पोखरामा मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया – Nepal Press

पोखरामा मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा जटिल अवस्थामा पुगेको मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया भएको छ ।

अस्पतालले पर्वतका ५४ वर्षीय पुरुषको ५ बाई ५ सेन्टिमिटरको तेस्रो चरणको मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया गरेको हो ।

अस्पतालका प्लास्टिक सर्जन डा. पीयुष गिरीसहितको टीम र म्याग्जिलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेसहितको दन्त चिकित्सकहरुको टोलीले गरेको १० घन्टा लामो अप्रेसन सफल भएको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार अपरेसनपछि बिरामीको गलाको भित्री भाग पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएर यही फागुन ७ गते बिरामी निको भई अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

‘अहिले राम्रै भइराखेको छ, अब क्यान्सरका बिरामीको अवस्था कस्तो हुन्छ ? पछि हेर्न त बाँकी छ’, निर्देशक प्रा.डा. खत्रीले भने ।

ती बिरामीको मुखमा क्यान्सर भएको ठाउँको भाग काटेर फाली बायाँ हातको मासु प्रत्यारोपण गरेर शल्यक्रिया गरिएको उनले जानकारी दिए । उनका अनुसार पोखरामा ३० वर्षअघि यसै किसिमको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको नेतृत्व गरेका प्लास्टिक सर्जन डा. गिरी ६ महिनाअघि अस्पतालमा आएका थिए । उनले सोही विषयमा अमेरिकामा तालिम पनि लिएका थिए । अमेरिकाको मेमो क्लिनिकमा उक्त विषयको तालिम गरेकाले शल्यक्रिया गर्न धेरै सहयोग मिलेको डा. गिरीले बताए ।

‘अस्पतालबाट पनि सहयोग भयो । अप्रेसन जटिल पनि हो, लामो पनि हो, धेरै कठिन पनि हो’, उनले भने, ‘धेरै ठाउँमा नहुने खालको हो, यस खालको शल्यक्रिया उता अमेरिकामा मेमो क्लिनिकमा ट्रेनिङ गरेको भएर मलाई फाइदा भयो, टेक्निकको हिसाबले ।’

ठूला घाउहरुको सफल शल्यक्रिया गरेको देखेर बिरामीले आफूहरुलाई विश्वास गरेको उनीले सुनाए । ‘यो खालको शल्यक्रिया नयाँ भए पनि नसाहरु जोड्ने कामहरु हामीले गरिरहेका थियौं । ठूला घाउहरुको अपरेसन पनि गरिरहेका थियौं । सो समयमा उहाँहरुले देखिरहनुभएको थियो । त्यही भएर उहाँले विश्वास गर्नुभयो’, उनी भन्छन् ।

आगामी दिनमा पनि यस्ता खालको ठूलो शल्यक्रियाका लागि अस्पताल तयार रहेको डा. गिरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर