न जग्गा बिक्री भयो, न तक्मा ! राज्यको पनि असहयोगपछि सडकमा महावीर (भिडिओ) – Nepal Press

न जग्गा बिक्री भयो, न तक्मा ! राज्यको पनि असहयोगपछि सडकमा महावीर (भिडिओ)

'सिंहदरबार धाएर बाबुरामदेखि प्रचण्डसम्म गुहारेँ, थमथम्याउनेबाहेक केही गरेनन्'

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघरबाट आन्दोलन सुरू गरेका छन् । ‘स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगत्मा युवा सहभागिता’ लगायत प्लेकार्ड बोकेर पुन लगायत नवप्रवर्तकहरूले माइतीघरबाट शुक्रबारदेखि धर्ना सुरू गरे ।

राज्यले आविष्कार, अनुसन्धान र अनप्रवर्तनलाई महत्व नदिएको भन्दै पुनले आजबाट औपचारिकरूपमा आन्दोलन सुरू गरेका छन् भने यस आन्दोलनमा जोडिन सबैलाई आह्वानसमेत गरेका छन् । सेतो टिसर्ट, खैरो ज्याकेट, क्याप र घाँटी चश्मा झुण्डाएर माइतीघर पुगेका पुनकै शब्दमा भने यो आन्दोलनमात्रै होइन । नवप्रवर्तन, आविष्कार र अनुसन्धानप्रति राज्यको उदासिनता विरुद्धको जनआन्दोलन हो । प्रतिभाशाली प्रतीभाहरूलाई देशै छोड्न बाध्य बनाउने राज्यको नीतिविरुद्धको जनआन्दोलन हो ।

पुनले बारबार भन्ने गरेका छन्, विज्ञान र प्रविधिमा भएको इनोभेसनका कारण ५० वर्षअघि नेपालसँगै विकासको गतिमा हिँडेका कोरिया, सिंगापुरजस्ता मुलुकहरू अहिले विकासको चरमोत्कर्षमा छन् । दुबई, कतारजस्ता खाडी मुलुकहरूले विज्ञान र प्रविधिलाई आत्मसात् गरेर नवप्रवर्तकहरूको संरक्षण गरेकै कारण विकासको उत्कर्षमा छन् । तर, नेपाल हिजोजस्तो थियो, आज किन उस्तै छ ? उनले लामो समयदेखि राज्यका नीति निर्माताहरूलाई सोधेको सवाल हो यो ।

माइतीघरमा पुनसँगै उभिएका युवाहरू यतिबेला आविष्कार केन्द्र वा प्रयोगशालामा आफ्नो इनोभेसनको परीक्षण गरिरहनुपर्ने थियो । स्टार्टअप सुरू गर्न खोजिरहेका युवाहरू सम्भावित बजारको अध्ययन र परीक्षणमा व्यस्त हुनुपर्ने थियो । तर, इनोभेसन गर्ने जाँगर, स्टार्टअपको आइडियालाई अहिले युवाहरूले माइतीघरको सडकमा पछारेर आक्रोश पोखिरहेका छन् ।

एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागासेसे पुरस्कार, नेपाल सरकारले दिएको दुई राष्ट्रदीप पदक, इन्टरनेट हल अफ फेम, होनर ग्राजुएट र डा. हर्क गुरुङ पर्वतीय पुरस्कारलाई लिलामीमा राखे । तर, लिलामीमा राखिएका पदकहरू ७ वर्षपछि पनि बिक्री भएका छैनन् ।

तर, राज्यसँग न कुनै गतिलो नीति छ, न कुनै योजना नै । ‘रोजगारी नदेऊ, हामीसँगै आइडिया छ, रोजगारी सृजना गरेर यही राज्यलाई योगदान दिन्छौं, मात्र वातावरण बनाइदेऊ’ भन्नेहरू किन सडकमा आइपुगे ? यसको चित्तबुझ्दो जवाफ राज्यसँग छैन । त्यसैले त पुन स्वयंलाई थाहा छैन, यो आन्दोलन कति लामो समयसम्म जानेछ ! कानमा तेल हालेर सिंहदरबारमा निदाएको सत्ताको जबसम्म कान खुल्दैन, तबसम्म सडक नछाड्ने अडानमा पुन छन् ।

पुन थप्छन्, ‘यो जनआन्दोलन कसैको विरोधका लागि विरोध गरिने राजनीतिक आन्दोलन होइन । जनचेतना फैलाउने आन्दोलन हो । नवीनतम सोच भएका, प्रतिभाशाली, सृजनशील दिमाग भएका सन्ततिलाई प्रयोग गरेर अनुसन्धान, नवप्रवर्तन र आविस्कारमा लगाउने वातावरण तयार गर्ने आन्दोलन हो ।’

पुनका मागहरू पनि धेरै छैनन् । मुख्य त राज्यले नीति निर्माणमा अग्रसरता दिँदै अवसर सृजनाको माहौल बनाइदिनुपर्‍यो । सरकारले विकास बजेटको एक प्रतिशत बजेट नवप्रवर्तन, आविष्कार र अनुसन्धानका लागि छुट्याओस् । बाँकी ९९ प्रतिशत बजेटले अन्य कामहरू गरोस् । उक्त एक प्रतिशत बजेटलाई खर्च गर्ने सवालमा छुट्टै कानुन बनाइयोस् । किनभने अनुसन्धानको विषय भएकाले समय, खर्च लगायत विविध पाटो यकिनका साथ भन्न सकिँदैन ।

०००

केही दिनअघि मात्रै बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म पुन सिंह दरबारको ढोकाढोका चहारिरहेका थिए । ११ घण्टा सिंहदरबारमा वल्लो ढोकादेखि पल्लो ढोका, वल्लो ब्लकदेखि पल्लो ब्लक गरेका पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि बहालवाला मन्त्रीहरू र योजना आयोगका उपाध्यक्षसम्मलाई भेटे । आफ्ना मागहरू पूरा गरिदिन ज्ञापनपत्र बुझाए ।

तर, पुनको गुनासो छ, ‘एक प्रतिशत बजेट दिनू भन्दा सबै चिज खतम हुने जस्तो गर्छन् । किनभने यिनीहरूले नवप्रवर्तन र आविष्कारका कुरा बुझेकै छैनन् । यी कुराहरूले राज्यलाई पुग्ने दीघकालीन फाइदाबारे अनभिज्ञ छन् ।’

करिब डेढ दशकदेखि पुनले ढकढकाउन बाँकी राज्यका कुनै पनि निकायको ढोका बाँकी छैनन् । उनी नपुगेको कुनै ठाउँ छैन । उनले नटेकेको कुनै सरकारी अफिस वा मन्त्रालय छैन । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदादेखि सिंहदरबार पुगेर खाली हात फर्र्किएका पुन एक दशकपछि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सिंहदरबार छिरिरहे । तर, जहिल्यै खाली हात फर्किए ।

पुनले बारबार भन्ने गरेका छन्, विज्ञान र प्रविधिमा भएको इनोभेसनका कारण ५० वर्षअघि नेपालसँगै विकासको गतिमा हिँडेका कोरिया, सिंगापुरजस्ता मुलुकहरू अहिले विकासको चरमोत्कर्षमा छन् । दुबई, कतारजस्ता खाडी मुलुकहरूले विज्ञान र प्रविधिलाई आत्मसात् गरेर नवप्रवर्तकहरूको संरक्षण गरेकै कारण विकासको उत्कर्षमा छन् । तर, नेपाल हिजोजस्तो थियो, आज किन उस्तै छ ?

सुशील कोइराला प्रधानमन्त्री हुँदा होस् या केपी ओली प्रधानमन्त्री हुँदा, सरकारलाई गम्भीर बनाउन पुनले सिंहदरबार धाएकै थिए । तर, कसैले पनि गम्भीरताका साथ नवप्रवर्तन, आविष्कार र अनुसन्धानलाई नलिएको पुनको गुनासो छ । बरु सबैले मीठो बोलेर उनलाई पन्छाए । आफैं इन्जिनियर र विद्धान रहेका पूर्वप्रधानमन्त्री भट्टराईसित उनको ठूलो अपेक्षा थियो । तर, भट्टराईले पनि बोली र गफमै पुनको योजनालाई थाती राखिदिए ।

पुन भन्छन्, ‘आफ्नो लागि फाइदा हुने चिज हो भने नीति निर्माण तुरुन्त गरिहाल्छन् । आफूलाई फाइदा नहुने भए गर्दैनन् । यो नेपाली जनताको भविष्यमाथि सबैभन्दा ठूलो बेइमानी हो ।’

०००

जम्मा ४०-४५ करोडको आविष्कार केन्द्र निर्माण गर्ने पुनको योजना हरेक सरकारले कुल्चिएर हिँड्यो । अन्ततः जसोतसो पुनले आफैं कीर्तिपुरमा आविष्कार केन्द्र सुरू गरे । त्यसका लागि नेपाली जनतासँग सहयोग मागे । आफूले पाएका सम्पूर्ण तक्मा र पदकहरू ०७३ सालमै लिलामीमा राखे ।

एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागासेसे पुरस्कार, नेपाल सरकारले दिएको दुई राष्ट्रदीप पदक, इन्टरनेट हल अफ फेम, होनर ग्राजुएट र डा. हर्क गुरुङ पर्वतीय पुरस्कारलाई लिलामीमा राखे । तर, लिलामीमा राखिएका पदकहरू ७ वर्षपछि पनि बिक्री भएका छैनन् ।

पदकमात्रै होइन, पुनले आफ्नो नाममा भएको पोखराको बेगनास तालदेखि उत्तरपट्टी पर्ने ठूलाकोटस्थित डाँडामा रहेको २८ रोपनी जग्गा पनि ७ वर्षअघि पनि आविष्कार केन्द्रकै लागि बिक्रीमा राखे । त्यसबेला चानचुन तीन करोड मूल्य आँकलन गरिएको जग्गा अहिलेसम्म बिक्री भएको छैन । त्यो जगा बिक्री भए गज्जब हुने पुनलाई लाग्छ, तर जग्गा किन्ने मान्छे पनि त पाउनुपर्‍यो !

‘ती पदक अहिलेसम्म पनि बिक्री भएका छैनन् । अहिले पनि बिक्रीमै राखिरहेको छु । बिक्री भए त हुने !,’ पुन मधुरो सुनिन्छन्, ‘अब दुई महिनाभित्र मेरो जीवनी प्रकाशन गर्दैछु । त्यो जीवनी बेचेर त्यही पैसा आविष्कार केन्द्रमा हाल्ने हो ।’

पदकमात्रै होइन, पुनले आफ्नो नाममा भएको पोखराको बेगनास तालदेखि उत्तरपट्टी पर्ने ठूलाकोटस्थित डाँडामा रहेको २८ रोपनी जग्गा पनि ७ वर्षअघि पनि आविष्कार केन्द्रकै लागि बिक्रीमा राखे । त्यसबेला चानचुन तीन करोड मूल्य आँकलन गरिएको जग्गा अहिलेसम्म बिक्री भएको छैन । त्यो जगा बिक्री भए गज्जब हुने पुनलाई लाग्छ, तर जग्गा किन्ने मान्छे पनि त पाउनुपर्‍यो !

कीर्तिपुरको आविष्कार केन्द्र भने आम मानिसदेखि केटाकेटीहरूसम्मको साथ र सहयोगले अहिलेसम्म जसोतसो चलिरहेको पुन बताउँछन् ।

‘स-साना नानीहरूले खुत्रुकेमा जम्मा गरेको पैसा यहाँ अविष्कार केन्द्रको ढोकामा ल्याएर फुटाउँछन् । स्कुले केटाकेटीहरूले खाजाको पैसा कटाएर बचाएको एक-दुई हजार पैसा यहाँ ल्याएर दिन्छन् । कतिपय मनकारी मान्छेहरूले आफ्नो बाआमाको स्मृतिमा, जन्मदिनमा, विवाहको तिथीमा आएर साथ सहयोग गर्नुहुन्छ,’ पुन रोकिँदै बोल्छन्, ‘गाउँबाट काठमाडौं आउँदा कृषकहरूले दुईचार सय दिनुहुन्छ । मनकारी मान्छेहरूले पाँच दश हजार दिनुहुन्छ । त्यसैको भरमा यो आविष्कार केन्द्र टिकेको छ ।’

स-साना नानीहरूको खुत्रुक्के बचत होस्, या स्कुले केटाकेटीले खाजाको पैसा कटाएर जम्मा गरेको पैसा ! वा गाउँबाट आएका कृषकको पसिनाले भिजेको लुगामा बेरेर राखिएको दुईचार सय पैसा ! त्यही पैसाले अहिले आविष्कार केन्द्रमा केही गर्ने चाहना भएका प्रतीभावान प्रतिभाहरूले नवप्रवर्तन (innovation) मा आफ्नो आइडियालाई परीक्षण गरिरहेका छन् ।

०००

त्रिचन्द्र क्याम्पसबाट भर्खरै बीएस्सी पास गरेका बाराका हर्षकुमार कुशवाहाले खुत्रुक्के फुटेर जम्मा भएका तिनै पैसाका कारण आविष्कार केन्द्रमा आफ्नो क्षमता परीक्षण गरिरहेका छन् । सफल पनि भएका छन् । एक वर्षअघि जोडिएका उनले स्कुले विद्यार्थीलाई सजिलो तरीकाले बुझाउन सोलार सिस्टम बनाएका छन् ।

विद्यालयमा किताबमात्रै पढाइन्छ । तर, व्यवहारिक हिसाबले पढाउँदा विद्यार्थीले चाँडो बुझ्ने मात्रै होइन, ब्रह्माण्डको चक्रबारे सजिलै ज्ञान हासिल गर्न सक्छन् । त्यसैका लागि कुशवाहले सोलार सिस्टमको व्यवहारिक नमूना तयार गरेका छन् ।

उनले बनाएको सोलार सिस्टमले पृथ्वी कसरी घुम्छ, चन्द्रमाले कसरी पृथ्वीलाई परिक्रमा गर्छ । सूर्य कस्तो अवस्थामा रहन्छ । पृथ्वीमा मौसमहरू कसरी बदलिन्छन् ? ग्रहणहरू कसरी लाग्छन् ? सजिलै बुझ्न सकिने गरी मेसिन बनाएका छन् । मेसिनको ब्याट्रीलाई चार्ज गरेर पनि चलाउन सकिन्छ । सीधै विद्युत् प्रवाह गरेर पनि चलाउन सकिन्छ ।

कुशवाहाले बनाएको सोलार सिस्टमको मेसिनमा सूर्य ठूलो आकारको छ । तर, उक्त सूर्यको कभर निहाल्दा भित्र सेतो बत्ती झलल बल्छ ।

कुशवाहा भन्छन्, ‘यो मेसिनले विद्यार्थीहरूलाई मौसम बदली हुनुको वैज्ञानिक कारणबारे बताउँछ । ग्रहणहरूबारे सजिलो तरीकाले बुझाउँछ । अनि सूर्यको कभर निकाल्दा बत्ती बल्छ, त्यसले एउटा कोठा पूरै उज्यालो बनाउन सक्छ ।’

कुशवाहाले एक दर्जनभन्दा बढी मेसिन बनाएका छन् । तर, व्यवसायिक हिसाबले चाहिँ ती मेसिनहरू बिक्री भइसकेका छैनन् । अहिले स्कुल भर्नाको सिजन सुरू भएकाले अब स्कुलहरूले अर्डर गर्लान् कि भन्ने ठानेका छन् । उनको मेसिनलाई सात-आठ हजार रूपैयाँमात्रै पर्छ ।

सानैदेखि नवप्रवर्तनमा रुचि भएका कुशवाहालाई जागिर गर्न मन छैन । यस्तै कामहरू गर्न मन छ । बिहान आविष्कार केन्द्र आइपुग्छन् । साँझ छ, सात बजेतिर कोठामा फिर्छन् । होम ट्युसन पढाउँछन् । त्यही पैसाले कोठाभाडा तिर्छन् । दाल चामल किन्छन् । अनि बाँकी रहेको समय इनोभेसनका लागि आविष्कार केन्द्रमा बिताउँछन् ।

हामी पुग्दा आविष्कार केन्द्रमा दर्जनौं नवप्रवर्तकहरू आ-आफ्नो सृजनाकर्ममा व्यस्त थिए । आईएस्सी पढेका ताप्लेजुङका सुमन लिम्बू अर्डरको सोलार ड्रायर बनाइरहेका थिए । उक्त सोलार ड्रायर अन्न सुकाउन कामयावी भएको छ । त्यसैले चारवटा अर्डर आएका छन् । सोलार ड्रायरले दिनमा घामको सहायताले अन्न सुकाउँछ, झरीबाट जोगाउँछ । राति विद्युत्को माध्यमबाट बिस्कुन सुकाउँछ । तापक्रमलाई नियन्त्रण गर्नु पनि सोलार ड्रायरको विशेषता हो ।

लिम्बूको खास प्रोजेक्ट भनेको चाहिँ कोदो, मकै, गहुँ पिस्ने मेसिन हो । उक्त मेसिन बनाइसकेका छन् । कोदोको बालालाई मेसिनमा लगाएपछि त्यसले दाना मात्रै निकाल्दैन । भुस पनि आफैं निफन्छ । र शुद्ध तयारी कोदो निकाल्छ । एक घण्टामा एक मुरी कोदो बनाउने क्षमता त्यो मेसिनको छ ।

लिम्बु भन्छन्, ‘बजारमा पाइने मेसिन नै एक लाख बीस हजार पर्दोरहेछ । हाम्रो भनेको ७०-८० हजार मात्रै हो । यसले विद्युत् पनि कम खपत गर्छ । पाटपूर्जा सबै निकालेर फेरि फिट गर्न सकिन्छ । मेसिनमा समस्या आएमा हामी नै गएर ग्राहकलाई सेवा दिन्छौं ।’

लिम्बू छेवैमा ग्रिलको काम गरिरहेका थिए नवलपरासीका सन्दीप गौतम । पुलचोक इन्जिनियरिङ क्याम्पसबाट मोकानिकल इन्जिनियरिङ सकाएका गौतम पानीलाई रिमोट वा एपको माध्यमबाट नियन्त्रण गर्ने मेसिन बनाइरहेका छन् । कतै टाढा जाँदा घरको पानीको घारालाई एप वा रिमोटमार्फत् नै नियन्त्रण गर्न सकिन्छ ।

०००

कुशवाहा, लिम्बू, गौमतजस्ता दर्जनौं नवप्रवर्तक (Inventor) हरूले आविष्कार केन्द्रमा काम गरिरहेका छन् । यी नवप्रवर्तकको काम भनेको कुनै वस्तु वा सेवा पहिलेको भन्दा किफायती मूल्यमा बजारमा लगेर समाजलाई सकरात्मक रूपान्तरण गर्नु हो ।

आविष्कार केन्द्रका दर्जनौं यस्ता वस्तु वा सेवाहरू बजारमा परीक्षण भइसकेका छैनन् । परीक्षण भएपछि सेवाग्राहीको प्रतिक्रिया लिएर अझै राम्रो बनाएर बजारीकरण गर्ने योजनामा आविष्कार केन्द्र छ । तर, नवप्रवर्तनप्रति राज्यको उदासिनताका कारण समस्या झेलिरहेका छन् ।

एक उदाहरण हो, ‘यात्री’ मोटरसाइलले भोगेको समस्या । भलै अहिले सरकार बाध्य भएर नेपालमै बनेका वा पाटपूर्जा ल्याएर नेपालमा बनाइएका सामानहरूको दर्ता प्रक्रियाको बाटो खुलाएको छ ।

पुन भन्छन्, ‘सरकारले सहज रूपमा ऐन कानुन त बनाउनैपर्छ । अनुसन्धान गरेर बनेको चिजहरूलाई अनुमति, लाइसेन्स, केके दिनुपर्छ, त्यो सुविधा दिनुपर्छ । यात्रीलाई यातायात विभागले अनुमति दिएन भन्दा पनि कानून नै थिएन । कानून विभागको कर्मचारीले बनाउने होइन, संसदहरूले बनाउने हो । तर, संसदहरू भत्ता खाएर भुँडी फुलाएर डुलेर भएन ।’

नवप्रवर्तनलाई हेर्ने सरकारको दह्रिलो निकाय छैन । स्वास्थ्य, शिक्षा, कृषिका विभागहरू छन् । तर, नवप्रवर्तनका लागि छैन । यसका लागि पनि आफ्नो आन्दोलन रहेको पुनको जिकिर छ । उनी भन्छन्, ‘अनेक किसिमका नियम कानून बनाउन मिल्ने, तर अनुसन्धान, आविष्कारका लागि बनाउन नमिल्ने भन्ने हुँदैन । त्यसैका लागि आन्दोलन हो यो ।’

पुनको यो आन्दोलन राज्यले बनाउनुपर्ने पोलिसी इनोभेसनका लागि पनि हो । चीनमा कसैले राम्रो चिज उत्पादन गरेर बजारीकरण चाहेमा सरकारले मद्दत गर्छ । अमेरिका, अष्ट्रेलियाजस्ता मुलुकले नवप्रवर्तकहरू भित्राएर आर्थिक वृद्धि हासिल गरेको विभिन्न रिपोर्टहरूले देखाउँछ । भारतले समेत सूचना प्रविधिमा विदेशी कम्पनी भित्राउन पोलिसी इनोभेसनमा काम गरेको छ ।

तर, नेपाल सरकार भने बजार खोजिरहेका नवप्रवर्तकहरूलाई समेत निरुत्साहित बनाउने काममा लागेको पुनको आरोप छ । त्यसैले आफू आन्दोलनमा उत्रिएको उनको दाबी छ ।

उनी भन्छन्, ‘म यहाँ (आविष्कार केन्द्र) बसे पनि नबसे पनि केही फरक पर्दैन । भाइबहिनीले आफ्नो आइडियाले परीक्षण गर्ने हो । म जहाँ गए पनि यहाँको काम निरन्तर चलिरहेकै हुन्छ । राति काम गर्नेले राति गर्छन्, दिनमा काम गर्नेले दिनमा गर्छन् । तर, जबसम्म मेरा मागहरू पूरा हुँदैनन्, तबसम्म म चाहिँ धर्ना बस्छु । आन्दोलनमा जोडिन सबैलाई आह्वानसमेत गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर