एसीसी कप भोलिबाट : विजेता बन्दै भारत-पाकिस्तानसँगको भेट निश्चित गर्ने लक्ष्य – Nepal Press

एसीसी कप भोलिबाट : विजेता बन्दै भारत-पाकिस्तानसँगको भेट निश्चित गर्ने लक्ष्य

काठमाडौं । नेपाली क्रिकेट टिमले मंगलबारदेखि एसियन क्रिकेट काउन्सील(एसीसी) प्रिमियर कपमा प्रतिस्पर्धा गर्दैछ । दश राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको विजेता बन्दै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसियाकपमा स्थान बनाउने नेपालको लक्ष्य हो ।

प्रतियोगितामा १० राष्ट्रलाई दुई समूहमा बिभाजन गरिएको छ । समूहको शिर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । भने, प्रतियोगिताको बिजेता टिम एसियाकपमा भारत र पाकिस्तानको समूहमा रहेर एसियाकप खेल्न पाउनेछ ।

नेपालको समूहमा ओमान बाहेक तुलनात्मक रुपमा कमजोर टिम छन् । समूह ए मा रहेको नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । नेपालको लक्ष्य अपराजित रहँदै उपाधि जित्ने छ ।

नेपाल मात्रै हैन प्रतियोगितामा सहभागी सबै टिमको लक्ष्य यही नै हो । तर, पछिल्लो समय क्रिकेटमा नेपालको लय लोभलाग्दो छ । हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले यसअघि, लिग २ मा १२ मध्य ११ खेल जित्दै शिर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै स्थान बनाएको थियो ।

तर, लय जे भएपनि त्यतिबेला हासिल गरेको कुरामा नअल्झी आगामी खेलका लागि टिम पुनः रुपमा तयार रहेको कप्तान रोहित पौडेल बताउँछन् ।

‘टिममा सबैजना पूर्ण रुपमा तयार छन् । लामो समयदेखि तयारी गरिरहेका छौं । घरेलु मैदान भएकोले केही फाइदा छ । अघिल्लो बर्ष जे हामीले पायौं त्यो कुरालाई भुलेर अब अगाडी के छ त्यो हेर्नु पर्छ’, उनले भने ।

अघिल्लो वर्ष ओरालो यात्रामा रहेको नेपाली क्रिकेट प्रशिक्षक मोन्टी देसाइको आगमन पछि लयमा फर्केको हो । नेपालले मोन्टीको आगमनपछि हरेक खेलमा जादुमय प्रदर्शन गरेको थियो । अबको प्रतियोगितामा पनि नेपाली दर्शकले टिमबाट त्यही अपेक्षा गरेका छन् । र, त्यो दर्शकको अपेक्षालाई पुर्ति गर्न हरेक खेलाडी व्यक्तिगत रुपमा तयार गरेको रोहितले सुनाए ।

‘नेपाली टिमले यसअघि जुन ‘स्ट्यान्डर्ड’ बनाएको छ त्यसलाई कायम राख्यो भने पक्कै पनि सबैको अपेक्षा पुरा हुनेछ,’ उनी भन्छन् ।

यो प्रतियोगिताको विजेता भएर एसिया कपमा छनोट हुनुले ठूलो महत्व राख्ने तथा नेपालले भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रहरुसँग खेल्न पाउँदा टिमले ‘एक्सपोजर’ पनि धेरै पाउने रोहितको बुझाइ छ ।

‘हामीले एसिया कप खेल्ने सम्भावना उच्च छ । एसियाकपमा छनोट हुनुले धेरै महत्व राख्छ । हामीले यसअघि, भारत, पाकिस्तान जस्तो टेस्ट राष्ट्रसँग खेलेका छैनौं । त्यसैले उनीहरुसँग खेल्नका लागि पनि यो प्रतियोगिता जित्न महत्वपूर्ण छ । र, छनोट भयौं भने एक्सपोजर धेरै पाइन्छ,’ उनले थपे ।

नेपालले यसअघि, लगातार जित निकाले पनि पेस बलिङमा उत्कृष्ट प्रदर्शन गर्न सकेको थिएन । डेथ ओभरमा नेपालले निकै नै संघर्ष गर्नु परेको थियो । जुन कुरालाई अहिले नेपाली टिमले अभ्यासमा हरेक दिन सुधार्न प्रयास गरेको छ । नेपाली टिमले लिग २ मा भएका सबै कमिकमजोरीलाई यो प्रतियोगितामा सुधारेर अघि बढ्ने रोहित बताउँछन् ।

प्रमुख प्रशिक्षक देसाई पनि खेलाडीले गरेको तयारीका आधारमा प्रतियोगिता जित्नेमा ढुक्क छन् । ‘कडा मेहेनत, सकारात्मक सोच र वान बल ब्याटलको कुराहरु मैले खेलाडीलाई सिकाएको छु । खेलाडी तयार छन् । तयारीको कुरा गर्दा हामी प्रतियोगिता जित्नेमा ढुक्क छौं,’ उनले भने ।

यसअघि, नेपालले लिग २ मा खेलेको सबैभन्दा महत्वपूर्ण तथा अन्तिम खेलमा नेपालको जितमा २० हजार भन्दा बढी दर्शक साक्षी थिए । नेपाली दर्शकको चर्चा विश्वभर भएको थियो ।

हरेक खेलमा दर्शकले १२ औं खेलाडीको भुमिका निभाएका छन् । र, नेपालको महत्वपूर्ण जितहरुको साक्षी बनिरहँदा नेपाली दर्शकको अपेक्षा पनि अब एसिया कप छ । त्यसैले, आगामी खेलहरुमा पनि दर्शकहरुको त्यस्तै उपस्थिति र मैदानको माहोल पहिलाजस्तै अपेक्षा प्रशिक्षक देशाइले गरेका छन् ।

उनी भन्छन्, ‘राम्रो खेल्दै गएपछि पक्कै आशा बढ्छ । हामीले यसअघिको प्रतियोगितामा जस्तै वातावरणको अपेक्षा गरेका छौं । दर्शकहरु खेलाडीहरुलाई समर्थन गर्न उपस्थित हुनेछन् । र, उनीहरुले जति गाह्रो खेल पनि जित्ने आत्मविश्वास राख्नेछन् ।’

आगामी प्रतियोगितामा सबै टिम जितेर एसिया कप खेल्ने लक्ष्य लिएर नेपाल आएका छन् । उनीहरुको त्यो आसालाई निराशामा बदलेर प्रतियोगिता जित्न नेपाली टिमले यसअघिका १२ खेलबाट पाएको अनुभव अनि ‘प्रेसर सिचुएसन’ कसरी ह्यान्डल गर्ने भन्ने कुरा बुभ्न जरुरी रहेको देसाइले बताए ।

यस्तै, उनले नेपाली टिमले यसअघि लिग २ मा गरेका सबै कमी कमजोरीहरुलाई सुधारेर अघि बढ्ने पनि बताए ।

प्रतियोगिताको समूह बी मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । नेपालले पहिलो खेलमा वैशाख ५ गते मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेल ८ गते ओमानसँग खेल्नेछ । तेस्रो खेल साउदी अरबसँग वैशाख ११ मा खेल्नेछ । जुन नेपालले मुलपानी मैदानमा खेल्ने एकमात्रै खेल हो । भने, अन्तिम खेलमा नेपालले कतारको सामना गर्नेछ । समूह चरणमा नेपालका लागि ओमान बलियो प्रतिद्वन्द्वी हो । अन्य टिमहरु भने तुलनात्मकरुपमा कमजोर छन् ।

प्रतियोगिताको सेमिफाइनल खेल वैशाख १६ गते हुनेछ भने, फाइनल १८ गते हुनेछ । प्रतियोगिताको शिर्ष तीन टिमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *