वैधानिकताको प्रश्न रहेको ओटीटी प्ल्याटफर्ममार्फत प्रकाश सपुतको नयाँ गीत सार्वजनिक – Nepal Press

वैधानिकताको प्रश्न रहेको ओटीटी प्ल्याटफर्ममार्फत प्रकाश सपुतको नयाँ गीत सार्वजनिक

सपुत भन्छन्- कानुनी प्रावधान बारे अनविज्ञ थिएँ सल्लाह गर्छु

काठमाडौं । सामाजिक विषयलाई मार्मिक वा मनोरन्जात्मक ढंगबाट प्रस्तुत गर्दै दर्शकहरुको अपार माया बटुल्न सफल गायक तथा सर्जक हुन्- प्रकाश सपुत । बोल माया, गलबन्दी, पीर, कुरा बुझ्नु पर्छ लगायतका उनका सिर्जना यसका ज्वलन्त उदाहरण हुन् ।

सपुतले हालै मात्र आगामी २०८० साललाई जातिय विभेदविरुद्दको वर्षको रुपमा मनाउने घोषणा समेत गरेका छन् । शिष्ट तथा भलाद्मी सर्जकको छवि बनाउन सफल सपुतले आफ्नो पछिल्लो सिर्जना ‘सकम्बरी’ सार्वजनिक गर्नका निमित्त भने गैरकानूनी रुपमा संचालनमा रहेको ओटिटी प्ल्याटफर्म डिश होम गो एप्लिकेसनको प्रयोग गरेका छन् ।

‘डिश होम’ आइपीटिभी अनुमति प्राप्त प्रसारण संस्था हो । आईपीटीभी भन्नाले इन्टरनेट प्रोटोकल टेलिभिजन सेवा हो । जसले प्रसारण नियन्त्रण प्रोटोकल/इन्टरनेट प्रोटोकल सुइट प्रयोग गरेर टेलिभिजन प्रोग्रामिङ र अन्य भिडिओ सामग्रीहरु प्रसारण गर्नसक्छ ।

याे पनि पढ्नुस्: ‘टीभी इन्डस्ट्री’ बचाउने सरकारको अन्तिम अस्त्र ‘आलाकार्ट’- अब के के गर्न पाइँदैन ?

तर, नेपालमा आईपीटीभीको अनुमतिप्राप्त संस्थाले आफ्नै डिजिटल हेडइन्ड स्थापना गरी उक्त हेडइन्डदेखि नेपाली उपभोक्ताहरुको घरघरसम्म अप्टिकल फाइबर केवलमार्फत टेलिभिजन सिग्नल वितरण गर्दै आएका छन् । यसमा इन्टरनेट नभएर लोकल इन्ट्रानेट प्रयोग गरिनुपर्ने हो ।

तर नियमनकारी निकायको कमजोर अनुगमनको कारण आइपिटीभीहरुले इन्ट्रानेट नभई इन्टरनेटको प्रयोग गर्दै आएका छन् भने हुवहु नामकरण गरी मोबाइल ओटीटी एप बनाई मोबाइलमार्फत मोबाइल र स्मार्ट टिभीमा सामग्री प्रसारण गर्दै आएका छन् ।

हालसम्म सामग्री प्रसारण गर्ने संस्थाहरुको नियामक निकाय संचार मन्त्रालयले मोबाइल एपमार्फत सामग्री प्रसारण गर्ने लाइसेन्स कुनै पनि संस्थाहरुलाई दिएको छैन । हाल नेपालमा प्रसारण अधिकार लिएका लगभग सबै आईपीटीभीहरु शुद्ध आईपीटीभी नै होइनन् । नेपालमा रहेका आईपीटीभीहरुले राष्ट्रिय प्रसारण नियमावली विपरीत ओटीटीमार्फत सामग्री प्रसारण गरिरहेका छन् । वैधानिकताका प्रश्न उठेका ओटीटी प्ल्याटफर्ममा नेट टिभी, भाया टिभी, प्रभु टिभी, म्याक्स टिभीलगायतका छ्न् ।

यस किसिमका विसंगतीलाई रोक्न नेपाल सरकारले गत चैत २४ गतेदेखि लागु हुने गरी टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट लगाउने निर्णय समेत गरेको छ ।

वैधानिकतामा प्रश्न उठेको डिश होम गो नामक ओटीटी प्ल्याटफर्म मार्फत किन गीत सार्वजनिक गर्नु भएको ? भन्ने नेपाल प्रेसको प्रश्नमा गायक सपुतले कानुनी वैधानिकता बारे आफुलाई थाह नभएको कारण यसो हुन गएको र यसबारे सल्लाह गर्ने बताएका छन् ।

‘मेरो लागि तपाईले भनिरहेका कुराहरु नितान्त नयाँ कुरा हुन्, मलाई यस बारेमा थाह थिएन म यस बारेमा सल्लाह गर्छु ।’ उनले भने’, ‘बरु थोरै अडियन्स हुन् तर जेन्युयिन अडियन्स हुन् भन्ने अभिप्रायले मैले डिश होम गो एपमा गीत सार्वजनिक गरेको थिएँ । पछिसम्म सहकार्य गर्ने कुरा भएको थियो तपाईंको कुरालाई म सिरियस्ली लिनेछु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर