एकदिवसीय शृंखलाका लागि नेपालको तयारी: त्रिवि मैदानमा अन्तिम दिनको अभ्यास (भिडिओ) – Nepal Press

एकदिवसीय शृंखलाका लागि नेपालको तयारी: त्रिवि मैदानमा अन्तिम दिनको अभ्यास (भिडिओ)

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत नेपालले अब लगातार तीनवटा त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । मंगलबारदेखि घरेलु मैदानमा सुरु हुने शृंखलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी हुनेछन् ।

नेपालमा यो शृंखला सकिएको पर्सिपल्ट नै यूएईमा विश्वकप लिग-२ अन्तर्गत लगातार दुई खेलमा नामिबिया र यूएई भिड्नेछन् । त्यसपछि यूएईमा फेब्रुअरी २७ तारिखदेखि नेपाल, पपुआ न्युगिनी र यूएई सम्मिलित शृंखला हुनेछ ।

मार्च ६ तारिखसम्म उक्त शृंखला खेलेको तीन दिनपछि नेपालमा विश्वकप लिग-२ कै अन्तिम त्रिकोणात्मक शृंखला हुन्छ । त्यस शृंखलामा नेपाल, यूएई र पपुआ न्युगिनी नै भिड्नेछन् । यी तीनवटै शृंखलाका लागि आइतबार नेपाली टोलीको तयारीको अन्तिम दिन थियो । नेपालले सोमबारको विश्रामपछि मंगलबार नामिबियासँग खेल्नेछ ।

नेपालले केही दिनअघि मात्र १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । टोलीमा सन्दीप लामिछानेले पनि पुनरागमन गरेका छन् । बलात्कार आरोपमा जिल्ला अदालतले थुनामा पठाएका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता र विश्वकपको विश्वस्तरको छनोटमा छानिन नेपाललाई आसन्न यी तीन शृंखलाका १२ खेल महत्वपूर्ण छ । सात टोली रहेको विश्वकप लिग-२ को अंक तालिकामा नेपाल २४ खेलबाट १८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । ३२ खेलबाट स्कटल्यान्डको ४६, ओमानको ३६ खेलबाट ४४, नामिबियाको ३० खेलबाट ३७, अमेरिकाको ३६ खेलबाट ३५ र यूएईको २६ खेलबाट २७ अंक छ । पपुआ न्युगिनीको २८ खेलबाट ५ अंक छ ।

टोलीमा सन्दीप लामिछानेको पुनरागमनपछि आत्मविश्वास बढेको खेलाडीहरु बताउँछन् ।

‘उनी विश्वकै होनाहार खेलाडी हुन् । उनको व्यक्तिगत विषय आफ्नो ठाउँमा होला । तर, खेलाडीका रुपमा यतिवेला उनी टोलीका लागि सबैभन्दा बढी चाहिएका व्यक्ति हुन्’, एक खेलाडी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर