच्याएको खोलीको गर्जन आज सुस्ताएको छ । वेगमा बगेको पानीको मात्रामा असमानता रहेछ ।

हुने र नहुनेको बीचमा फरकपन जीवनको पलहरुसँगै चेतनाको मात्रासँगै अनुभूति हुने रहेछ । हिजो कल्कलाउँदै बगेको वेग आज सुख्खा बनेछ । त्यो वेगमा आएको उतारचढाव र उभारमा जीवनका अणुहरु केलाउन सकिने रहेछ ।

हुने र नहुनेको बीचमा फरकपन जीवनको पलहरुसँगै चेतनाको मात्रासँगै अनुभूति हुने रहेछ । हिजो कल्कलाउँदै बगेको वेग आज सुख्खा बनेछ । त्यो वेगमा आएको उतारचढाव र उभारमा जीवनका अणुहरु केलाउन सकिने रहेछ । यथार्थलाई आत्मसात गर्न काशी नै जानुपर्ने रहेनछ । देखिने, भोगिने र टेकिने वस्तुको समागमलाई नियाल्ने दुस्प्रयास गरियो भने शाब्दिक जीवनबोध हुनेरहेछ । यद्यपि यो बाटो सबैमा सम्भव नहुने रहेछ ।

भीडको बीचमा पनि एक्लो र एकान्तको अनुभूति जीवनको नित्यकर्म बनिदियो । यही सोच सायद सबैमा हुन्छ कि कुष्ठामा । उपयोगका यो प्रतिस्पर्धामा अपनत्व खोज्ने दुस्साहस समयले धेरै पछि दिलाइदियो । प्राप्तिमा सायद जीवनको रंग थाहा हुँदैन क्यारे ! अनुकूलताको जीवनले अन्ततः एकदिन निरीह बनाउने निश्चित रहेछ । जब जीवनको रंगबोध हुन्छ, त्यसलाई आत्मसात गर्नु भनेको असम्भवप्राय रहेछ । नयनको परेली पनि गतिको निरन्तरताको अभ्यास गर्दैछ क्यारे ! झुम्रिएको र लद्रिएको छ । सधैं सबै समान नहुने यथार्थ सबैमा लागू हुनेरहेछ । एक्लो वृहस्पति बन्ने प्रयास महत्वाकांक्षाको द्योतकमात्र रहेछ । भौतिकतामा जीवन सम्पूर्णता देख्नेहरु धर्तीका बोझ रहेछन् । जुन बोधले जीवनको उत्तरार्द्धमा सजिलै बाँच्न नदिने रहेछ ।

भोजनमा, सयनमा र नयनमा समेत प्रत्याभूत हुने अवस्था सायद कमैमा रहला ! टेकेको पाइलामा पनि जीवनबोध हुने अवस्था निश्चय पनि सरल होइन । सोध्ने र प्रश्नको उत्तर खोज्नेको यो प्रतिस्पर्धामा जीत सोध्नेको नै हुने निश्चितप्रायः छ । शून्यभित्रको जीवनको माधुर्यतामा पनि प्रश्नको वर्षा भइदियो, जीवनमा जीवनको न्याय कति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर