उपचुनावपछि मधेसको मुख्यमन्त्री पाउने ‘गोप्य सहमति’पछि बारा २ मा उपेन्द्रलाई कांग्रेसको समर्थन ! – Nepal Press

उपचुनावपछि मधेसको मुख्यमन्त्री पाउने ‘गोप्य सहमति’पछि बारा २ मा उपेन्द्रलाई कांग्रेसको समर्थन !

जनकपुरधाम । मधेस प्रदेशमा २३ सांसदसहित सबैभन्दा ठूलो दल एमाले आजदेखि सरकारबाट बाहिरिएको छ । नेकपा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्रीसमक्ष राजीनामा दिएसँगै यहाँ एमाले प्रतिपक्ष बनेको छ ।

केन्द्रमा गठबन्धन फेरिएको करिब डेढ महिनामा एमाले सरकारबाट हटेको छ । गठबन्धनमा प्रदेशको भागबन्डा नभइसकेको र यहाँ पनि नयाँ सरकारबारे गृहकार्य नभइरहेको अवस्थामा एमाले र जनमतका मन्त्री हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवको दबाब रहेको स्रोतले बताएको छ । बारा २ मा उपचुनाव भिड्न लागेका जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रतिशोधस्वरुप एमाले र जनमतका मन्त्री हटाउन चाहेको निकट स्रोतको दाबी छ ।

यहाँ जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

प्रदेश सरकारबाट एमाले हटेपनि कांग्रेसले अहिले सरकारमा जानेबारे केही नसोचेको बताएको छ । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले सरकारमा सहभागिताको विषयमा केन्द्रबाट केही निर्देशन नआएको बताउँछन् ।

उनले भने, ‘सरकारमा कहिले सहभागी हुने कुरा अहिले भन्न सक्दैनौं ।’

जसपाका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन र खाली भएको क्षेत्र बारा २ मा हुन लागेको उपनिर्वाचनमा उपेन्द्र यादवलाई उम्मेदवार बनाएर समर्थन गर्न कांग्रेसले ‘मधेसका मुख्यमन्त्री’ पाउने गोप्य सहमति गरेको स्रोतको भनाई छ । तर, १० दलीय गठबन्धनको एक घटक जनमतका अध्यक्ष सीके राउतले पनि मुख्यमन्त्री दाबी गरेका छन् ।

जसपा अध्यक्ष यादवले आफू संसद छिर्नकै लागि मधेसका मुख्यमन्त्री कांग्रेसलाई दिने गोप्य सम्झौता गरेको जनमत पार्टीका नेताहरू सामाजिक सञ्जालमा समेत लेखिरहेका छन् । यस विषयमा भने कांग्रेस र जसपाले खण्डन गर्न सकेको छैन ।

अहिलेका मुख्यमन्त्री यादव बाराका हुन् । उनलाई हटाएर मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति गरेको कुरा बाहिर ल्याउँदा उपनिर्वाचनमा उम्मेदवार बनेका जसपा अध्यक्ष यादवलाई समस्या हुने जनमत पार्टीका नेताहरूको बुझाइ छ ।

तर, जनमतका हरेक कुराको खण्डन गर्ने जसपा नेताहरू मौन बसेपछि कांग्रेसलाई मुख्यमन्त्री दिने गोप्य सम्झौता सही हो भन्ने कुरामा बल पुगेको छ । कांग्रेस तत्काल सरकारमा नजाने कुरा गर्नुले यो आशंका सही साबित भएको छ ।

बाराले मुख्यमन्त्री र उपराष्ट्रपति दिएको विषयलाई जसपाले उपचुनावको प्रमुख मुद्दा बनाएको छ । यही बेला कांग्रेसलाई मुख्यमन्त्री दिँदा उपेन्द्रको जितमा धक्का लाग्नसक्ने भन्दै चुनावपछि मात्र कांग्रेस मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने एक नेता बताउँछन् ।

कांग्रेस नेता कृष्ण यादवले ठूलो दलको हैसियतले मुख्यमन्त्री पाउनुपर्ने दाबी स्वाभाविक रहेको बताउँछन् ।

‘मुख्यमन्त्रीमा दाबी छ । तर, अहिले यो विषयमा सहमति भएको छैन । देशको परिस्थिति र अनुकूलताबमोजिम गठबन्धनमा जे निर्णय हुन्छ, त्यो सर्वमान्य हुन्छ’, उनको जिकिर छ ।

यस प्रदेशमा २२ सीटसहित कांग्रेस दोस्रो, १७ सीटसहित जसपा तेस्रो, १३ सीटसहित जनमत चौथो, ९ सीटसहित लोसपा पाँचौ, ८ सीटसहित माओवादी केन्द्र छैटौं र ७ सीट रहेको नेकपा एस सातौं दल छन् । ४ जना स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एकएक सीट छ ।

बारा २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनमतले शिवचन्द्र कुशवाहालाई उम्मेदवार खडा गरेको छ । कुशवाहालाई पार्टीमा भित्र्याउँदै सीके राउतले जसरी पनि सत्तामा टिकिरहनुपर्ने उपेन्द्र यादवले मान्यता राखेको भन्दै ‘फिरिंगी उम्मेदवार’ लाई हराउने कसम खाएका छन् । गत मंसिर ४ को चुनावमा सीके राउतले भारी मतले हराएकाले उपेन्द्रले पनि जनमतमाथि अझ प्रतिशोध साँधेर मन्त्री हटाउन मुख्यमन्त्रीलाई निर्देशन दिइसकेको बताइन्छ ।

जनमत पार्टीबाट प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री छन् । जनमतबाट कृषि राज्यमन्त्री बनेका सञ्जय यादवले भने अहिले प्रदेश सरकार छाड्ने अवस्था नरहेको बताए ।

१०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ । जनमत पार्टीलाई सरकारबाट हटाउदा पनि कांग्रेस, जसपा, माओवादी केन्द्र र नेकपा एससँग सरकार बनाउने सामान्य बहुमत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर