वागमती सभामुखका दाबेदार तीनैजना समानुपातिकतर्फका- राप्रपाका पाठक ‘कन्फर्म’ – Nepal Press

वागमती सभामुखका दाबेदार तीनैजना समानुपातिकतर्फका- राप्रपाका पाठक ‘कन्फर्म’

हेटौँडा । वागमती प्रदेशको सभामुखको लागि तीनजना सांसदले उम्मेदवारी दर्ता गरेका छन् । पुस २९ गते हुने सभामुख निर्वाचनको लागि नेपाली कांग्रेसका शिवराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट सृजना सायजूले उम्मेदवार दर्ता गरेका छन् ।

सभामुखको उम्मेदवारी दिने सांसदहरुमा यो पटक एउटा संयोग जुरेको छ । तीनैजना समानुपातिक सांसद हुन् । सत्ता गठबन्धनको बहुमत पुग्ने भएकाले सभामुखमा पाठक निर्वाचित हुने निश्चित छ । पाठक राप्रपाका केन्द्रीय महामन्त्री पनि हुन् ।

राप्रपा सरकारमा नजाने र प्रतिपक्षको भूमिकामा रहने अड्कल गरेर राप्रपाले केन्द्रीय तहको उच्च स्थानमा रहेका पाठकलाई प्रदेशसभामा प्रतिनिधित्वको लागि समानुपातिक उम्मेदवार बनाएको थियो । तर राप्रपाले वागमतीमा सरकार निर्माणको महत्वपूर्ण भूमिका निर्वाह गर्नेगरी १३ सीट ल्यायो र सत्ताको चाबी आफ्नो हातमा रहने हैसियत बनायो ।

केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै राप्रपा वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने पार्टी बन्न पुग्यो । तर पाठक दलको नेता भएनन् । कारण मुख्यमन्त्रीको लागि राप्रपाको बलियो दाबी थियो तर पाउने निश्चित नभएपछि उसको नजर सभामुखमा थियो ।

सोही कारण राप्रपाले प्रत्यक्षमा निर्वाचित केन्द्रीय सदस्य उद्धब थापालाई सरकारको नेतृत्वको लागि दलको नेता बनायो भने पाठकलाई उच्च पद रहेको सभामुखको लागि ‘रिर्जभ’ राखेको थियो । र अन्यमा उनै रिजर्भ राखिएका नेता पाठकले सत्तारुढ गठवन्धनको प्रतिनिधित्व गर्दै सभामुखमा उम्मेदवारी दर्ता गरे ।

प्रदेशको पहिलो दलको हैसियत बनाएको नेपाली कांग्रेसले पनि धेरै चर्चामा नरहेका र धादिङबाट समानुपातिकमा निर्वाचित भएका शिबराम अधिकारीलाई उम्मेदवार बनायो । अहिलेसम्मको अवस्था निर्वाचनको पुस २९ अर्थात भोलिसम्म रहे अधिकारी ‘पराजित’ हुने निश्चित छ । सोही कारण कांग्रेसबाट अन्य व्यक्तिहरुको दाबी परेन र समानुपातिकबाट निर्वाचित अधिकारीलाई सहज उम्मेदवार बनाइयो ।

नेपाल मजदुर किसान पार्टीले यो पटक वागमती प्रदेशमा ३ वटा सीट जितेको छ । गतवर्ष एक प्रत्यक्ष र एक समानुपातिक गरि दुई सिट जितेको नेमकिपाले यो पटक एक प्रत्यक्षसहित दुई समानुपातिक सिट जित्न सफल भएको छ । सधैँ प्रतिपक्षमा रहने नेमकिपाले यो पटक प्रस्तावक र समर्थक पुगेपछि समानुपातिक उम्मेदवार सृजना सायजूलाई सभामुखको उम्मेदवार बनाएको छ । सायजू यस अघि पनि समानुपातिकबाट प्रदेशसभा सदस्य थिइन् ।

वागमती प्रदेशमा ११० सटि रहेको छ । सत्ता गठबन्धनको समर्थन पाएका पाठकले एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टी को २ गरी ७० सांसदको साथ पाएका छ्न भने कांग्रेसका अधिकारीलाई कांग्रेसको ३७ तथा नेमकिपाको सायजुलाई नेमकिपाको ३ सांसदको समर्थन रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर