प्रसाद २ लाई सेन्सर सिफारिस दिने बोर्डको निर्णय, भुवन केसी भन्छन्- आपसी समझदारी भएको छ – Nepal Press

प्रसाद २ लाई सेन्सर सिफारिस दिने बोर्डको निर्णय, भुवन केसी भन्छन्- आपसी समझदारी भएको छ

काठमाडौँ । विवादैविवादले घेरिएको चलचित्र ‘प्रसाद २’ लाई चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिने भएको छ । बोर्डमा उक्त चलचित्रसँग सम्वन्धित विभिन्न पक्षहरुबाट आर्थिक कारोबारमा समस्या रहेको भन्दै सेन्सर सिफारिस रोक्न निवेदनहरु परेपछि सोमबार सम्बन्धित पक्षहरुलाई बोलाई छलफल गरिएको थियो ।

चलचित्रका निर्माता सुवास थापाले एकभन्दा बढी वितंरकहरु तथा निर्मातासँग पैसा उठाएको, उठेको रकमको हिसाब नदेखिएको, छायांकनस्थलमा खाएको-बसेको पैसा नतिरेको, प्राविधिकहरु तथा क्यामेरालगायतका सामग्रीहरुको भुक्तानी नगरेको, चलचित्रमा सुरुमा नियुक्त भएका निर्देशकलाई दिनुपर्ने रकम नदिइएको तथा सुचारू नै नभएको बैंकको चेक दिई बेइमानी गरेको भनि विभिन्न निवेदनहरु बोर्डमा परेका थिए ।

त्यसो त अहिले अर्का निर्माता केशव पाण्डेले दायर गरेको बैंकिङ्ग कसुरमा मुद्दा चलेर पक्राउ पुर्जी जारी भएपछि निर्माता थापा सम्पर्कविहीन छन् । उच्च अदालत पाटनले चलचित्र प्रदर्शन रोक्न आदेश दिइसकेको छ ।

चलचित्र प्रदर्शन नभई रकम प्राप्त हुन झनै समस्या हुने बताउँदै छलफलमा सहभागीले चलचित्रको प्रदर्शन रोक्न नहुने राय दिएका थिए ।

रिलिजपछि हलबाट संकलन हुने रकमलाई श्रमजिवी तथा छायांकनस्थल ल्वाङ्गघलेलको होमस्टे सहित प्राथमिकताको आधारमा प्रदान गर्नुपर्ने सुझावसहित छलफल सकिएको थियो ।

यसका लागि नेपाल चलचित्र संघ, निर्माता संघ, निर्देशक समाज, कलाकार संघ लगायतका सरोकारवाला संघसंस्थाहरुले सहजीकरणको लागि पहल अघि बढाउन सम्बन्धित पक्षहरुलाई छलफलमा सुझाव पनि दिइएको छ ।

छलफलमा बोर्ड अध्यक्ष भुवन केसी, चलचित्रका अर्का निर्माता सुदर्शन बस्नेत, सुरुमा लगानी गरेका केशव पाण्डे, निर्देशक सुदर्शन थापा, वितरकहरु गोपाल कायस्थ, करण श्रेष्ठ, गोविन्द शाही, केदार पराजुली, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदय, प्रोडक्शन कन्ट्रोलर मनोज केसी लगायत उपस्थित थिए ।

छलफलपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्ड न्यायिक निकाय नभई अभिभावक संस्था रहेको हुँदा छलफलबाट समस्या समाधान गर्न सधैँ अगाडी बढ्ने बताए । केसीले नेपाली चलचित्र क्षेत्रको हितको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने र समस्यालाई साझा रुपमा लिएर त्यसको समाधानतर्फ लाग्न जोड दिए ।

कागजात सबै पुगेको खण्डमा उजुरी र पक्राउ पुर्जी जारी भएपनि बोर्डलाई सेन्सर सिफारिसमा केही फरक नपर्ने हो ? विकास बोर्डले कागजात मात्र हर्ने हो ? हामीले बोर्डका अध्यक्ष भुवन केसीलाई सोध्यौँ ।

उनले बताए, ‘त्यस्तो हैन । हामी सबै आधार हेर्छौं । सेन्सर सिफारिस गर्नुको दुईटा कारणहरु छन् । एउटा–आपसी समझदारी । छलफलमा उजुरी गर्ने व्यक्ति पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले यस विषयमा कुनै आपत्ति नजनाउनुभएपछि कुरा अघि बढेको हो । अर्को कारण– सुवास थापालाई उजुरी गर्नेे निर्माता केशव पाण्डे हाम्रो बोर्डमा कहीँ कतैबाट संलग्न हुनुहुन्न । उहाँसँग निर्माता भएको लाइसेन्स छैन । व्यक्तिगत हिसावले चिनेर उहाँहरुले समझदारीमा निर्माण कार्य अगाडी बढाउनुभएको रहेछ । नाम र ब्यानर हेरेर । उहाँहरुको आपसी कुरा उहाँहरुले आपसी हिसावमै मिलाउने भएपछि सेन्सर सिफारिसमा रोकछेक भएन ।’

केसी थप्छन्, ‘बोर्ड भनेको सरकारी निकाय हो । यसले लेनदेनको कुरा हेर्दैन । हामी एउटा अभिभावक संस्था भएकाले गर्दा सबै कागजात हेरेर र आपसी समझदारीमा सेन्सर पास गरेका हौं ।’

प्रसाद २ लाई हालसम्म ६ वटा उजुरी परेको थियो । ६ वटै उजुरी र चेक बाउन्सका कारण प्रकाउ पुर्जी समेत जारी भएका थापा फरार भएकाले उनी उपस्थित हुने बित्तिकै तुरुन्तै पक्राउ गर्न निवेदन बोर्डमा दिईएको थियो । ६ वटै उजुरी र निवेदनहरु ‘सुलभ थापा प्रोडक्सन’को नाममा आएको छ । सुलभ सुवास थापाका छोरा हुन् । प्यान, ट्याक्सहरु सबै उनैको नाममा छ ।

प्रसाद–२ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश, छलफलका लागि दुवै पक्षलाई बोलाइयो

काठमाडांैं । सुदर्शन थापा अभिनित चलचित्र प्रसाद २ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । आज सुदर्शनराज पाण्डेको एकल इजलासले सो आदेश दिएको हो ।

प्रसाद २ को प्रदर्शन रोक्न माग गर्दै केशव पाण्डेले रिट निवेदन दिएका थिए । आफूसँग रकम लिएर चलचित्रका निर्माताले ठगी गरेको उनको आरोप छ । यस विषयमा अदालतले २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको उच्च अदालतकी प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले बताइन् ।

आजै चलचित्र विकास बोर्डले सर्वपक्षीय वैठक बोलाएर चलचित्रको सेन्सर अनुमति दिने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर