सुस्तामा ८७ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया – Nepal Press

सुस्तामा ८७ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

रुपन्देही ।नवलपरासीको सुस्ता गाउँपालिकामा ८७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुपन्देहीको श्रीकृष्ण नेत्रालय फेको सेन्टरमार्फत उनीहरुको शल्यक्रिया गरिएको हो ।

इम्प्रुभिङ लाइफ इन नेपालले नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ रुपौलियामा गरेको आंखा शिविरमा चेकजांच गराउँदा मोतियाबिन्दुमा समस्या देखिएका ८७ जनाको नेत्रालयले शुक्रबार निःशुल्क शल्यक्रिया गरिदिएको हो । अस्पतालका नेत्र रोग विशेषज्ञहरु डा. सल्मा केसी र डा. रासिजा खनालले मोतियाबिन्दुको शल्यक्रिया गरेका हुन् ।

श्रीकृष्ण नेत्रालयले सामाजिक उत्तरदायित्व अन्तर्गत कमजोर आर्थिक अवस्था भएका सर्वसाधारणको आंखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिदिने गरेको अस्पतालका व्यवस्थापक अमोद सिंहले बताए ।

मोतियाबिन्दुको शल्यक्रिया गर्दा न्युनतम ७ हजार ५ सय र मेसिनबाट गर्दा १२ हजार ५ सय देखि ५० हजारसम्म शुल्क लाग्ने गर्छ । निःशुल्क शल्यक्रियाको सुविधा पाउँदा गाउँका गरीब सर्वसाधारणले ठूलो राहतको महशुस गरेका सिंहले बताए । आँखा शिविरमा अस्पतालका इन्चार्ज मलाउ गुप्ताको नेतृत्वमा अप्टोमेट्रिस सौरभ सरकार,ओएहरु प्रिति शर्मा, गीता जीसी, एन्जिला भण्डारी, बबिता पालले आँखा चेकजांच गरेका थिए ।

शिविरको उद्घाटन गर्दै सुस्ता गाउँपालिका वडा नं १ का अध्यक्ष अशोककुमार चौधरीले सरकारी अस्पतालले गर्ने काम निजी क्षेत्रको अस्पताल श्रीकृष्ण नेत्रालयले गरेको भन्दै यसबाट अरुले सिक्नुपर्ने बताए ।

आँखाका विरामीको सुविधालाई मध्यनजर गरी अस्पतालले बुटवलको पुष्पलालपार्कमा पनि सेवा विस्तार गरेको व्यवस्थापक सिंहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर