‘रविले अमेरिकाबाट फर्किने बेला सँगै जाऔं भनेका थिए, अब उनको समेत सोसल अडिट गर्न आउँछु’ – Nepal Press
नेपाल टक

‘रविले अमेरिकाबाट फर्किने बेला सँगै जाऔं भनेका थिए, अब उनको समेत सोसल अडिट गर्न आउँछु’

भ्रष्टाचारविरोधी अभियन्ता हेम पाठक भन्छन्- नागरिकता विवाद नहुने गरी नेपाल फर्किन्छु, १० वर्ष मलाई कसैले हल्लाउन सक्दैन

काठमाडौं । कुनै बेला हेम पाठकको परिचय राजनीति र पत्रकारिताको मूलधारमै थियो । पचासको दशकमा उनी मिडिया उद्यमी तथा धेरै पत्रकारका अभिभावक थिए । भर्खरै व्यवसायिक पत्रकारिता वामे सर्दै गरेका बेला साप्ताहिक पत्रिकाहरुको बिक्री तथा पाठकको दायरा निकै फराकिलो थियो ।

त्यसैबेला पाठकले अनामनगरस्थित आफ्नो घरमै दुई तीनवटा साप्ताहिक पत्रिकाको कार्यालय बनाइदिएका थिए । पत्रकारितामार्फत उनी राजनीतिक मिसनमा समेत सक्रिय थिए । छलफल, सूर्योदय, सम्बोधन, प्रतिपक्ष जस्ता पत्रिकाको प्रकाशनमा उनको नेतृत्वदायी भूमिका थियो ।

त्यसबेला पत्रिकामार्फत पार्टीको काम हुन्थ्यो । उनी नेकपा एमालेको विभिन्न तहका जिम्मेवारीमा थिए । केपी ओली, माधव नेपाल जस्ता नेताहरु उनको घरमा आउँथे र घण्टौं छलफल गर्थे । उनी राजनीति र पत्रकारितासँगै सामाजिक सुधारका कामहरुमा संलग्न थिए ।

विस्तारै उनको दायरा सामाजिक अभियन्ता र भ्रष्टाचारविरोधी अभियानमा पुग्न थाल्यो । अचानक उनी नेपाल छाडेर साठीको दशक सुरु हुँदैगर्दा अमेरिकातर्फ लागे । बोलीचालीको भाषामा उनी अमेरिकामा भासिएका थिए । तर, अमेरिका पुगेर उनले आफूले नेपालमा थालेको अभियानलाई नयाँ रुप दिए ।

अमेरिकामा व्यवसाय गरेर कमाएको केही रकम उनले नेपालमा भ्रष्टाचारविरोधी अभियानमा लगाउने उद्देश्यले जीवनसाथी सरिता पाठकसँग मिलेर हेम सरिता पाठक फाउण्डेशन स्थापना गरे । सोही फाउण्डेशनले नेपालमा भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार, स्रष्टा, सर्जकहरुलाई विभिन्न विधाका पुरस्कार प्रदान गर्दै आएको छ ।

उनले हेम सरिता फाउण्डेशनमार्फत नै विभिन्न ठाउँमा विद्यालय निर्माणका साथै शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् । अहिले उनी राजनीतिमा छैनन् । तर, अब नेपाल फर्केर राजनीतिक दलका नेताहरुको समेत सोसल अडिट गर्ने योजनामा छन् ।

प्रस्तुत छ, हेम सरिता पाठक फाउण्डेशनका संरक्षकसमेत रहेका अभियन्ता हेम पाठकसँग गरिएको कुराकानी नेपाल टकमाः

– तपाईंको पृष्‍ठभूमिबारे कुरा गरिरहँदा मलाई ‘नोस्टालजिक’ महसुस भइरहेको छ । हामी पत्रकारितामा वामे सर्दैगर्दा तपाईंको संरक्षकत्व र अगुवाइमा सञ्चालन हुने पत्रिकामा प्रशिक्षार्थीको रुपमा काम गर्दै थियौं । अहिले तपाईंको आफ्नै विगत नियाल्दा तपाईंले देशमात्रै छाड्नुभएको कि क्षेत्र नै परिवर्तन गर्नुभएको हो ?

देश त परिस्थितिवश छाडियो । त्यो बेला तपाईंहरुसँग नेपालमा बसेर एकै ‘फिल्ड’मा काम गरेका थियौं । परिस्थितिले अहिले म भिन्न मुलुकमा छु । भिन्न मुलुकमा प्रवेश गरिसकेपछि भिन्न क्षेत्रमा सक्रिय रहनु स्वाभाविक थियो । परिवेश र अवस्थाअनुसार क्षेत्र पनि परिवर्तन गर्नुपर्ने अवस्था आइलाग्यो ।

– आजभन्दा दुई दशकअघिको समयमा फर्कने हो भने तपाईं एक जल्दोबल्दो नेता हुनुहुन्थ्यो । नेपालको वामपन्थी आन्दोलनको एक नेताका रुपमा नेकपा एमालेको तेह्रथुम-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षको रुपमा नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो । सँगसँगै वर्तमान नेपाली मिडियामा सम्पादकको भूमिकामा रहेका अधिकांश सम्पादकहरुलाई व्यवसायिक सुरक्षा प्रदान गर्ने न्युज मेकिङको केन्द्रमा हुनुहुन्थ्यो । ती यावत् कुरा सम्झँदा केही कुरा लुज गरेजस्तो लाग्छ कि लाग्दैन ?

मलाई केही कुरा ‘लुज’ गरे जस्तो वा गुमाएको जस्तो लागेको छैन । त्यसबेला हामीसँग सम्बन्ध भएका सबै साथीहरु अहिले पनि हामीसँगै हुनुहुन्छ । कोही पत्रकारितामा हुनुहुन्छ, कोही सांसद, कोही मन्त्री बन्नुभयो । पत्रकारिताकै पनि नेतृत्वदायी तहमा रहेर काम गरिरहनुभएको छ । नेपालको पत्रकारिता क्षेत्रमा सँगै काम गरेका साथीहरु अहिले ‘लिडिङ पोजिसन’मा हुनुहुन्छ । राजनीतिमा पनि धेरै साथीहरु लिडिङ पोजिसनमा पुग्नुभएको छ । यस हिसाबले हाम्रो पुस्ता अहिले जुन ठाउँ वा ओहोदामा छ, त्यस हिसाबले केही गुमाएको वा छुटेको महसुस हुँदैन । हाम्रो पुस्ता त्यहाँ पुग्नु भनेकै म पनि पुग्नु हो ।

– ‘नेपालमै बसेको भए मन्त्री हुन्थें, सांसद हुन्थें, ‘लिडिङ पोजिसन’मा पुग्थें’ भन्ने कुरा कहिलेकाहीं मनको अन्तरकुन्तरमा आउँछ कि आउँदैन ?

कुनै पदमा वा शक्तिमा जानुपर्छ भनेर मलाई कहिल्यै लागेन । मैले त्यस्तो सोच्दा पनि सोचिनँ । कर्म गर्दा पनि त्यस्तो आश गरेर गरिनँ । त्यसरी सोचेको भए सम्भावनाहरु त्यसवेला प्रशस्त थिए । एउटा पार्टीले टिकट दिने वा चुनावमा उठ्ने र जित्ने÷हार्ने कुरा अर्कै पक्ष हो । त्यतातिरको बाटोमा म कहिल्यै हिँडिनँ ।

कुनै पदमा वा शक्तिमा जानुपर्छ भनेर मलाई कहिल्यै लागेन । मैले त्यस्तो सोच्दा पनि सोचिनँ । कर्म गर्दा पनि त्यस्तो आश गरेर गरिनँ । त्यसरी सोचेको भए सम्भावनाहरु त्यसवेला प्रशस्त थिए ।

– २०५६ सालमा पार्टीले टिकट दिँदा पनि तपाईंले अस्वीकार गर्नुभएको थियो भन्ने सुनिन्छ !

हो । पार्टीले टिकट दिँदा पनि म उठ्न चाहिनँ । मैले अघि नै भनिसकें नि, मैले कुनै पद पाउनुपर्छ भनेर कहिल्यै लागेन । जति काम गरें, निःस्वार्थ ढंगले गरें ।

– नेपालमा राजनीतिक रुपले सक्रिय व्यक्तिहरु प्रवासमा गएपछि पार्टीकै कुनै संगठनमा सक्रियतापूर्वक लागेको देखिन्छ । तपाईं चाहिँ यहाँबाट हिँड्दा पार्टी नै छाडेर हिँड्नुभयो वा त्यहाँ गएर पनि पार्टीको कुनै संगठनमा सक्रिय रहनुभयो ?

मैले पार्टी छोडेको छैन । म अहिले कुनै अमूक पार्टीको सदस्य छैन । तर, म वामपन्थी हुँ । मेरो सोच वामपन्थभन्दा बाहिर जाँदैन । तर, मलाई विस्तारै मेरो चेतनाले राजनीतिमा लाग्नु हुँदैन भन्ने किन लागेको हो भने म अहिले सामाजिक आन्दोलनमा सक्रिय छु ।

– हिजो तपाईंसँग भएका पार्टीहरु आज २/३ वटा भएका छन् । कुनै कालखण्डमा तपाईंका नेता रहनुभएका माधवकुमार नेपालको एउटा पार्टी छ । केपी ओलीको अर्को पार्टी छ । वामदेवको पनि अर्को अभियान छ । आजको मितिमा तपाईंले यदि भोट हाल्नुहुन्थ्यो भने कसलाई हाल्नुहुन्थ्यो ?

मैले केही वर्षदेखि निरन्तर भन्दै आएको छु, यदि नेपाल बनाउने हो वा नेपाली समाजलाई रुपान्तरण गर्ने हो भने कसैले पनि पार्टी भनेर पुरातनवादी सोच राखेर भोट हाल्नुहुँदैन । अहिलेको सांसदको खिचडी नै हेर्नुहोस् न ! तलका मतदाताले आफ्नो पार्टी भनेर भोट हालेर सदनमा पठाए । तर, सदनमा आएपछि सत्ताको किनबेच खुलेआम जस्तै देखियो ।

जनताको विश्वासले निर्माण भएको पार्टीको लोगोसमेत बेचेर खाए । तसर्थ लोगो बेच्ने पार्टीहरुलाई भोट हाल्नुपर्छ भनेर म भन्दिनँ । तैपनि सबै मान्छे बेइमान र नराम्रा भने छैनन् । त्यसैले मैले विचार, सिद्धान्त र कार्यशैलीले सबैभन्दा कम भ्रष्ट मान्छेलाई भोट हाल्छु । साथै म सबै मतदातालाई कम भ्रष्ट मान्छेलाई भोट दिनुस् भनेर आह्वान पनि गर्छु ।

– तपाईंले अलिकति प्रश्नलाई ‘इस्केप’ गर्न खोज्नुभयो । अहिलेका एकदेखि ८९ सीटमा जितेका पार्टीमध्ये सुशासनको कोणबाट छान्नुपरेमा तपाईंले कुन पार्टी छान्नुहुन्छ ?

सुशासनको एङ्गलबाट भन्दा म कुनै व्यक्ति वा पार्टीको नाम लिन्नँ अहिले । किनभने मेरो रिडिङ गलत पनि हुनसक्छ । ती पार्टीभित्रका सबैभन्दा स्वच्छ छवि भएका मानिसलाई भोट दिनुपर्छ र दिन्छु मात्र भन्न सक्छु ।

– नेपाल आएपछि तपाईंले हिजोको सहयात्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेलाई मात्रै भेट्नुभयो । उहाँबाट केही सम्भव छ भनेर भेट्नुभएको हो कि ?

रवि अमेरिकाबाट नेपाल आउने वेला मेरो घरमा आएर भनेका थिए, ‘दाइ, तपाईं र म नेपाल गएर यो भ्रष्टाचारविरुद्धको अभियानलाई गाउँ-गाउँमा लैजाऔं । तपाईं र म गाउँ जाऔं । पाँच वर्षमा हामी कायापलट गर्न सक्छौं ।’ त्यही भएर उसले ठीक गरिरहेको छ । तर, कहिल्यै पनि भ्रष्टाचार नगर्नू भनेरमात्रै भेटेको हुँ ।

– भनेपछि उहाँलाई पनि तपाईंले अहिले नम्बर दिने बेला भएको छैन ?

अहिले पर्ख र हेरको स्थिति छ ।

– रविजीले देश फर्कौं भन्दा तपाईं आउनुभएन । अबको कुनै कालखण्डमा तपाईं र रविजीलाई सँगै देख्न सकिने सम्भावना कत्तिको छ ?

मलाई त्यो वेला नै आउने मन थियो । तर, छोरीहरुको पढाइ सकिएको थिएन । व्यवसायिक दृष्टिकोणले पनि व्यवसाय चटक्कै छाडेर हिँडिहाल्ने अवस्था थिएन । मलाई नेपाल आएर ‘एन्टी करप्सन मुभमेन्ट’ चलाउन मन थियो । भ्रष्टाचारीलाई कसरी लखेट्ने वा कसरी सामाजिक बहिस्कार गर्ने भनेर सन्देश दिने मन थियो ।

म अहिले कुनै अमूक पार्टीको सदस्य छैन । तर, म वामपन्थी हुँ । मेरो सोच वामपन्थभन्दा बाहिर जाँदैन । तर, मलाई विस्तारै मेरो चेतनाले राजनीतिमा लाग्नु हुँदैन भन्ने किन लागेको हो भने म अहिले सामाजिक आन्दोलनमा सक्रिय छु ।

अहिले मेरो परिस्थितिमा बदलाव आइसकेको छ । छोरीहरु लगभग सेटल्ड भइसके । मेरो व्यवसाय म अमेरिकामा नहुँदा पनि फरक नपर्ने अवस्था छ । अब करिब ७५ प्रतिशत नेपाल बसाइ सम्भव छ । अब म त्यो समय नेपालभरि सांस्कृतिक कार्यक्रम र आमसभा गर्दै हिँड्छु ।

– अनि घण्टी पनि बजाउने ?

म घण्टी बजाउदिनँ । किनभने घण्टीले भ्रष्टाचारविरोधी अभियानमा के गर्छ भन्ने हेर्न बाँकी नै छ ।

– यहाँ ७५ प्रतिशत टाइम दिन्छु भन्नुभयो । तर, रविजीको नागरिकता प्रकरणले तपाईंलाई सचेत त पक्कै बनाएको होला ?

म नागरिकता विवाद नहुने गरी आउँछु । म अहिले एनआरएन हो । मैले दश वर्ष नेपाल बस्ने गरी एनआरएन कार्ड लिएको छु । मलाई दश वर्ष कसैले पनि केही हल्लाउन सक्दैन । त्यसकारण म त्यस्तो विवादमा आउँदिनँ ।

– भ्रष्टाचारविरोधी अभियान कहिलेकाहीं विवादमा समेत आउने गरेको छ । युट्युबमा भाइरल बन्नेहरु, एकदिन गएर छड्के भन्दै सरकारी कर्मचारीलाई ‘डिमोरलाइज’ गर्ने परिपाटी छ । तपाईं त्यसको विपरीत फाउण्डेसन बनाएर काम गरिरहनु भएको छ । तपाईंलाई यो हेम सरिता फाउण्डेसन बनाएर अभियान चलाउने सोच के कसरी आयो ?

जब म नेपालमा थिएँ तब नेपालमा भ्रष्टाचार गर्नुहुँदैन भनेर कोही अघि सर्दैन थियो । त्यसवेला हाम्रो सामाजिक विकास भन्ने संस्था थियो । त्यो संस्थामार्फत् अनामनगरका वडाभरिका साथीहरुलाई आमन्त्रण गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा पुगेर पनि आमसभा गरेका थियौं । त्यसैले म अमेरिका पुगेपछि युट्युब वा सामाचार हेरेर यो अभियान सुरु गरेको होइन ।

– फाउण्डेसनमार्फत चाहिँ तपाईंले किन सुरु गर्नुभयो ?

मलाई नेपालमै केही न केही गर्न मन लाग्यो । नेपालको समाज रुपान्तरण गर्नुपर्छ भन्ने लाग्यो । अमेरिकामा राजनीति गर्न मन लागेन । नेतासँग फोटो खिचाएर हाल्न मन लागेन । त्यही कारण आफ्नो बलबुताले जे गर्न सकिन्छ त्यही गरौं भनेर हो ।

हामीले खासमा धेरै त के नै गरेका छौं र ? अलिकति शिक्षा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध काम गरेको हो । यही कामका लागि सन् २०१० मा फाउण्डेसन स्थापना गरेका हौं ।

– अहिलेसम्म तपाईंहरुले गरेका कामहरु विस्तारमा बताइदिनुस् न !

हाम्रो फाउण्डेसनकै विधानमा लेखेका छौं, ‘एजुकेसन एण्ड एन्टी करप्सन ।’ हामीले काम गर्ने क्षेत्र यिनै दुइटा हुन् । काठमाडौंको साँखुमाथिको तामाङ बस्ती (भुमारचोक) मा बन्द हुन लागेको निमावि विद्यालय थियो । त्यसलाई एडप्ट गरेर हामीले ११ वर्ष चलायौं । बाजुराका तीनजना बच्चालाई १-२ कक्षादेखि काठमाडौं ल्याएर दुई जनालाई सब-इन्जिनियर बनायौं । अर्को एकजनाले अहिले प्लस टु सकायो । झापाको बिर्तामोड क्षेत्रका १३ जना विद्यार्थीलाई प्लस टु पास गरायौं । साँखुमाथिकै घुमार चोकमा गरिखान दश परिवारलाई पाँच-पाँच बाख्रा दियौं । त्यसवेला हामीले १५ लाख जति वितरण गरेका थियौं ।

– तपाईंहरुको आर्थिक स्रोत चाहिँ के हो ?

मलाई विद्यालयको भवन बनाउन मेरो एकजना साथीले सहयोग गर्नुभएको थियो । एक तला निर्माण गर्न उहाँबाट आर्थिक सहयोग प्राप्त भयो । अहिले उहाँको नामबाटै सो भवनको नामकरण गरिएको छ । पछि तला थप्न मैले आफैंले खर्च गरें ।

सुरुवातको दिनमा आफ्नै साथीहरुसँग सहयोग मागेको हुँ । उहाँहरुले सहयोग पनि गर्नुभएको हो । बोले जति गर्नुभएन, त्यो छुट्टै पक्ष हो । त्यो वेला हामीले १०-१५ हजार डलर जति उठाएका थियौं । अहिले हामीले पैसा उठाउने गरेका छैनौं ।

हाम्रा स्रोतहरुलाई एक पैसा पनि भ्रष्टाचार नगरी सदुपयोग गर्ने हो भने यो संसारकै सुन्दर विकसित मुलुक बन्न सक्छ भन्ने अभिप्रायले अभियानको थालनी गरेको हो ।

अहिले हामीले पहिलो चरणको काम सक्यौं । पहिलो चरणको काम सकिएसँगै धेरैले सहयोग दिन चाहनु भएको छ । तर, हामीले सहयोग लिएका छैनौं । दोस्रो चरणमा जाँदैगर्दा कतै पूर्वाधार विकास गर्नुपर्ने अवस्था आयो भने म साथीभाइलाई ‘रिक्वेस्ट’ गर्छु ।

– नेपालमै तपाईं भ्रष्टाचारविरोधी अभियानमा हुनुहुन्थ्यो । यो अभियानमा लाग्नुको कारण के हो ? कतै तपाईंले अपेक्षा गरेको व्यक्ति नै भ्रष्टाचारमा लिप्त भएकाले त होइन ?

म कुनै व्यक्तिको कारणले यो अभियानमा लागेको होइन । तर, मलाई के लाग्छ भने नेपाल यति सुन्दर र सानो मुलुक हो । यहाँ हाम्रा स्रोतहरुलाई एक पैसा पनि भ्रष्टाचार नगरी सदुपयोग गर्ने हो भने यो संसारकै सुन्दर विकसित मुलुक बन्न सक्छ भन्ने अभिप्रायले अभियानको थालनी गरेको हो ।

– अब नेपालकै लागि केही गर्छु भनेर फर्किंदै हुनुहुन्छ । नेपालमा तपाईं नितान्त अभियन्ताकै रुपमा काम गर्ने हो वा राजनीतिक हिसाबमा पनि संलग्न हुने हो ?

म अभियन्ताकै रुपमा रहन्छु । म यहाँ आइसकेपश्चात कुनै आयमूलक व्यवसायमा संलग्न हुँदिनँ । म राजनीति पनि गर्दिनँ । तर, राजनीति गर्ने स्वच्छ छविको मान्छेबारे गीत गाउने, कविता लेख्न लगाउने, चुनावमा उनीहरुका लागि भाषण पनि गरिदिने र भ्रष्टाचारीको पहिचान गरेर सामाजिक बहिष्कार गर भनेर लाग्ने हो ।

– व्यक्ति किटान गरेर त्यसरी कसैलाई भ्रष्टाचारी भन्न पाइन्छ र ?

पाइन्छ । हिजो मेरो गाउँमा जन्मेको एउटा गरीब व्यक्ति जो कुनै व्यवसायमा संलग्न छैन, जागिर छैन । केवल राजनीतिमा लागेको छ । तर, आज अर्बपति छ । उसलाई सबैको अघि बोलाएर प्रश्न गर्ने हो, ‘यो पैसा तैंले कहाँबाट ल्याइस् ? तेरो स्रोत के हो ?’ अनि उसले त्यो पैसाको कर तिरेको छ वा छैन भन्ने खोजी गर्ने हो । म अमेरिकाको सिस्टम बुझेर आएको मान्छे हुँ । एक पैसा पनि ढाँटेर ढाँटिन्न ।

– यो अभियानमा लाग्दै गर्दा तपाईंलाई एकदमै निराश बनाएको र तपाईंलाई आशा लागेको व्यक्ति कोही छ ?

व्यक्तिलाई किटेर भन्दा अलि नराम्रो हुन्छ । म त्यो फेजमा पुगिसकेको छैन । ममात्र यति भन्छु, कम्युनिष्ट पार्टीबाट आएको एउटा नेता, जो हिजो गरीब थियो । जसको नारा नै गरीबहरुलाई गाँस, बास र कपासको बन्दोबस्त गरिनुपर्छ भन्ने थियो । तर, आज उसमा बदलाव छ । त्यसैले मलाई आफ्नै कम्युनिष्ट पार्टीसँग निराशा छ ।

– अनि आशा चाहिँ कोबाट छ ?

‘नन करप्ट’ मान्छेहरुसँग छ ।

कम्युनिष्ट पार्टीबाट आएको एउटा नेता, जो हिजो गरीब थियो । जसको नारा नै गरीबहरुलाई गाँस, बास र कपासको बन्दोबस्त गरिनुपर्छ भन्ने थियो । तर, आज उसमा बदलाव छ । त्यसैले मलाई आफ्नै कम्युनिष्ट पार्टीसँग निराशा छ ।

– तपाईं नेपालमा आएर हरेक पार्टीका नेता, कर्मचारीको ‘सोसल अडिट’ गर्ने हो ?

हो । तर, म कर्मचारीहरुलाई दोष नै दिन्नँ । किनभने नेता भ्रष्ट नभइकन कर्मचारी भ्रष्ट हुनै सक्दैन । यस अर्थमा मेरो निशाना भनेको राजनीतिक नेता नै हो । राजनीति गर्ने मान्छेले पदमा पुगेपछि अकुत सम्पत्ति कमाएका छन् ।

– अहिलेका प्रधानमन्त्रीले पनि भन्नुभएको छ, ‘हामीलाई गल्ती गर्ने छुट छैन’ होइन र ?

उहाँको त एक इन्ची पनि कुरा पत्याउदिनँ म । उहाँको विगत हेर्दा उहाँलाई पत्याउने स्थिति छैन । जहाँसम्म रवि लामिछने र राजेन्द्र लिङ्देनको कुरा छ, उहाँहरुलाई हामीले हेर्न बाँकी छ ।

– केपी ओलीलाई चाहिँ पत्याउनुहुन्छ त ?

म केपी ओलीलाई पनि पत्याउँदिनँ । उहाँबारे तपाईंले कुरा निकालिहाल्नुभयो । उहाँ मेरो नातेदार पनि हुनुहुन्छ । म नेपाल बस्दा उहाँ मेरो सबैभन्दा नजिकको आदरणीय मान्छे हो । उहाँ पहिलोपटक प्रधानमन्त्री हुँदा मैले टेक्ससमा क्यान्डल लाइट बालेको छु । त्यतिबेलाको भाषण अहिले पनि युट्युबमा छ ।

त्यहाँ मैले भनेको छु, ‘अब नेपालमा भ्रष्टाचार हुँदैन । एउटा ननकरप्ट मान्छे प्रधानमन्त्री भयो । हामीले उहाँलाई सहयोग गर्नुपर्छ ।’ तर, दोस्रोपटक प्रधानमन्त्री हुँदा मैले उहाँका जे गतिविधि देखें, त्यसले उहाँलाई विश्वास गर्ने स्थिति पैदा गरेको छैन । उहाँलाई मैले पत्याउन उहाँले मलाई कन्भिन्स गर्नुपर्‍यो । तर, त्यो धेरै गाह्रो छ ।

– तपाईंले अहिले नयाँ आएकाहरुलाई पनि शंका सुविधा दिनुभएको छ । तर, समर्थन गरिहाल्नुभएको छैन । किन ?

समर्थन गर्ने ठाउँ नै छैन नि ! हिजो प्रधानमन्त्री हुँदै गर्दा कसले ‘म घुस खान्नँ र खान पनि दिन्नँ’ भन्नु भएको थिएन र ? तर, उहाँहरु प्रधानमन्त्रीबाट निस्किँदा उहाँहरुको किचनमा को को तस्करहरु जान्थे भन्ने हामीलाई जानकारी छ । कुन चाहिँ प्रधानमन्त्रीको पालामा अहिले समातिएका तस्करहरु किचनमा पुग्दैनथे ? अनि मुखले भनेरमात्र हुन्छ ? व्यवहारमा काम पो हुनुपर्छ त !

– तपाईंको एउटा उर्बर समय सकिएको अवस्था छ । नेपाल आएर सार्वजनिक पद धारण गर्दिनँ भन्नु हुन्छ । नेपाल आएर यो दुःख किन गर्न चाहनुहुन्छ ?

समाज रुपान्तरणका लागि । जसले खान पाएको छैन, जोसँग सिटामोल किन्ने पैसा छैन, जसले स्कुलमा गएर पढ्न सक्ने अवस्था छैन । ती परिवार र बच्चाहरुका लागि म नेपाल फर्केको हुँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर