पशुपतिमा महाशिवरात्रिकाे रमझम (तस्बिरहरु/भिडिओ ) – Nepal Press

पशुपतिमा महाशिवरात्रिकाे रमझम (तस्बिरहरु/भिडिओ )

काठमाडौं । महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पाशुपत क्षेत्रमा गएरातिदेखि नै शान्ति सुरक्षाको व्यवस्था पनि कडा बनाइएको छ ।

पाशुपत क्षेत्रका विभिन्न स्थानमा सुरक्षाकर्मी तैनाथ रहेका छन् । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिङ्गलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक–एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।

उनका अनुसार ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ । भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले बताए । उनले भने, ‘भक्तजनलाई समस्या नहोस् भनेर हामीले सबै व्यवस्था मिलाएका छौँ, समस्या परेको ठाउँमा तत्काल टोली पुग्ने छ ।’

पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन भएका विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए।

यसैगरी कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमासमेत गाँजा, भाङ, जाँडरक्सीजस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाइएको जनाएको छ । दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको र हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गा क्षेत्रलाई आवास क्षेत्र तोकिएको सदस्य सचिव डा थापाले बताउनुभयो । आवास क्षेत्रमा विभिन्न संस्थाले निःशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाएका छन् ।

विगतका केही वर्ष कोरोना महामारीका कारण भक्तजन खासै नआए पनि यो वर्ष कोरोना महामारी हटेका कारण पशुपतिनाथमा आउने भक्तजन तथा साधुको सङ्ख्या बढेको विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ ।

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएका छन् ।

जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए। पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ ।

दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेकोे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर