निशा-शरदका उतार-चढाव – Nepal Press

निशा-शरदका उतार-चढाव

काठमाडौं । नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषावकरको दाम्पत्य जीवनसँग सम्बन्धित विषय अहिले सार्वजनिक चर्चामा छ । निशाले शरदबाट अंश माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको खबर सार्वजनिक भएसँगै उनीहरु हेडलाइनमा छाइरहेका छन् ।

एक समय चर्चित नायिकाहरुको सूचीमा पर्ने निशा पछिल्लो समय फिल्म इन्डष्ट्रीभित्र ओझेलमा थिइन् । शरद पनि राष्ट्रिय क्रिकेट टीमबाट स्थान गुमाएपछि गुमनाम झैं थिए । अहिले एकाएक निजी जीवनको प्रसंगले उनीहरुलाई चर्चामा ल्याइदिएको छ ।

निशाले अंश मुद्दा दायर गरेको विषय ढिला गरी सार्वजनिक भएको थियो । यो मुद्दाले निशा र शरदबीचको दाम्पत्य सम्बन्धमा दरार आएको हुनसक्ने अड्कल गरिएको छ । यद्यपि, निशाले आफूहरु ठीकठाक रहेको र आपसी प्रेम यथावत रहेको बताएर फ्यानहरुलाई केही राहत दिएकी छन् ।

निशा र शरदको विवाह २०७४ सालमा भएको थियो । विवाहअघिसम्म उनी चलचित्र क्षेत्रमै व्यस्त थिइन् । यद्यपि चाहे जस्तो सफलता हासिल गर्न सकिरहेकी थिइनन् । शरद भने क्रिकेटबाट नाम कमाउँदै थिए । त्यसवेला उनी नेपाली राष्ट्रिय क्रिकेट टीमको नियमित सदस्य थिए ।

स्वभावगत हिसाबले निशा र शरद निकै भिन्न लाग्छन् । निकटस्थहरुका अनुसार निशा एक्स्ट्रोभर्ट र शरद इन्ट्रोभर्ट छन् । आफ्नो खेल करिअरमा फोकस्ड शरद हम्मेसी मिडियामा आउन पनि चाहँदैनन् । कन्ट्रोभर्सीबाट सधैं टाढा रहन रुचाउँछन् । निशा भने आफैं पूर्वमिडियाकर्मी हुन् । विगतमा थुप्रै कन्ट्रोभर्सीमा पनि परेकी छन् । दुवैजना सेलिब्रिटी भए पनि निशा र शरद एकसाथ मिडियामा निकै कममात्र देखिएका छन् ।

यी दुईको प्रेम सन् २०१२ बाट सुरु भएको हो । नेपालले क्रिकेटको डिभिजन ५ बाट ४ मा स्तरोन्नति गरेर क्रिकेट टीम स्वदेश फर्किएपछि उनीहरुको एउटा पार्टीमा भेट भएको थियो । त्यसको केही दिनअघि निशाले फेसबुकमा नेपाली क्रिकेट टीमलाई बधार्ई दिएर पोस्ट गरेकी थिइन् । जबकि उनलाई क्रिकेटबारे केही थाहा थिएन र शरदलाई चिनेकी पनि थिइनन् । शरदले उक्त पोस्टका लागि आभार व्यक्त गर्दै ‘थ्यांक यु, किप अन सपोर्टिङ अस’ भन्दै निशासँग हात मिलाएका थिए ।

हिमालय टीभीका लागि माल्भिका सुब्बाले लिएको एक अन्तर्वार्तामा निशाले भनेकी थिइन्, ‘उहाँले हात मिलाउन आउँदा मलाई को हो यो मान्छे भनेजस्तो भएको थियो ।’

शरदले भने निशालाई टेलिभिजनमा हेरेर चिनेका थिए । ‘घरबेटी बा’ नामक कमेडी सिरियलमा निशाले अभिनय गर्ने गर्थिन् । सोही सिरियलबाट आफूलाई निशा मनपर्न थालेको शरदले सोही कार्यक्रममा खुलाएका थिए ।

पार्टीमा भेट भएपछि शरदले नै निशालाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए । निशाले धेरै दिनसम्म एसेप्ट नगरेपछि उनले म्यासेज नै गरे । त्यसपछि क्रिकेटर भन्ने थाहा पाएर निशाले उनलाई साथी बनाइन् । उनीहरुबीच च्याट हुन थाल्यो । निशाले आफ्नो चलचित्र ‘धूवाँ एक नशा’ को प्रिमियरमा शरदलाई बोलाइन् । त्यहाँदेखि नै निशा र शरदको सम्बन्धबारे गाइँगुइँ सुरु भएको हो । उनीहरु दुवैले एक अर्कालाई मन पराउन थाले ।

नेपालले सन् २०१४ को वर्ल्डकप खेल्दासम्म उनीहरु गहिरो प्रेममा परिसकेका थिए । मिडियामा पनि खबरहरु आउन थाले । क्रिकेटर शक्ति गौचनको बुवाको निधनपछि आर्यघाटमा निशा र शरद सँगै बसेको तस्वीर सार्वजनिक भएको थियो । तर, त्यसवेला उनीहरुले अफेयरको कुरा सार्वजनिक रुपमा स्वीकार गरेका थिएनन् । विस्तारै नेपालको क्रिकेट म्याच हुँदा निशा रंगशाला पुग्ने, अनि निशाको चलचित्र छायांकन हुँदा शरद सुटिङ स्पटमै पुग्न थाले । अनि त अफेयर लुकाएर लुक्ने अवस्था भएन ।

केही समयपछि अचानक उनीहरुको ब्रेकअप भएको खबर मिडियामा आयो । उनीहरुले यसलाई पनि स्वीकार गरेनन् । यथार्थ चाहिं खबर आउनुभन्दा अगाडि नै ब्रेकअप भएर फेरि प्याचअप भइसकेको थियो । तर, आफूहरुबीच प्याचअप भइसकेको उनीहरुले बताएनन् । बरु विवाहसम्म दुवैजना मौन बस्ने समझदारी उनीहरुबीच भएको थियो । त्यसै समझदारीअनुसार उनीहरु दुई वर्षसम्म सार्वजनिक कार्यक्रममा एकसाथ देखिएनन् ।

उहिल्यै ब्रेकअप भइसकेको भनिएका जोडीको अचानक विवाहको खबर आउँदा मानिसहरु जिल्लिएका थिए । निशा र शरदबीच अन्नपूर्ण होटलमा सीमित साथी र आफन्तको जमघटमा विवाह भएको थियो । विवाहपछि उनीहरुले कलाकार र खेलाडीहरुलाई बोलाएर पार्टी दिएका थिए ।

निशाको कलाकारिता यात्रा

पाल्पा पुर्ख्यौली घर भएकी निशा २०४३ साल असोज १८ गते काठमाडौंमा जन्मिएकी हुन् । उनले प्लस टुसम्मको पढाइ काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल हायर सेकेण्डरी स्कूलबाट पूरा गरेकी थिइन् । हाईस्कुलको पढाइ सकेपछि उनी चलचित्रबारे अध्ययन गर्न अमेरिका उडिन् । उनले त्यहाँ ‘विगन लेह’ नामको कलेजबाट फिल्मसम्बन्धी शिक्षा हासिल गरेपछि ‘न्यूयोर्क फिल्म एकेडेमी’मा पनि थप अध्ययन गरिन् ।

पढाइ सकेपश्चात उनी नेपाल फर्किइन् । सन् २००५ मा उनले मिस इन्टरनेसनल नेपालमा सहभागिता जनाइन् । उक्त प्रतिस्पर्धामा उनले पहिलो उपाधिसहित मिस पर्सनालिटीको टाइटल पनि हात पारिन् । उपाधि जितेपछि उनी सन् २००५ मै मिस इन्टरनेसनलका लागि जापान गइन् । यद्यपि, त्यहाँ सफलता पाइनन् ।

निशाले रेडियो कान्तिपुरबाट आफ्नो करिअरको सुरुवात गरेकी हुन् । उनी सुरुवाती दिनहरुमा रेडियो कान्तिपुरमा आरजे थिइन् । पछि ‘प्ले इट अन’, ‘काउन्टडाउन कान्तिपुर’, ‘इन्डि मिनी ब्याग’ लगायतका केही लोकप्रिय कार्यक्रमहरूमा भिजेको रूपमा काम गर्न थालिन् ।

आरजे अनि भिजे हुँदै उनले टेलिभिजन कार्यक्रमतर्फ आफ्नो पाइला लम्काइन् । उनको पहिलो टेलिभिजन कार्यक्रम ‘घरबेटी बा’ हो । त्यो समय उक्त हाँस्यश्रृंखलामा दर्शकको राम्रो क्रेज थियो । टेलिसिरियलपछि उनले सन् २००९ मा चलचित्र ‘मिसन पैसा’ बाट बिग स्क्रिनमा प्रवेश गरिन् । अभिनेता निखिल उप्रेती स्टारर उक्त चलचित्र रिलिज वर्षकै सबैभन्दा सफल चलचित्र बन्यो, जसले निशाको करियरका ढोकाहरु उघ्रिए ।

पहिलो चलचित्र हिट भएपछि सन् २०१० मा उनले थप दुई चलचित्र गरिन्- ‘फर्स्ट लभ’ र ‘नैनारेसम’ । चलचित्र ‘फर्स्ट लभ’ ले पनि रिलिज भएको वर्ष राम्रो व्यापार गर्‍यो । करिअरको सुरुवाती दिनहरुमा नै सफलता हात पार्न सफल निशालाई अफरहरुको ओइरो लाग्न थाल्यो । उनले सन् २०१२ मा मायाज बार, अपवाद, धूँवा एक नसा र सुनगाभालगायत चलचित्र गरिन् ।

त्यसैगरी सन् २०१३ मा स्नो फ्लावर र पदमिनी, सन् २०१४ मा मेरो भ्यालेन्टाइन, मिसन पैसा रिलोडेड, भीमदत्त र मुखौटा, सन् २०१५ मा आभाष, सन् २०१६ मा जय परशुराम, हाउ फन्नी र सन् २०१७ मा कुम्भकर्ण जस्ता चलचित्रहरु गरिन् । ‘सुनगाभा- द डान्स अफ अर्किड’ मा उनले निभाएको लेस्बियन भूमिकाले निकै चर्चा पाएको थियो । यसै चलचित्रले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत जितायो ।

चलचित्रबाहेक निशाले घरबेटी बा, संस्कार, होटल (पाकिस्तानी), एक थी लड्की नेपाली (पाकिस्तानी), क्याफे कान्तिपुर जस्ता टीभी सिरिजहरुमा पनि काम गरेकी छन् ।

निशा साहसिक कामहरुमा पनि रुचि राख्छिन् । उनले २०७० सालमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणसमेत गरिन् । चलचित्र क्षेत्रबाट सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला हुन् ।

विवाह गरेको एक वर्षमै निशाले छोरालाई जन्म दिइन् । उनीहरुको छोराको नाम युवान निशरद राखिएको छ । २०७५ साल जेठ ३ गते अमेरिका पुगेर निशाले छोरा जन्माएकी हुन् ।

विवाहपछि निशा चलचित्र क्षेत्रबाट लगभग हराइन् । यसबीचमा उनले चलचित्र निर्माणमा हात हालिन् । उनले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ ले राम्रो चर्चा पाए पनि उल्लेख्य व्यापार गर्न सकेन । निशा चलचित्रसम्बन्धी कार्यक्रमहरुमा बेलाबखत उपस्थिति जनाउँछिन् ।

अहिले भने उनी युट्युब च्यानलमा पोडकास्ट चलाउन थालेकी छन् । करिब एक वर्षअगाडि आफ्नै नाममा खोलेको च्यानलमा उनले १६ हजार ७०० सब्सक्राइबर पु¥याएकी छन् । उनी ‘किप मुभिङ विथ निशा अधिकारी’ नाममा पोडकास्ट चलाइरहेकी छन् । यसमा उनी विभिन्न क्षेत्रका अतिथिहरु बोलाएर समसामयिक विषय अनि जीवनका उतारचढावका बारेका कुरा गर्ने गर्छिन् ।

निशाको कार्यक्रममा हालसम्म रञ्जु दर्शना, श्री गुरुङ, प्रदीप पौडेल, प्रणय एस.जे.बी राणा, जगन्नाथ लामिछाने, सस्मित पोखरेल, मीरा राई, दीया मास्के, रीमा विश्वकर्मा, प्रकृति भट्टराई बस्नेत, दयाहाङ राई, जितु नेपाल, शिल्पा मास्के, मिस नेपाल नीति शाह, कालीप्रसाद बास्कोटा आदिले सहभागिता जनाइसकेका छन् । उनका शोहरुले सोचेजस्तो भ्यूज भने पाएका छैनन् ।

विवाह गरेपछि निशाले आफ्ना सामाजिक सञ्जाल अकाउन्टहरुमा आफ्नो नामथर निशा अधिकारी मल्ल राखेकी छन् । धेरैले मल्ल उनको श्रीमानपट्टिको थर हो कि भन्ठान्छन् । तर, यो उनको आमाको माइतीपट्टिको थर हो । अधिकारी चाहिं उनको बुवापट्टिको ।

शरदको क्रिकेट करिअर

यूएईमा जन्मेर हुर्केका शरद विदेशी बुवा र नेपाली आमाका सन्तान हुन् । उनका बुवा इन्जिनियर दिलीप भेषावकर भारतीय मूलका हुन् । बुबाको अवकाशपछि सन् १९९५ मा शरदको परिवार नेपाल फर्किएको थियो ।

शरदले आफ्नो दाइ महेन्द्र भेषावकरसँगै बाल्यकामा काठमाडौंमै क्रिकेट खेल्न सिकेका हुन् । उनलाई सन् १९९६ को विश्वकप हेरेपछि क्रिकेटको नशा लागेको थियो । उनी सचिन तेन्दुलकरका फ्यान थिए । सन् १९९७ पछि उनले रातोपुलको एभरेस्ट क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले । सो एकेडेमीमा उनले ५-६ वर्ष अरुण अर्यालसँग क्रिकेट सिकेका थिए ।

एकेडेमीमा प्रशिक्षण गर्दै गर्दा उनी यू-१९ काठमाडौंको टीममा छनोट भए । त्यसबेला उनी १२÷१३ वर्षका थिए । लगत्तै उनी यू-१५ को राष्ट्रिय टीममा र त्यसपछि यू-१९ को राष्ट्रिय टीममा समावेश भए । सन् २००४ मा उनले सिनियर राष्ट्रिय टीममै स्थान बनाए । सिनियर टीमबाट उनले पहिलो खेलमै यूएईविरुद्ध ५० रन हानेका थिए । त्यसपछि शरदले पछाडि फर्केर हेर्नुपरेन ।

शरदले लामो समय नेपालको राष्ट्रिय क्रिकेट टीमबाट योगदान दिए । नेपाललाई सन् २०१४ को टी-२० विश्वकपमा पुर्‍याउनमा शरदको ठूलो योगदान छ । हङकङविरुद्धको निर्णायक म्याचमा शरदले अन्तिम बलमा विजयी स्कोर गरेका थिए । यद्यपि पछिल्लो समयमा आफ्नो फर्म कायम राख्न नसक्नु र नयाँ खेलाडीहरुको आगमनका कारण उनले राष्ट्रिय टीममा आफूलाई सुरक्षित राख्न सकेनन् ।

घरेलु क्रिकेटमा शरदको रेकर्ड निकै राम्रो छ । उनी घरेलु फ्रेन्चाइज लिगका सबैभन्दा सफल कप्तान मानिन्छन् । उनले नेतृत्व गरेको टोलीले हरेकजसो प्रतियोगितामा फाइनलसम्मको यात्रा गरेका छन् । ईपीएलका चारमध्ये तीनवटा संस्करणका फाइनल उनले खेलेका थिए । पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि उनको नेतृत्वमा रहेको पोखरा पल्टनले जित्यो । धनगढी प्रिमियर लिग (डीपीएल) मा शरदले खेलेका दुवै संस्करणमा उनको टोलीले फाइनलको यात्रा गरेको थियो ।

बाबु नेपाली नभएकाले शरदले नेपालको नागरिकता प्राप्त गर्न निकै संघर्ष गर्नुपरेको थियो । उनले धेरै वर्षसम्म नागरिकताविनै देशको प्रतिनिधित्व गरेर क्रिकेट खेलेका थिए । अन्ततः उनले आमाको नामबाट नागरिकता पाए ।

शरद र निशाको वैवाहिक सम्बन्ध जटिल मोडमा पुगेको महसुस गर्न सकिन्छ । उनीहरु दुवैको करिअर पनि सुखद हुन सकेको छैन । उनीहरुका शुभेच्छुक र फ्यानहरुले सकेसम्म यो जोडी नटुटोस् भन्ने चाहिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *