त्रिकोणात्मक सिरिजअघि कप्तान पौडेल भन्छन्ः टीम एकता राम्रो छ, मनोबल उच्च छ (भिडिओ) – Nepal Press

त्रिकोणात्मक सिरिजअघि कप्तान पौडेल भन्छन्ः टीम एकता राम्रो छ, मनोबल उच्च छ (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले टीम युनिटी राम्रो भएको महसुस गरेको बताएका छन् ।

स्कटल्यान्ड र नामिबियासँगको एकदिवसीय श्रृंखलाअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा रोहितले नेपाली टीमको अहिले युनिटीमात्रै नभएर सबै कुरा राम्रो भएको बताए ।

‘अहिले टीम युनिटीदेखि लिएर सबै कुरा राम्रो भएको छ म आफैँलाई महसुस हुन्छ । खेलाडीहरू सबैको मनोबल राम्रो छ । राम्रो गर्ने भन्ने माइन्ड सेट छ,’ उनले भने ।

मंगलबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरू हुने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको श्रृंखला नेपाललाई एकदिवसीय मान्यता जोगाउन पनि महत्वपूर्ण रहेको छ । लिग २ का ३६ खेलमा नेपालले १२ खेल खेल्न बाँकी छ । जसमा एकदिवसीय मान्यता जोगाउन नेपाल ९ खेल जित्नै पर्ने दबाबमा छ ।

‘यो श्रृंखला हाम्रो लागि धेरै महत्वपूर्ण छ । लिग २ सिरिजको बाँकी खेल कस्तो हुन्छ भन्नका लागि पनि यो सिरिजले निर्णायक भूमिका खेल्छ । १२ खेलमा ९ खेल जित्नै पर्ने दबाव छ, त्यसैले पनि कति महत्वपूर्ण छ यो चार खेल भन्ने बुझ्न सकिन्छ,’ रोहितले भने ।

मनोज प्रभाकरले मुख्य प्रशिक्षकको भूमिका त्यागेपछि नेपालको नयाँ प्रशिक्षकको रूपमा मोन्टी देसाई नियुक्त भएको दुई हप्ता पनि भएको छैन । तर, उनको प्रभाव भने नेपाली टिममा पक्कै परेको देखिन्छ । उनी सन् २०१७ देखि नेपाली क्रिकेट सँग जोडिएका व्यक्ति हुन् । नेपालले यू-१९ एसिया कपमा भारतमाथि ऐतिहासिक जित निकाल्दा नेपालको ब्याटिङ सल्लाहकारको भूमिका मोन्टीले निभाएका थिए । त्यतिबेला यू-१९ मा रहेका अधिकांश खेलाडी अहिलेको राष्ट्रिय टीममा छन् । त्यसैले पनि उनीसँगको सहकार्य राम्रो भएको रोहित बताउँछन् ।

‘श्रृंखलाको लागि राम्रो तयारी भएको छ । पछिल्लो १० दिनमा मोन्टी सरले आएर जुन माहोल बनाउनुभएको छ टीममा जुन विश्वास आएको छ, त्यो एकदमै राम्रो भएको छ । हामीले मोन्टी सरलाई यू-१९ देखिनै चिनिरहेका छौं । नयाँ प्रशिक्षक भनेर हामीलाई केही पनि दबाब महसुस भएको छैन । मोन्टी सरले जुन माहोल टीममा बनाउनुभएको त्यसले धेरै सजिलो भएको छ,’ उनले भने ।

नेपालले फागुन २ गते श्रृंखलाको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । दोस्रो खेल ५ गते स्कटल्यान्डसँग तेस्रो ६ गते नमिबियासँग र अन्तिम खेल ९ गते स्कटल्यान्डसँग खेल्नेछ । घरेलु मैदानमा हुने भएकाले नेपाली टीमलाई धेरै कुराको फाइदा हुने कप्तान रोहित बताउँछन् ।

‘घरेलु मैदान हो हामीलाई फाइदा पक्कै हुन्छ यहाँको पिचसँग हामी अभ्यस्त छौं । यहाँको वातावरण, घरेलु दर्शक सबै कुराले हामीलाई साथ दिन्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *