मागेर गर्ने समाज सेवा र महावीरको आविष्कार केन्द्रले राज्यबाट खोजेको टेवा – Nepal Press

मागेर गर्ने समाज सेवा र महावीरको आविष्कार केन्द्रले राज्यबाट खोजेको टेवा

महावीर पुन माइतीघरमा धर्नारत छन् । प्रधानमन्त्री पुष्पकमल दाहालका अनुसार उनी सल्लाहमै धर्ना बसेका हुन् । केही सहृदयी र शुभेच्छुकको साथमा उनले तीन रात त्यहाँ बिताइसके । अझै कति रात बिताउनुपर्ने हो यकिन छैन ।

दृढता हेर्दा/सुन्दा उनी कैयौं रातका लागि तयार भएरै माइतीघर ओर्लिएको भान हुन्छ । उनले धर्ना बस्ने घोषणा गरेपछि धेरैले चिन्ताजनक प्रश्न उठाइरहेका छन्- ‘महावीर पुन जस्ता निःस्वार्थी मान्छेलाई पनि सडकमा ओर्लिन बाध्य पार्ने यो कस्तो देश, कस्तो सरकार ?’

पुनले धर्ना नै थालेपछि त यो प्रश्न झनै फैलिएको छ । र, उनीप्रतिको सहानुभूतिसहित उठाएका मुद्दामा जनसमर्थन बढ्दो छ । राजनीतिक र सामाजिक क्षेत्रका अगुवासहित भूईंमान्छेले पनि धर्नास्थल पुगेर ऐक्यबद्धता जनाइरहेका छन् । यस्तो लाग्छ, महावीरको धर्नामा समर्थन जनाउन नजानेहरू सोसाइटीमै नपर्ने खतरा छ ।

र, सबैको जोड छ, सरकारले उनको माग तत्काल पूरा गर्नुपर्छ ।

महावीरमात्र होइन, माग बोकेर यसरी सडकमा कोही नै उत्रिनु नपर्ने परिस्थिति बनिदिए क्या गजब हुन्थ्यो !

०००

विसं. २०४६ (सन् १९८९) मा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेका पुनलाई सोही विश्वविद्यालयले मानार्थ ‘डाक्टर’को उपाधि पनि दिएको छ । विसं. २०५० (सन् १९९३) मा अमेरिकाबाट फर्किएपछि पुन आफू जन्मिएको म्याग्दीको नागी गाउँमा बेतारे इन्टरनेट पुर्‍याउन लागे । जबकि त्यतिबेला इन्टरनेटको पहुँच काठमाडौंमै समेत अन्त्यन्तै सीमित थियो ।

जब विसं. २०५८ (सन् २००१) मा ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन (बीबीसी)ले गाउँ-गाउँमा इन्टरनेटको पहुँच पुर्‍याउने महत्वाकांक्षी योजनालाई विश्वमाझ पुर्‍यायो तब विदेशी दाताको सहयोगमा महावीरले ग्रामीण भेगमा इन्टरनेट विस्तार, कम्प्युटर शिक्षा, टेलिमेडिसिन र ई-कमर्सका क्षेत्रमा ‘क्रान्ति’ नै गरे । महावीरले अन्नपूर्ण क्षेत्रका पर्यटकलाई लक्षित गरेर टुरिस्ट ट्रयाकिङ सिस्टममा समेत योगदान गरेका छन् । पछिल्लो समय आविष्कार केन्द्र सञ्चालन गरिरहेका छन् ।

सरल जीवन र प्रस्ट विचार महावीरको अर्को पहिचान हो । उनी लप्पन-छप्पन जान्दैनन् । लागेकाे कुरा हाक्का-हाक्की भन्छन् । सामाजिक रूपमा पारदर्शी छन् । एक अन्तर्वार्तामा भनेअनुसार उनले पढ्न अमेरिका गएयता आफैंले किनेर लुगा लगाएका छैनन् रे !

महावीर, ‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न पुरस्कार र सम्मानबाट विभूषित छन् । स्वदेश फर्किएयता पुन विज्ञान प्रविधिको क्षेत्रमै तल्लिन छन् । खोज-अनुसन्धानमा व्यस्त छन् र केही परिणाम पनि दिएका छन् ।

उनी नेपालका उच्च कोटीका प्रतिभा हुन् । जसले आफ्नो जीवन खोज-अनुसन्धानमा समर्पण गरेका छन् र आफ्ना खोज-अनुसन्धानले व्यवसायिकता ‘माइलेज’ भन्दा पनि सामुदायिक रूपान्तरणमा पुगोस् भन्ने ध्येय राख्छन् ।

सरल जीवन र प्रस्ट विचार महावीरको अर्को पहिचान हो । उनी लप्पन-छप्पन जान्दैनन् । लागेका कुरा हाक्का-हाक्की भन्छन् । सामाजिक रूपमा पारदर्शी छन् । एक अन्तर्वार्तामा भनेअनुसार उनले पढ्न अमेरिका गएयता आफैंले किनेर लुगा लगाएका छैनन् रे !

विज्ञान प्रविधि, खोज-अनुसन्धान र सामाजिक-आर्थिक रूपान्तरणमा अनौठो हुटहुटी र लगाव छ महावीरको । उनी प्रतिभावान नेपाली हुन्, जसप्रति समाज नतमस्तक छ । र, लगभग प्रश्नविहीन पनि ।

सत्कर्मले स्थापित भएका थोरै नेपालीमध्ये सूचीको माथिल्लै क्रममा पर्ने पात्र हुन् महावीर ।

०००

राजनीतिक-सामाजिक विषयका मुद्दामा ध्यानाकर्षण गराउने थलो माइतीघरमा केही दिनयता अलि फरक विषयले प्राथमिकता पाएको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकारले पटक्कै ध्यान नदिएको, सामान्य लगानी पनि नगरेको र व्यक्तिगत प्रयासमा भएका उपलब्धिको पहिचान पनि नदिएको गुनासोमात्र व्यक्त भइरहेको छैन त्यहाँ, माग पूरा नभएसम्म प्रदर्शन/धर्ना जारी राख्ने दृढता पनि छ । आन्दोलनको अगुवाइ उनै सत्कर्मी महावीरले गरिरहेका छन् । आन्दोलनकारीका मुख्य माग चार वटा छन् ।

सबैभन्दा गरिब ‘धनबहादुर’, फु गर्दा ढल्ने ‘बलबहादुर’ र दृष्टिविहीन ‘नेत्रलाल’ हुने देशमा नामअनुसार राष्ट्रिय आविष्कार केन्द्रको चाहिँ काम खोज्नु धेरै सान्दर्भिक नहोला ! केन्द्रले नयाँ आविष्कारभन्दा पनि अभ्यासमै रहेका प्रविधिको प्रयोग र उपकरण मर्मतमा चाहिँ राम्रै काम गरिरहेको छ ।

पहिलो: अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत रकम छुट्याएर ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’मा राख्नुपर्ने ।

दोस्रो: सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने ।

तेस्रो: अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका वस्तुलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीलाई उद्यम सुरु गर्न चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने । सो कामलाई सहज बनाउने गरी नीति-नियम तर्जुमाका लागि ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने ।

चौथो: प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन र प्रवर्द्धन गर्न विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ स्थापना गर्नुपर्ने । सो विभागलाई देशका प्रतिभालाई पलायन हुन नदिन र विदेशमा रहेकालाई स्वदेश फर्काउन चाल्नुपर्ने सबै कदमबारे पूर्णाधिकार दिनुपर्ने ।

सरसरती हेर्दा माग अनुचित, अप्रासांगिक, अतिरञ्जित पनि छैनन् । राज्यले बेलैमा ध्यान दिनुपर्ने र सक्दो लगानी गर्नुपर्ने खालकै छन् ।

दुनियाँले पत्तै लगाउन नसकेको प्रविधि र अहिलेसम्म प्रयोगै नगरेको वस्तुको उत्पादन पो ‘आविष्कार’ हुनुपर्ने होइन र ?अनुसन्धान, नवप्रवर्तन र आविष्कार भन्दै महावीरले आन्दोलनको अगुवाइ गर्दा केहीले उनीप्रति अविश्वास जताइरहेका छन् । र, उनको यो कदमलाई थप लोकप्रियताका लागि भन्ने पनि छन् ।

०००

अब महावीर पुन सडक संघर्षमा ओर्लिनुको पृष्ठभूमिबारे संक्षिप्त चर्चा गरौं ।

महावीरले विसं. २०६९ (सन् २०१२) मा राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए । वेबसाइटमा उल्लेख भएअनुसार मुनाफारहित सो केन्द्रले अनुसन्धान, नवप्रवर्तन र प्रविधिको माध्यमबाट नेपाललाई आर्थिक रूपमा समृद्ध राष्ट्र बनाउने लक्ष्य राखेको छ । देशभरबाट खोजिएका रचनात्मक दिमागबाट विकास, विस्तार र उत्पादन भएका वस्तुलाई मञ्च प्रदान गर्नु चाहिँ आविष्कार केन्द्रको प्राथमिकता हो ।

वेबसाइटमा उल्लेख भएअनुसार आविष्कार केन्द्र १८ भन्दा बढी योजनामा केन्द्रित छ । र, दुई वटामा चाहिँ नेपाल सरकार पनि साझेदार छ ।

पहिलो: पोखरा-जोमसोमबीचको भागमा पर्ने हवाई रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा सम्झौता भएको छ ।

दोस्रो: नेपाल सरकार (अर्थ मन्त्रालय)ले दस वर्ष सञ्चालन गर्ने गरी कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको छ ।

यी दुईबाहेक अरू योजना/काम दाता र शुभेच्छुकको सहयोगमा भइरहेको हो । अर्थात्, थप अध्ययन अनुसन्धान त टाढाको कुरा सञ्चालन खर्च धान्न पनि महाभारत परिरहेको छ आविष्कार केन्द्रलाई ।

केन्द्र सञ्चालनका लागि भन्दै महावीरले पाएका अवार्ड/पदक विक्री गर्ने घोषणा समेत गरे। पाँच वर्षअघि आफैंले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको पोखराको २८ रोपनी जग्गा बिक्री सूचना पनि जारी गरे । तर, जग्गा बिक्री भएन रे !

केही वर्षदेखि मरिमेटेर गरेको काम नासियोस् भन्ने त कसलाई नै लाग्छ र ? तर, ‘आविष्कारकै नेतृत्व गर्छु’ भन्ने महावीर जस्ताको प्रोजेक्ट प्लान बीचैमा किन धरापमा पर्‍याे  ? र, उनी किन सरकारी अनुदानको आश गर्ने अवस्थामा पुगे ?

सरकारले २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा १ अर्ब रुपैयाँको नवप्रवर्तन कोष सञ्चालन गर्ने उल्लेख थियो । कोष स्थापना/सञ्चालन हुँदा सहयोग माग्ने पहिलो हकदार आविष्कार केन्द्र नै हुन्थ्यो । सायद, महावीर पनि त्यसप्रति आशावादी थिए होलान् । तर, कोष नै स्थापना नहुँदा आशा पूरा हुने आधारै बनेन ।

जब ‘यात्री’ मोटरसाइकले सरकारी दर्ता र नम्बर प्लेट नपाएको चर्चा भयो । तब, महावीरले असन्तुष्टि पोख्ने मौकासहित आफ्नो पनि ‘पहिचान’ बढाउने अवसर पाए । अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई आन्दोलनको मुद्दा बनाए । मुद्दा र माग निकै भेगीय जस्तो लागे पनि अन्तर्यमा महावीर राष्ट्रिय आविष्कार केन्द्रकै सेरोफेरोमा केन्द्रित छन् भन्ने देखिन्छ ।

०००

नेपाली बृहत् शब्दकोशले आविष्कार शब्दलाई ‘नयाँ सिद्धान्तको प्रतिपादन, नयाँ वस्तुको उत्पादन, आविष्करण’ भनेर अर्थ्याएको छ । र, कतिपयले यही अर्थमा टेकेर महावीरको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रले ‘के नयाँ सिद्धान्त वा वस्तु उत्पादन गर्‍यो ?’ भनेर प्रश्नसमेत उठाउँदै आएका छन् ।

सबैभन्दा गरिब ‘धनबहादुर’, फु गर्दा ढल्ने ‘बलबहादुर’ र दृष्टिविहीन ‘नेत्रलाल’ हुने देशमा नामअनुसार राष्ट्रिय आविष्कार केन्द्रको चाहिँ काम खोज्नु धेरै सान्दर्भिक नहोला ! केन्द्रले नयाँ आविष्कारभन्दा पनि अभ्यासमै रहेका प्रविधिको प्रयोग र उपकरण मर्मतमा चाहिँ राम्रै काम गरिरहेको छ ।

केन्द्रले बाँदर धपाउने र सेलरोटी पकाउने मेसिन बनाएको छ । औषधि बोक्ने ड्रोन र कपडा धुने मेसिन तयार गरेको छ । इलेकट्रोनिक बिलिङ प्रणाली र बसको टिकट बुकिङ गर्ने ओके जर्नी एप प्रयोगमा ल्याएको छ । डिजेल र पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । यस्तै यस्तै अरू केही पनि छन् ।

२०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले महावीर पुनलाई आफैंले बोलाएर आविष्कार केन्द्रका लागि बजेट व्यवस्था गर्ने भन्दै ५ करोडबाट क्रमशः काम गर्दै जाने प्रस्ताव राख्दा उनले मानेनन् । महावीरले ५० करोडभन्दा तल नलिने भनेपछि नियमबमोजिम नमिल्ने भो भन्दै पौडेल पछि हटेका थिए । ५ करोडको काम एक वर्षमा गर्दा अर्को वर्ष १० करोड थपिन सक्थ्यो ।

दुनियाँले उहिल्यै प्रयोग गरेको उपकरण/सामग्री नक्कल गरेर उत्पादन गर्दैमा ‘आविष्कार’ हुन्छ ? भन्ने तर्क छ एकथरिको । अलि गहिरिएर सोच्दा हो पनि !

दुनियाँले पत्तै लगाउन नसकेको प्रविधि र अहिलेसम्म प्रयोगै नगरेको वस्तुको उत्पादन पो ‘आविष्कार’ हुनुपर्ने होइन र ?

अनुसन्धान, नवप्रवर्तन र आविष्कार भन्दै महावीरले आन्दोलनको अगुवाइ गर्दा केहीले उनीप्रति अविश्वास जताइरहेका छन् । र, उनको यो कदमलाई थप लोकप्रियताका लागि भन्ने पनि छन् ।

अखिल छैटौंका पूर्वअध्यक्ष एवं नेकपा (मसाल)का युवा नेता विमल पोखरेल महावीर पुन र आविष्कार केन्द्रका प्रखर आलोचक हुन् । पुनले आन्दोलन सुरु गरेपछि सामाजिक सञ्जालमा पोखरेलले विरोधमा लेखिरहेका छन् ।

उनले लेखेका छन्- ‘दुनियाँको पैसा उठाएर मर्मत केन्द्र चलाएर आविष्कार भन्दै हल्ला चलाएको सेकेण्ड ह्याण्ड सामानको व्यापारी पनि सडकमा ? …… यो देशमा सस्तो लोकप्रियताबाहेक केही बिक्री नहुने भयो । बर्बाद देख्छु मैले चाहिँ ।’

पोखरेलले अर्को ट्विटमा लेखेका छन्- ‘नाष्टका वैज्ञानिक, विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले अनुसन्धानका लागि पैसा र जनशक्ति चाहियो भनेर बजेट माग्छन् भने अग्र भागमा गएर आन्दोलन गरिन्छ । मर्मत केन्द्रको व्यापारीले आन्दोलन गर्नु भनेको अनैतिक, भ्रष्ट र बेकुफ तरिका हो ।’

बाग्लुङका हेलिकोप्टर बनाएको दाबी गर्ने युवा हुन् कि सिन्धुपाल्चोक हेलम्बुका मोटरसाइकल निर्माण गर्ने ! मोटरसाइकलको इन्जिन प्रयोग गरेर पानी तान्ने पम्प बनाउने हुन् वा घरेलु भरुवा बन्दुकका आविष्कारक सबै सबैले आफूलाई वैज्ञानिक नै ठान्छन्, महावीर हाराहारीकै । महावीरप्रति उदार हुँदा सरकारले तिनलाई पनि जवाफ दिनुपर्ला नै !

समाज हो- समर्थन-विरोध, प्रशंसा-आलोचना भइरहन्छ ।

०००

हो, सक्दा राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा लगानी गर्नुपर्छ । क्रमशः बढाउँदै लैजानुपर्छ । यस अर्थमा महावीर पुनका माग साह्रै जायज र सान्दर्भिक पनि छन् । तर, यहाँ बुझ्नु पर्ने कुरा हो- प्राथमिकता, लगानी गर्ने क्षेत्र र प्रतिफल ।

नागरिकले गाँस, बास र कपासकै लागि संघर्ष गरिरहेका बेला, शिक्षा- स्वास्थ्य जस्ता आधारभूत कुरामा समेत सबैको पहुँच पुर्‍याउन नसकिएका बेला ‘आविष्कार’ सडकमा ओर्लिने मुद्दा त होला । तर, नागरिक प्रधान मुद्दा होइन । दोहोर्‍याएर भन्छु- विज्ञान प्रविधि, अध्ययन अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा राज्यले लगानी गर्नैपर्छ । तर, त्यसअघि राज्यले मान्छेलाई बाँच्न दिने वातावरण बनाउन लगानी गर्नुपर्छ ।

अर्को कुरा, आविष्कार गर्न केही नै बाँकी नभए जस्तो लाग्ने र प्रविधिले पुराना आविष्कार छिनमै असान्दर्भिक जस्तो बनाइरहेका बेला हामीले आफ्नै बर्कतमा गर्ने अध्ययन अनुसन्धान र आविष्कार चाहिँ के होला  ?

यही प्रश्नमा गुगल डाक्टर भनेर सामाजिक सञ्जाल (ट्विटर)मा प्रसिद्ध रामेश कोइरालाले लेखेका छन्- ‘आजका दिनमा सन् १७३३ तिर जसरी आरनमा वा सन् १८९० मा जसरी लेथ मेसिनमा नयाँ आविष्कार हुन्न । सप्पै खैरेले गरिसके भनेर कसैले भन्दिए हुने !

‘आविष्कार’का नाममा उही बाँदर धपाउने, सेलरोटी पकाउने र कपडा धुने मेसिन बनाउने, विद्युतीय बिलिङ प्रणाली र टिकट बुकिङ एप बनाउने तथा इन्धन गाडीलाई विद्युतीय रूपान्तरण गर्ने पुरानै प्रविधिमाथि त राज्यले किन लगानी गर्ने ? यी र यस्तै प्रकृतिका बाहेक राष्ट्रको नै नाम हुने ‘आविष्कार’को सम्भावना छ भने सबै मिलेर राज्यलाई घचघच्या‌औं न !

होइन, यस्तै सानातिना वस्तुको उत्पादन र मर्मत-सम्भार हो भने त धेरै के टाउको दुःखाउनु ! अहिले आविष्कार केन्द्रले ‘आविष्कार’ गरेका जस्ता वस्तु वा सेवा उत्पादनकै लागि त राज्यको लगानी किन चाहियो ? बिक्री गरेर पैसा कमाउँछु भनेर लाग्ने जोकोहीले लगानी गरे भइहाल्यो नि !

ज्ञान होला, हुटहुटी होला, इच्छाशक्ति होला । फरक गर्छु भन्ने दृढता र आत्मविश्वास पनि होला । तर, आफैंसँग पूँजी छैन भने ‘सम्झिने…. पानी छम्किनेभन्दा अर्को उपाय हुन्छ र ?

०००

पछिल्लो समय नेपालमा मागेर समाज सेवा गर्ने र अरूकै भरमा ठूला कामका योजना बनाउने लहर नै चलेको छ। धुर्मुस-सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको बर्दिबासमा बस्ती बनाए । रवि लामिछानेले सप्तरीमा मुसहरका लागि घर र जाजरकोटमा अस्पताल बनाए । नायिका श्वेता खड्काले सम्बन्धित धनीकै जग्गा धितोमा ऋण लिइदिएर सिन्धुपाल्चोकको सिरुबारीमा माझी समुदायका लागि घर बनाइदिएको प्रचार गरिन् ।

धुर्मुस-सुन्तलीले सरकारले नै नगरेको आँट गरे चितवनमा क्रिकेट रंगशाला बनाउन । देश-विदेशबाट पैसा उठाए । पूरा गर्न नसकेपछि अहिले सरकारले स्याहार्दिनु पर्‍यो भनेर रोइकराइ गरिरहेका छन् ।

खोज्दै जाँदा यस्ता समाजसेवी र पूर्वाधार योजनाकार गाउँ नै पिच्छे पाइन्छन् । जो अरूको पैसामा आफ्नो पहिचान र प्रसिद्धि खोज्छन् ।

महावीर पुन पनि यही लहरमा त होइनन् ?

हरेक क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने राज्यका आफ्नै निकाय छन् । विज्ञान प्रविधिको क्षेत्रमा नाष्ट छ । कृषिको क्षेत्रमा नार्क छ । स्वास्थ्य अनुसन्धान परिषद् छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पनि अनुसन्धान केन्द्र छन् । व्यक्तिले स्थापना गरेको आविष्कार केन्द्र महान, राज्यका अनुसन्धान केन्द्र तुच्छ ! गलत भाष्य स्थापनामा जोड नगरौं ।

आन्दोलनरत उनले सरकारले आविष्कार केन्द्रलाई नै अनुदान दिनुपर्‍यो भनेर मुख त खोलिसकेका छैनन् । तर, आशय चाहिँ त्यस्तै बुझिन्छ ।

आफूले स्थापना गरेको संस्था र बनाएको योजना सफल होस् भन्ने चाहना जोसुकैलाई हुन्छ । अझ, केही वर्षदेखि मरिमेटेर गरेको काम नासियोस् भन्ने त कसलाई नै लाग्छ र  ? तर, ‘आविष्कारकै नेतृत्व गर्छु’ भन्ने महावीर जस्ताको प्रोजेक्ट प्लान बीचैमा किन धरापमा पर्‍याे ? र, उनी किन सरकारी अनुदानको आश गर्ने अवस्थामा पुगे ? यसबारे सुरुमा उनैले समीक्षा गर्नुपर्छ ।

२०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले महावीर पुनलाई आफैंले बोलाएर आविष्कार केन्द्रका लागि बजेट व्यवस्था गर्ने भन्दै ५ करोडबाट क्रमशः काम गर्दै जाने प्रस्ताव राख्दा उनले मानेनन् । महावीरले ५० करोडभन्दा तल नलिने भनेपछि नियमबमोजिम नमिल्ने भो भन्दै पौडेल पछि हटेका थिए  । ५ करोडको काम एक वर्षमा गर्दा अर्को वर्ष १० करोड थपिन सक्थ्यो ।

महावीरले आविष्कार केन्द्रको नाममा अलि ठूलो ‘स्केलमा’ जे-जस्ता काम गरिरहेका छन्, त्यस्तै काम सानो ‘स्केल’मा गर्ने धेरै छन् यो देशमा ।

बाग्लुङका हेलिकोप्टर बनाएको दाबी गर्ने युवा हुन् कि सिन्धुपाल्चोक हेलम्बुका मोटरसाइकल निर्माण गर्ने ! मोटरसाइकलको इन्जिन प्रयोग गरेर पानी तान्ने पम्प बनाउने हुन् वा घरेलु भरुवा बन्दुकका आविष्कारक सबै सबैले आफूलाई वैज्ञानिक नै ठान्छन्, महावीर हाराहारीकै । महावीरप्रति उदार हुँदा सरकारले तिनलाई पनि जवाफ दिनुपर्ला नै  !

यहाँ डाक्टर रामेश कोइरालाको ट्विट उल्लेख गर्नु सान्दर्भिक हुन्छ । उनले कसैलाई जवाफ दिँदै ‘कसैले नयाँ आविष्कार गरेर ‘प्याटेन्ट’ नै लिन्छ वा कुनै सामान अझ विकसित वा सस्तोमा उत्पादन गर्छ भने उसको सफल हुने बिजनेस प्लानसहितको स्पष्ट खाका पेश गरेमा उसलाई सरकारले आर्थिक वा अन्य मद्दत गर्नै पर्छ । नत्र त पैसो माग्दै बाग्लुङे हेलिकोप्टर आविष्कार पनि सडकमा आए भो !

आविष्कार केन्द्रले गंगालाल हृदयरोग केन्द्रका उपकरण मर्मत गरिदिएकोमा केही पहिला खुशी व्यक्त गरेका उनै डाक्टर रामेशले आविष्कार केन्द्रप्रति नै प्रश्न उठाएका छन् ।

‘करोडौंको लगानीबाट के बन्यो ? उहाँहरूले बायोमेडिकल सामानको माफिया-फ्री मर्मतबाहेक के कुरो काम लाग्यो ? सेलरोटी वा खुवा बनाउने वा कुखुराको भुत्ला खौरिने मेसिनको आविष्कारको ‘ट्राइ’लाई सदर गर्दिनुपर्ने हो  ?

डाक्टर रामेशको प्रश्न जायजै छ।

विज्ञान प्रविधि, अध्ययन अनुसन्धान र नवप्रवर्तन, आविष्कारको क्षेत्रमा मात्रै होइन अन्य क्षेत्रमा काम गर्ने पनि महावीरले जस्तै माग राखेर सडकमा आए भने के हुन्छ । केही उदाहरण लिऊँ न ।

चौथो अंग पत्रकारिता अविश्वसनीय भयो । पत्रकार व्यावसायिक भएनन् । नयाँ पत्रकार पनि खासै आएनन् । पत्रकारितासँगै लोकतन्त्र पनि कमजोर हुने भएकाले सरकारले यस क्षेत्रको अध्ययन अनुसन्धान, विकास विस्तार र क्षमता अभिवृद्धिका लागि कूल बजेटको एक प्रतिशत रकम छुट्याउनु पर्‍यो भनेर यसै क्षेत्रमा लामो समयदेखि काम गरिरहेको कोही सडकमा आउँला रे ! अनि, सरकारले के गर्छ ?

कृषिप्रधान भनिएको देशमा कृषि उत्पादन घट्यो । आयात निरन्तर बढिरहेको छ । कृषि क्षेत्रको सुधार नगरी देश उँभो लाग्दैन । किसानलाई बीउबिजन, मलखाद सारा व्यवस्था गर्नुपर्छ । बजारको खोजी पनि गर्छु, अनुदान चाहियो भनेर कृषिकै क्षेत्रमा काम गरिरहेका केही मान्छे सडकमा उत्रिए रे ! त्यसबेला सरकारले के गर्छ ?

मुद्दा जायज हुँदाहुँदै पनि महावीर पुनको आन्दोलनले गलत नजिर र परम्परा बसाल्ने खतरा छ ।

हरेक क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने राज्यका आफ्नै निकाय छन् । विज्ञान प्रविधिको क्षेत्रमा नाष्ट छ । कृषिको क्षेत्रमा नार्क छ । स्वास्थ्य अनुसन्धान परिषद् छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पनि अनुसन्धान केन्द्र छन् । व्यक्तिले स्थापना गरेको आविष्कार केन्द्र महान, राज्यका अनुसन्धान केन्द्र तुच्छ ! गलत भाष्य स्थापनामा जोड नगरौं ।

राज्यका अध्ययन अनुसन्धान केन्द्र कमजोर र निष्प्रभावी छन् भने सुधारौं । स्रोतसाधन अभाव छ भने थपौं । राज्यले चाहे आफ्नै संस्था बलियो बनाउन सक्छ, बनाउनैपर्छ ।

राज्यसँग त्यस्ता संस्था छन्, जसको नेतृत्व महावीर पुनलाई दिँदा हुन्छ भने त्यतातिर पनि सोचौं । बरु, स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाइदिऊँ । मुलुकको लागि ‘आविष्कार’ गर्छु भन्नेले पनि पक्कै आफ्नै संस्था चाहिन्छ भनेर लेटन कस्दैनन् होला ।

सरकार र महावीरबीच वार्ता क्रम सुरु भएको छ । कुनै विन्दुमा गएर टुंगिएला । तर, महावीरले उठाएको मागको सम्बोधन राज्य संयन्त्रले नै कार्यान्वयन गर्ने गरी टुंगिनुपर्छ ।

०००

कोही केही माग लिएर सडकमा ओर्लियो भने सरकारलाई गाली गर्ने अवसर यही हो भन्ने ठानेर हो वा सस्तो लोकप्रियताका लागि हो, राजनीतिक नेतृत्व ऐक्यबद्धता जनाउन पुगिहाल्छन् । अहिले माइतीघरमा त्यस्तैको लर्काे छ ।

महावीरको मुद्दामा राजनीतिक दल र नेतृत्वले ऐक्यबद्धता जनाउनु नपर्ने कारण छैन । तर, उनका माग पूरा हुँदाका प्रभावबारे तिनले कत्तिको ध्यान दिएका छन् ? हेर्दा/सुन्दा गजब, सान्दर्भिक र राज्यले ध्यान दिनैपर्ने जस्तो लाग्ने माग/आन्दोलनको बैठान राष्ट्रिय आविष्कार केन्द्रलाई प्रत्यक्ष/अप्रत्यक्ष पोस्ने गरी भयो भने राज्यले के पाउँछ, उही बाँदर धपाउने, सेल पकाउने, लुगा धुने मेसिन होइन  ?

यहाँ फेरि दीपेन्द्र डीसीको ट्विट सान्दर्भिक छ । उनले लेखेका छन्-

‘स्टार्टअपका लागि सरकारले बेग्लै नीति ल्याउनुपर्छ (जानकारीअनुसार आउँदै पनि होला) । तर, म सरकारले वा अरू कसैले दान, अनुदान, फ्रिको पैसो दिएर स्टार्टअप चल्दैन, चल्नुहुन्न त्यो मान्यतामा छैन । तर, म नै स्टार्टअप हुँ, मलाई दिनैपर्छ भनेर सडकमै सुतेका भए हाल जसोतसो विकास हुँदै गरेको स्टार्टअपको इको सिस्टम विकास हुने थिएन । यो पाराको ढिपी गर्नेहरू राज्य स्रोतको दोहनमा लागेका हुन् । पहिले पहिले लगेको पैसाको हिसाब खोजे गालीदेखि बाहेक के गर्लान् हौ  ! जे गरे पनि हुने ? गाली गरे गर्नुस् यो पारा भएन ।’

अर्का ट्विटर प्रयोगकर्ता निराजन शर्मा (उमेश दुलाल)ले पनि निरन्तर यो विषयमा प्रश्न उठाइरहेका छन् ।

उनको प्रश्न छ- अचम्म लाग्छ, महावीर पुनलाई आविष्कार गर्न कसले रोकेको छ ? नेपाली जनताबाट करोडौं रकम उठाएका छन् । भटाभट आविष्कार गर्नु नि !

मेडिकल ड्रोन कहाँ पुग्यो  ? आफ्नो असफलता लुकाउन आन्दोलन गर्ने  ? एलन मस्कले माइतीघरमा आन्दोलन गरेर टेस्ला बनाएका हुन्  ?

यीसँग आइडिया भए देशभित्र मात्र होइन विदेशीले समेत लगानी गर्थे । पप्पुको ग्यारेजलाई कसले लगानी गर्ला र  ?

पप्पु मर्मत सेन्टरलाई आविष्कार केन्द्र भनेर भ्रम नछरौं ।

आविष्कार गर्ने दिमाग छ भने देशभित्र मात्र होइन विदेशीले समेत लगानी गर्छन् । यो ल्वान्छरोलाई पनि गाली गरे गर्नुस्, भावनामा बगिएन । मान्छेले सधैं सही बाटो मात्रै हिँड्छ भन्ने ठानिएन । राज्यका निकायलाई बेवास्ता गरेर गैरसरकारी संस्थालाई पोस्न खोज्ने अप्रत्यक्ष ‘लाइन’ चित्त बुझ्दै बुझेन । र, आशंका व्यक्त गरियो ।

यत्तिका भरमा गाली खाइन्छ भने- राजी !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *