होलीमा रंगियो मधेस, गुञ्जियो जोगिरा सररर… (भिडि‌ओ/तस्विर) – Nepal Press

होलीमा रंगियो मधेस, गुञ्जियो जोगिरा सररर… (भिडि‌ओ/तस्विर)

जनकपुरधाम । मधेसका जिल्लाहरु आज होलीमा रंगिएको छ । जनकपुरधामबाहेक आज अधिकांश मधेसी समुदायले उत्साहपूर्वक होली मनाएका छन् ।

आपसमा रंग र अबिर दलेर तथा विभिन्न लोकगीत र मिष्ठान्न परिकार खाएर मधेसमा होली मनाइएको छ । मधेसका शहरदेखि गाउँघरसम्म होलीको रौनक छायो । होलीको गीतले मधेस गुञ्जयमान भयो ।

मधेसमा होली भाउजू, देवर, नन्द, भिनाजु र सालीको लागि महत्वपूर्ण दिन मानिन्छ । देवर र नन्दले भाउजूलाई, भाउजूले देवर र नन्दलाई तथा भिनाजुले सालीलाई तथा सालीले भिनाजुलाई रंग लगाउँदै हँसीठट्टा गर्दै मधेसमा होली मनाउने चलन छ । तिनीहरूले एकअर्काको शरीरभरि रंग दल्ने गर्छन् ।

होली पर्वमा आपसी द्वेष बिर्सेर सबैले एकअर्कालाई रंग दल्ने, मिल्ने साथी, इष्टमित्र र छिमेकीलाई घरमा बोलाएर मालपुवा, खजुरी, पुरीलगायतका मीठा परिकार र माछामासुका परिकार खुवाउने र खाने प्रचलनले गर्दा यसलाई सामाजिक सद्‌भावको पर्व मानिएको हो ।

सामाजिक सद्‌भाव अभिवृद्धि गर्नु, सबै खुशीयालीपूर्वक होली मनाउनु, विगतका वैमनश्यलाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य आकर्षण रहेको जनकपुरधामका युवा अभियन्ता शैलेन्द्र चोरवार यादव बताउँछन् ।

होली उत्साह र मनोरञ्जनको पर्व पनि हो । तर, होलीको अवसरमा मनोरञ्जनको नाममा पछिल्लो समय मदिरा र भांग, गाँजा र अन्य नशालु पदार्थ सेवन गरी झैंझगडा गर्ने, बाटो हिँडिरहेका महिलालाई बलजफ्ती रंग दल्ने, जिस्काउनेलगायतका विकृति बढेको छ । होली मर्यादित बनाउन हरेक जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

गुञ्जियो जोगिरा सररर

पछिल्लो समय जोगिरा लोपोन्मुख छ । लहानका केही वृद्ध र युवाहरुको एक समूहले भने ढोलक, डम्फू र मृदङ्गको तालमा जोगिरा गाएर होली मनाए ।

कौन तालपर ढोलक बाजे, कौन ताल मृदङ्ग
कौन तालपर गोरिया नाचे, कौन तालपर हम
जोगिरा सररर…

जस्ता जोगिरा उनीहरुले गाएपछि धेरैको मन जित्न सफल भए । उनीहरुले जोगिरा संरक्षण गर्न आफ्नै लगानीमा ढोलक, दम्फू, मृदङ्गलगायतका बाजा किनेर होली मनाएको बताएका छन् ।

यस्तो छ मान्यता

परापूर्वकालमा हिरण्यकश्यपु नाम गरेका एक शक्तिशाली नास्तिक राजाले आफ्नै छोरा प्रह्लादलाई आगोमा जिउँदै जलाए मार्न खोज्दा सँगै बसेकी राजाकी बहिनी होलिका आगोमा जलेर भस्म भएको तर प्रह्लाद भगवान विष्णुको भक्तिको शक्तिले बाँच्छन् ।

त्यसैले होलीको अघिल्लो रात होलिका दहन गर्ने परम्परा सुरु भयो । यो परम्परा मधेसका गाउँघरमा आज पनि चलनचल्तीमा छ । असत्यमाथि सत्यको विजयस्वरुप मधेसको हरेक गाउँमा होलिका दहन गरिँदै आएको छ ।

होलीमा मधेसी समुदाय विभाजित

धार्मिक पात्रोअनुसार मधेसमा आज होली हो । जनकपुरधाममा भने आज अन्तरगृह परिक्रमा भएकाले भोलिमात्रै होली मनाइने भएको छ । परिक्रमाको दिन माछा, मासु र मदिरा बर्जित छ ।

आज जनकपुरधाममा माछा, मासु र मदिराको खरिद बिक्री र सेवनमा प्रतिबन्धसमेत लगाएको र परिक्रमाको बिहानपल्ट होली मनाउने पौराणिक मान्यता रहेकाले जनकपुरधाममा होली भोलि मनाइने भएको हो ।

पात्रोअनुसार जनकपुरधामबाहेक मधेसका जिल्लाहरु आज होली मनाउनुपर्ने हो । तर, मंगलबार धेरैले माछामासु नखाने भएकाले होली भोलि मनाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *