प्रिमियरमा तारिफ पाएको फूलबारी, कसले के भने ? (भिडिओसहित) – Nepal Press

प्रिमियरमा तारिफ पाएको फूलबारी, कसले के भने ? (भिडिओसहित)

काठमाडौं । राजधानीमा बिहीबार चलचित्र ‘फूलबारी’को ग्राण्ड प्रिमियर गरियो । प्रिमियरमा चलचित्रको सम्पूर्ण टीमसहित चलचित्रबाहेकका कलाकारहरुको राम्रो उपस्थिति थियो ।

रामबाबु गुरुङ निर्देशित चलचित्र भएर पनि होला चलचित्र हेर्न सबै आतुर देखिन्थे । कबड्डी जस्तो ब्लकबस्टर चलचित्र निर्देशन गरिसकेका गुरुङप्रति सबैको अपेक्षा उच्च हुनु स्वाभाविक हो ।

चलचित्र कस्तो होला भन्ने कौतुहल बोकेर हल छिरेका अधिकांश कलाकार, दर्शक र पत्रकारहरु फर्किंदा भने आँखामा आँसु बोकेर आएका थिए । हलबाट निस्किएका धेरैले चलचित्र मन पराए ।

अभिनेत्रीहरु प्रियंका कार्की र शिल्पा मास्के अनि अभिनेताहरु विपीन कार्की र दयाहाङ राईको कामको चौतर्फी तारिफ भयो । विशेषतः अभिनेता कार्कीको कामको । सम्रगमा चलचित्रले सबैबाट सुखद प्रतिक्रिया पायो ।

चलचित्र हेर्न रमाउँदै हल छिरेकी अभिनेत्री निशा अधिकारी हलबाट बाहिर निस्किँदा थोरै भावुक देखिइन् । चलचित्रबारे प्रतिकिया दिँदै उनले भनिन्, ‘अर्कै प्रकारको भावुक बनाउने चलचित्र हो यो । कमेडी छ । साहित्य छ । हरेक संवादमा भिन्न खालको आफ्नोपन छ । सम्रगमा एउटा छुट्टै मिठास छ ।’

अभिनेता विपीन र दयाहाङको जोडीले आफूलाई हलसम्म तानेको उनले बताइन् । उनले थपिन्, ‘विपीन र दयाहाङको डुओ हेर्न आएकी थिएँ । तर, चलचित्र हेरेदेखि अन्तिमसम्म मलाई आमाको धेरै याद आयो । कहिले घर गएर ममीलाई अङ्गालोमा हाल्नु जस्तो भयो ।’

आफ्नै चलचित्र हेर्न पुगेका विपीन र दयाहाङ पनि दर्शकको प्रतिक्रियाले मख्ख देखिए । धेरै पछि कुनै चलचित्र हेर्दा आफूलाई आनन्द आएको र यस चलचित्रको एक भाग हुन पाउनु आफ्नो लागि गर्वको कुरा रहेको दयाहाङले सुनाए ।

‘विपीनले जुन चरित्र निभाएका छन, त्यो प्रशंसायोग्य छ । त्यो आँट म गर्न सक्दिनँ । मैले ‘आप्पा’ भन्ने चलचित्रमा यो भूमिका निभाउन कोसिस गरेको छु । तर, धेरै मुस्किल थियो’, उनले विपीनको तारिफ गर्दै थपे, ‘थोरै भूमिका निभाउन त मलाई कति गाह्रो भएको थियो भने पूरै चलचित्रमा एउटै चरित्रमा बस्नु कठिन काम हो ।’

निर्देशक दीपेन्द्र के खनालले पनि चलचित्रको खुलेर तारिफ गरे । अभिनेत्री प्रियंका कार्कीसँगै छोरीको प्रिमियर हेर्न पुगेकी प्रियंकाकी आमा र सानीआमा पनि चलचित्रबाट सन्तुष्ट देखिए । प्रियंकाले निभाएको चरित्रले बेलाबेला आफूलाई रिस उठेको प्रियंकाकी आमाको भनाइ छ ।

‘चलचित्र हेर्दै जाँदा कति पटक रोएँ, रोएँ । समाजमा भइरहेको वास्तविकतालाई पर्दामा उतारेको छ । तर, प्रियंकाको भाग आउँदा भने कताकता रिस पनि उठ्यो । कस्तो छुच्ची रोलमा देखिएको’, उनले हाँस्दै जोडिन्, ‘कताकता रिस उठेको थियो । तर चलचित्र हो, जस्तो पात्रमा पनि फिट हुनुपर्छ । छुच्चीमा पनि सुहाउँदो रहेछ ।’

अरु चलचित्रहरुमा भन्दा भिन्न र रिसाहा पात्रमा प्रस्तुत नायिका कार्कीले पनि हर्षित हुँदै सबैलाई आफ्नो प्रतिक्रिया दिइन् । लेभेन्डर गाउनमा सजिएर आएकी प्रियंका र शिल्पाको दोस्ती प्रिमियरमा छर्लङ देखिएको थियो ।

एकछिन पनि नछुटेका प्रियंका र शिल्पाले चलचित्रबाट आफूहरु सन्तुष्ट भएको अभिव्यक्ति दिए । चलचित्रमा छुच्ची भूमिकामा प्रस्तुत हुनुभएको छ, रियलमा तपाईं कस्तो बुहारी हो भन्ने प्रश्नमा प्रियंकाले तार्किक उत्तर दिइन् ।

उनले सुनाइन, ‘मलाई लाग्छ म व्यवहारिक छु । जे कुरालाई पनि सन्तुलन मिलाएर अघि बढाऊँ भन्ने मान्यता राख्छु । मैले त के भन्ने हो र ? अहिलेसम्म सबैले राम्रै भनिराख्नुभएको छ। कसैको मन नदुखाइ यसरी नै अघि बढ्ने चाह छ ।’

चलचित्र हेरेर निस्किएका नायक आयुष्मान देशराज जोशीले पनि चलचित्र राम्रो रहेको बताए । धेरैचोटि रुन आए पनि आफूले आँसु सम्हालेर हेरेको उनले सुनाए ।

विपीनको चौतर्फी तारिफ आएपछि हामीले उनैलाई प्रश्न ग¥यौं, ‘यो चलचित्र तपाईंले धान्नुभएको भन्न मिल्छ ?’

उनले प्रश्नको खण्डन गर्दै उत्तर दिए, ‘मिल्दैन । म एक्लैले मात्र केही गर्छु भनेर गर्न सकिने काम नै होइन । टीम चाहिन्छ । सबैले आफ्नो ठाउँबाट उत्कृष्ट काम गर्दिनुभयो । त्यसैले मेरो काम पनि राम्रो देखियो । टीमविना म केही होइन ।’

चलचित्र आज रिलिज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *