प्रदेश खारेजीको अभियान्तालाई प्रदेश बलियो बनाउने घरको चाबी – Nepal Press

प्रदेश खारेजीको अभियान्तालाई प्रदेश बलियो बनाउने घरको चाबी

हेटौँडा । बहुदल कि पञ्चयात शासन सही भन्ने विवाद चरम उत्कर्षमा पुगेको समयमा २०३६ को जनमतसंग्रह ताका पञ्चहरुको विद्यार्थी संगठनको रुपमा रहेको राष्ट्रिय छात्र संघको केन्द्रीय अध्यक्ष भएर देशभर पञ्चयातको पक्षमा वकालत गरेका नेता भुवन पाठक नेपाली राजनीतिमा देखा परेका विभिन्न घटनाक्रमसँग सात्क्षातकार गर्दै संघीय गणतन्त्र नेपालको एउटा ‘स्टेट’ अर्थात वागमती प्रदेशको सभामुखका निर्वाचित भएका छन् ।

अझ रोचक कुरा के छ भने गणतन्त्र र संघीयता खारेजीको अभियान्ताको रुपमा रहेका उनी गणतन्त्र र संघीयताको खरो समर्थक नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा सभामुख चुनिए ।

बहुदलको स्थापनापछि पूर्व पञ्चहरुको समूहले निर्माण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवक संगठनका संस्थापक अध्यक्षदेखि राजा ज्ञानेन्द्रले नेपालको सत्ता आफ्नो कब्जामा लिँदा सहायक शिक्षामन्त्री समेत भएका पाठक यतिबेला गणतन्त्रलाई संस्थागत गर्ने, प्रदेश तहलाई थप बलियो बनाउन कानून निर्माण गर्ने थलोको रुपमा रहेको प्रदेशसभाको सभामुख बनेका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनको पतनसँगै बनेको नयाँ सात दलीय गठबन्धनको एउटा घटक बन्न पुगेको राप्रपाले वागमतीमा सभामुख पाएपछि उनै पाठक आज कुल ११० सांसदमध्ये ६२ मतसहित विजयी बने । राजतन्त्रको वकालत र प्रदेश खारेज हुनुपर्ने माग राख्दै चुनावमा होमिएको राप्रपा र उनले अब गणतन्त्रलाई बलियो बनाउने विषयमा काम गर्नुपर्ने बाध्यता नयाँ गठबन्धनले ल्याइदियो ।

२०६४ सालमा कमल थापा नेतृत्वको राप्रपा नेपालमा लागेर उनले पार्टी संगठनमा काम गरेपनि जननिर्वाचित पदमा पुगेको उनको यो पहिलो अवसर हो । २०७८ मा राप्रपाको काठमाडौंमा भएको महाधिवेशनमा थापा पक्षबाट महामन्त्रीमा उठेर विजयी भएका पाठकले थापाले पार्टी छाड्दा भने लिङदेनलाई साथ दिए । थापा पक्षबाट निर्वाचित हुँदा पनि आफूलाई साथ दिएपछि उनलाई लिङ्देनले प्रदेशको समानुपातिक कोटाबाट सांसद बनाएसँगै उनले पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गर्ने मौका प्राप्त गरेका हुन् ।

राप्रपाको संसदीय दलको नेताको रुपमा चर्चामा रहेका पाठक समानुपातिकबाट सांसद भएको भन्दै राप्रपाले प्रत्यक्ष निर्वाचित सांसदलाई दलको नेता बनाएपछि उनलाई सभामुखको अवसर जुरेको हो । राप्रपाले गत मंसिर ४ को निर्वाचनको प्रचारको क्रममा मौन अवधि सुरु हुनुभन्दा ३ दिन अघिमात्र हेटौँडामा भएको आमसभालाई सम्बोधन गर्दै पाठकले नेपालमा संघीयता आवश्यक नभएको र नेपालले धान्न नसक्ने भन्दै हेटौंडाका जनतासँग संघीयता खारेजीको लागि मत मागेका थिए ।

तर संयोग के छ भने संघीयतालाई बलियो बनाउने घरको चाबी आजबाट उनै पाठकको हातमा पुग्न गएको छ । पाठकले ६६ मत ल्याउँदै सभामुखमा विजयी बन्दा नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ तथा नेपाल मजदुर किसान पार्टीकी सृजाना सायजूले ३ मत प्राप्त गर्न सफल बनेकी छन् । पाठकले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट सपथ ग्रहण गरेर सभामुखको पदाभर समेत सम्हालेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर