मोन्टीको ‘ह्याप्पी ड्रेसिङ रुम’ मन्त्र ! ओडीआई मान्यता कायम राख्न बढ्दो आत्मविश्वास – Nepal Press

मोन्टीको ‘ह्याप्पी ड्रेसिङ रुम’ मन्त्र ! ओडीआई मान्यता कायम राख्न बढ्दो आत्मविश्वास

काठमाडौं । नेपालले विश्वकप लिग-२ प्रतियोगिता अन्तरगत घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखला सानदार क्लीन स्वीप गर्‍यो । इतिहासमा पहिलोपटक चारमा चारै खेल जितेको नेपालले एकदिवसीय मान्यता बचाउने बलियो अठोट देखाएको छ ।

मैदानबाहिरका अनेकन विवाद र नेपाल क्रिकेट संघ (क्यान) का विभिन्न कमजोरीहरूले नेपाली क्रिकेट अधोगतिमा थियो । तर, यो यो श्रृंखलाले देशका क्रिकेट समर्थकहरूमा नयाँ आशाको सञ्चार गराएको छ । नेपालले सोझै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने सम्भावना झिनो भए पनि कम्तीमा एक दिवसीय मान्यता जोगिएमा त्यो उपलब्धीपूर्ण मानिनेछ ।

एक वर्षअघि नेपाल क्रिकेट संघ (क्यान) ले ग्रेडिङको विवादलाई लिएर असन्तुष्ट खेलाडीलाई कारबाही गर्दै सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको कप्तानी सुम्पिएसँगै राष्ट्रिय क्रिकेट टीम नै अन्तरद्वन्द्वमा फँसेको थियो । कप्तान सन्दीप लामिछाने पक्राउ पर्नु र क्यानले आयोजना गरेको नेपाल टी-२० लिग तीव्र विवादित हुनुले नेपाली क्रिकेटमा ठूलो क्षति पुगेको छ । यस्तो माहोलमा खेलाडीहरूले बहादुरीपूर्ण प्रदर्शन गर्दै हजारौं दर्शकलाई मैदान फर्काएका छन् ।

करिब दुई वर्षमा क्यानले राष्ट्रिय टीममा तीन प्रशिक्षक परिवर्तन गर्‍यो । अहिले नयाँ प्रशिक्षकका रूपमा आएका मोन्टी देसाईले भने सुखद सुरूवात गरेका छन् । यसअघि अर्का भारतीय प्रशिक्षक मनोज प्रभाकरले नेपाली टीम नै लथालिंग पारेर हिँडेका थिए ।

राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेलगत्तै मोन्टीले पहिलो प्रेस मिटमा भनेका थिए, ‘म ह्याप्पि ड्रेसिङ रुम चाहन्छु ।’ नभन्दै उनको आगमनसँगै करिब १० दिनको अन्तरालमा नेपाली टीमको ड्रेसिङरूपमा सकारात्मक माहोल बनेको बताइन्छ ।

नामिबिया र स्कटल्यान्डसँगको श्रृंखलाअघि कप्तान रोहित पौडेलले पनि भनेका थिए, ‘टीममा सकारात्मक माहोल छ, सबैको मनोबल उच्च छ ।’

स्कटल्यान्डमा चारै खेल हारेर फर्किएको नेपालले घरेलु मैदानमा चारै खेल जित्दै उत्कृष्ट पुनरागमन गर्‍यो । जसले गर्दा रोहितले भनेको टीमभित्रको सकारात्मक माहोल र मोन्टीको ‘ह्याप्पी ड्रेसिङ रुम’ मन्त्रले धेरै हदसम्म काम गरेको बुझ्न सकिन्छ ।

यसअघि, प्रशिक्षकका बारेमा खुलेर नबोल्ने खेलाडीहरू खुलेर मोन्टीको प्रशंसा गर्छन् । सबैको एकै भनाइ छ- ‘सरले टीमभित्र सकारात्मक माहोल बनाउनुभएको छ ।’

देसाईले टीममा कसको भूमिका के हो भन्ने स्पष्ट पारिदिएका छन् र खेलाडीले पनि आफ्नो जिम्मेवारी बुझ्न थालेका छन् । हरेक खेलमा फरक-फरक खेलाडीले ‘म्याचविनिङ’ प्रदर्शन गर्नु त्यसैको परिणाम हो ।

ओपनर कुशल भुर्तेलको सतकबाट सुरू भएको श्रृंखलालाई सुखद रूपमा टुंग्याउन रोहितले ‘म्याचुअर्ड’ इनिङ खेले । तल्लो क्रमका बलिङ अलराउन्डर करन केसीले उनलाई दह्रो साथ दिएका थिए ।

पहिलो खेलमा ओपनर कुशल भुर्तेलले शतकीय र रोहितले अर्धशतकीय इनिङ खेले जस्को मद्दतमा नेपालले नमिबियालाई २ विकेटले पराजित गर्‍यो । श्रृंखलाको पहिलो खेल नेपाली टीमको पुनरागमन खेल र एक विशेष दिनको संगमको रूपमा पनि लिन सकिन्छ ।

नेपाली क्रिकेटमा फेब्रुअरी १४ का दिन अर्थात ‘भ्यालेन्टाइन डे’ लाई ‘करण केसी डे’ का रूपमा चर्चित छ । उनले सन् २०१७ मा भ्यालेन्टाइन डेकै दिन क्यानाडाविरुद्ध १० औं नम्बरमा आएर उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई एक विकेटको जित दिलाएका थिए । त्यही नतिजाले गर्दा आज नेपाल एकदिवसीय मान्यताप्राप्त राष्ट्र कहलिएको छ । करणले पहिलो खेलमा नमिबियाविरुद्ध पाँच विकेट लिँदै पुनः ‘करण केसी डे’ लाई विशेष बनाए ।

यस्तै, अर्को संयोग सन्दीप लामिछानेले राष्ट्रिय टिममा डेब्यू गरेकै टीमविरुद्ध करिब ५ महिनापछि राष्ट्रिय टीममा पुनरागमन गरे । उनले सन् २०१६ मार्च २१ मा नामिबियाविरुद्ध त्रिवि क्रिकेट मैदानमा डेब्यू गरेका थिए ।

श्रृंखलाको दोस्रो खेलमा शीर्ष क्रमका ब्याट्सम्यानलाई सस्तैमा गुमाएको नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै स्कटल्यान्डमाथि ३ विकेटको सानदार जित निकाल्न मद्दत गरे ।

तेस्रो खेलमा कुशल मल्लको अर्धशतकीय इनिङ, ज्ञानेन्द्र मल्ल र आसिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले नमिबियालाई तीन विकेटले पराजित गर्दै जितमा ह्याट्रिक गरेको थियो । श्रृंखलाको अन्तिम खेलमा लगातार विकेट गुमाउँदै संकटमा परेको नेपालका लागि नवौं विकेटका लागि रोहित र करणले अविजित ९५ रन जोड्दा नेपालले पहिलोपटक शृंखला क्लिनस्वीप गर्‍यो ।

बलिङमा सधैँ उत्कृष्ट र ब्याटिङमा संघर्ष गर्ने नेपालले यसपटक चारै खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न सफल भयो । घरेलु मैदानमा निकालेको उत्कृष्ट जितले नेपालको आगामी यात्रामा आत्मविश्वास थपेको छ । घरेलु मैदानमा चम्किएको नेपालको प्रदर्शन विदेशी भूमिमा पनि उस्तै रहने अपेक्षा प्रशिक्षक मोन्टीले गरेका छन् ।

चार खेलमा जित निकालेपछि पत्रकार सम्मेलनमा भनेका थिए, ‘हामीले यूएईमा यस्तै प्रदर्शनको अपेक्षा गर्नेछौं, अन्तिम खेलमा गरेको संघर्षले हाीलाई धेरै कुरा सिकाएको छ । त्यसलाई सुधारेर अघि बड्नेछौं ।’

नेपालले लिग २ मा ८ खेल खेल्न बाँकी रहँदा सबै खेल जिते शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्नेछ । बाँकी ८ खेलमा नेपालले ४ खेल यूएई र चार खेल पुनः घरेलु मैदानमा खेल्नेछ ।

अर्को हप्ता पपुवा न्यूगिनी (पीएनजी) पनि सम्मिलित श्रृंखला खेल्न नेपाल यूएई प्रस्थान गर्नेछ । फेब्रुअरी २७ देखि मार्च ६ सम्म यूएईमा चार खेल खेलेर नेपालले अर्को चार खेल मार्च ९ देखि १६ सम्म त्रिवि मैदानमा खेल्नेछ ।

तीन खेलअगावै लिग २ च्याम्पियन बनेको स्कटल्यान्डले लिग २ का सबै खेल खेलिसकेको छ । र, शीर्ष स्थानमा ५० अंकसहित विश्वकप छनोटमा स्थान बनाएको छ । ओमान यसअघि नै, ३६ खेल सकेर ४४ अंकसहित दोस्रो स्थानमा छ ।

ओमान र स्कटल्यान्ड विश्वकप छनोट खेल्ने पक्का हुँदा, शीर्ष ३ मा रहेर छनोट खेल्न नेपाल, नामिबिया र यूएई बीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । नामिबियाको लिग २ मा यूएईसँग दुई खेल बाँकी छ । दुवै खेलमा जित निकाले नामिबियाको ४१ अंक हुन्छ । २६ खेल खेलेको यूएईले नेपाल र पीएनजीसँग समान ४ खेल र नामिबियासँग दुई खेल खेल्नेछ । बाँकी खेल जिते यूएई तेस्रो स्थानमा रहने पक्का छ, तर नेपालले पनि बाँकी आठ खेल जिते शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने बलियो सम्भावना रहेको छ ।

यदि नेपाल शिर्ष तीनमा नपरे विश्वकप छनोट क्वालिफायर खेल्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *