कांग्रेसले ढोक्सा थापेको कि प्रचण्डले ‘रिजर्भ फोर्स’ राखेको ? – Nepal Press

कांग्रेसले ढोक्सा थापेको कि प्रचण्डले ‘रिजर्भ फोर्स’ राखेको ?

प्रचण्डको प्रष्ट सन्देश- आजको सत्ता सहयात्रीसँग हिजोको मतभेद कायमै छ, हिजोको गठबन्धनका सहयात्रीसँग मुद्दामा सँगै छौं

प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अत्यन्तै शालीन र कसैलाई छेडाछाड नगर्ने लिखित मन्तव्यसहित विश्वासको मत मागेलगत्तै एकाएक रोष्टममा दोहोरी चल्यो ।

प्रधानमन्त्रीलगत्तै रोष्टममा पुगेका कांग्रेस सभापति शेरवहादुर देउवाले सत्तापक्षका प्रमुख नेता केपी शर्मा ओलीमाथि फायर खोल्दै फेरि संसद विघटनको धम्कीले प्रधानमन्त्रीको परीक्षा शुरु भएको चेतावनीपूर्ण वक्तव्य दिए ।

देउवालगत्तै रोष्टममा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई सम्बोधन गरेलगत्तै देउवालाई यति धेरै जवाफ दिए कि,यसले संसदमा शीर्ष बहस नै चल्यो । आफूले पटक-पटक संसद विघटन गरेर राजालाई सत्ता बुझाएकाले हरेक विघटनलाई प्रतिगमन देख्ने रोग देउवामा रहेको उनको जवाफ थियो ।

सामान्य बुझाइ के हो भने, आफूलाई धोका दिएर ओलीतिर गएका प्रचण्डप्रति देउवाको गुनासो वा आक्रोश हुनुपर्ने हो । तर, देउवामा त्यो फिटिक्कै देखिएन, बरु ओलीप्रति आक्रामक । यसबाट के पुष्टि हुन्छ भने देउवालाई धोका प्रचण्डले होइन ओलीले दिएका हुन् ।

प्रतिनिधिसभाका दुई मुख्य ठूला दलका शीर्ष नेताबीचको दोहोरीमा प्रधानमन्त्री प्रचण्डको ‘बडी ल्याङ्ग्वेज’ हेर्न कतिले भ्याए कुन्नि ? उनी देउवा बोल्दा रिल्याक्स मुडमा देखिन्थे भने ओली बोल्दा कहिले उत्साही, कहिले अलमल जस्तो ।

सामान्य बुझाइ के हो भने, आफूलाई धोका दिएर ओलीतिर गएका प्रचण्डप्रति देउवाको गुनासो वा आक्रोश हुनुपर्ने हो । तर, देउवामा त्यो फिटिक्कै देखिएन, बरु ओलीप्रति आक्रामक । यसबाट के पुष्टि हुन्छ भने देउवालाई धोका प्रचण्डले होइन ओलीले दिएका हुन् ।

तस्बिर : रासस

देउवा र ओलीका लागि प्रचण्ड साझा र स्वीकार्य व्यक्ति प्रमाणित भएका छन् । तर, संसदको रोष्टममा तीनैजना नेताले दिएका अभिव्यक्तिले नेपालमा फेरि ‘नियन्त्रित अस्थिरता’, भूराजनीतिक चलखेल र देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले भनेजस्तै वैधानिक दुर्घटनाका खतरालाई कायमै राखेका छन् ।

कांग्रेसले प्रधानमन्त्री नदिएको झोकमा बालकोट पुगेका प्रचण्ड प्राविधिकरूपमा केपी ओलीसँग रहे पनि भावनात्मक रूपमा देउवाबाट अलग हुन सकेका छैनन् । सामान्य असमझदारीमा ‘ब्रेकअप’ भएको झोकमा अर्कैसँग बिहे गरेका युवा-युवतीको भावनात्मक सम्बन्ध ‘एक्स’ सँगै भएजस्तै अवस्था हो देउवा-प्रचण्ड सम्बन्ध ।

संसद विघटनको कुरा संसदमा बहस भयो र प्रचण्डले प्रष्टरूपमा गठबन्धनमा रहेका दलसँग कैयौं कुरामा असहमति रहेको र गठबन्धन बाहिर रहेका दलहरूसँग कैयौं कुरामा आज पनि सहमति रहेको भनेर धेरै अर्थपूर्ण संकेत गरेका छन् ।

अर्थात् प्रचण्डको प्रष्ट सन्देश छ- आजको सत्ता सहयात्रीसँग हिजोको मतभेद कायमै छ, हिजोको गठबन्धनसँग आज पनि ती मुद्दामा सहमति छ ।

प्रचण्डको मनोदशा र अहिलेको दिशा

कांग्रेसले प्रधानमन्त्री नदिएको झोकमा बालकोट पुगेका प्रचण्ड प्राविधिकरूपमा केपी ओलीसँग रहे पनि भावनात्मक रूपमा देउवाबाट अलग हुन सकेका छैनन् । सामान्य असमझदारीमा ‘ब्रेकअप’ भएको झोकमा अर्कैसँग बिहे गरेका युवा-युवतीको भावनात्मक सम्बन्ध ‘एक्स’ सँगै भएजस्तै अवस्था हो देउवा-प्रचण्ड सम्बन्ध ।

प्रचण्डका लागि यो संसदको पहिलो पालिमै प्रधानमन्त्री बन्नु अनिवार्य बाध्यता थियो । उनले सकेसम्म साबिककै गठबन्धनबाट बन्न अनेक प्रयत्न गरेका थिए । प्रत्यक्ष जानकारहरू त यतिसम्म पनि भन्छन् कि, प्रचण्डले बालुवाटारमा देउवादम्पतीसमक्ष पत्नी सीता दाहालको हालत सुनाउँदै प्रधानमन्त्री बन्नुपर्ने अवस्थाबारे ‘इमोसनल’ कुरासमेत गरेका थिए ।

प्रचण्डले विश्वासको मत माग्ने क्रममा भनेको ‘प्रधानमन्त्रीको रूपमा म प्रतिशोध, अपमान र निषेध होइन सहमति, सहकार्य र आपसी विश्वासको मानक स्थापित गर्नेछु’ भन्ने वाक्य कांग्रेसका लागि प्राण वायु हो । प्रचण्डको उक्त अभिव्यक्ति म केपी ओलीजस्तो होइन भन्ने अर्थमा कांग्रेसले लिइसकेको छ ।

प्रचण्ड बालकोटको बार्दलीमा उभिन पुग्नुको एकमात्र कारण थियो प्रधानमन्त्री बन्नैपर्ने बाध्यता । ओलीका लागि गठबन्धन भत्काउनुपर्ने बाध्यता भएकाले मात्र मिलेको यो जोडीको पुनर्मिलनको गन्तव्य अझै प्रष्ट छैन । किनकी भावनात्मकरूपमा प्रचण्ड देउवा र माधव नेपालसँगै नजिक छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा ओलीले संसद विघटनको औचित्य पुष्टि गर्न खोज्दा प्रचण्डले असहज महसुस गरेपछि राज्यसत्ताका सबै अंगबाट बाहिरिएका कांग्रेसको एकाएक मुख रसाएको थियो । त्यसपछि नै विश्वासको मत दिने वातावरण बनेको कतिपयको विश्लेषण छ ।

प्रचण्डले विश्वासको मत माग्ने क्रममा भनेको ‘प्रधानमन्त्रीको रूपमा म प्रतिशोध, अपमान र निषेध होइन सहमति, सहकार्य र आपसी विश्वासको मानक स्थापित गर्नेछु’ भन्ने वाक्य कांग्रेसका लागि प्राण वायु हो । प्रचण्डको उक्त अभिव्यक्ति म केपी ओलीजस्तो होइन भन्ने अर्थमा कांग्रेसले लिइसकेको छ ।

मेचेको ढोक्सा र ओलीको संकेत

नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय आफैंमा रणनीतिक र अर्थपूर्ण छँदैछ । यो कुरालाई सबैले बुझ्नेगरी एमाले अध्यक्ष ओलीले रोष्टमबाटै अर्थ्याए र केही प्रश्न कांग्रेसलाई उठाए ।

झापामा आदिवासी मेचे जाती बस्छन् । केपी ओली पनि झापाकै बासिन्दा र जनप्रतिनिधि हुन् । मेचे जातीले माछा मार्नका लागि बाँसका चोयाले बनाएको आकर्षक जालीलाई ‘ढोक्सा’ भनिन्छ ।

ओलीले संसदको रोष्टमबाट ढोक्सा शब्द प्रयोग गर्दा धेरै सांसदले त्यसको अर्थ बुझेनन् । उनले सँगै माछा पार्ने जालको पनि कुरा गरेका हुनाले ढोक्सा पनि त्यस्तै होला भन्ने अनुमान गरे ।

ओलीले कांग्रेसको विश्वासको मतलाई मेचे जातीको ढोक्सा र मछुवारको जालसँग तुलना गर्दै यदि विश्वासको मतको ढोक्सामा सत्ताको माछा पार्न खोजेको हो भने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा नबग्ने चुनौती पनि दिए ।

प्रचण्ड, माओवादीलाई मत दिएका कांग्रेस मतदाताको नङको मसी सुक्न नपाउँदै बालकोटको बार्दलीमा पुग्दा पनि देउवा पटक्कै उनीप्रति नकारात्मक नदेखिनुको निकै दूरगामी अर्थ छ । प्रचण्ड अहिले ओलीको समर्थनमा प्रधानमन्त्री बने पनि त्यसमा आफ्नो हक जताइरहेका छन् देउवा ।

ओलीले ढोक्सा खाली हुनेछ भन्दैगर्दा के प्रष्ट बुझिन्छ भने कांग्रेसले विश्वासको मत दिएर प्रचण्डलाई फेरि आफ्नै ढोक्सामा फिर्ता ल्याउन खोज्दैछ भन्ने कुरामा उनमा संशय छ । उनले ढोक्साको कुरा गर्दा देउवा र प्रचण्डको ‘बडी ल्याङ्ग्वेज’ पनि हेर्न लायक देखिन्थ्यो ।

यद्यपि प्रचण्डले नेपाली कांग्रेसको समर्थनलाई अन्यथा अर्थमा नलिएको भनेर ओलीलाई आश्वस्त पार्न खोजेका छन् । साथै संसद विघटनको विषयमा पनि आफ्नो स्वभावअनुसार बीचको जवाफ दिएर बिट मार्न खोजेका छन् ।

देउवाको दाउमा कांग्रेसको जिजिविशा

जुन प्रचण्डको उक्साहट वा आग्रहमा देउवा पाँचदलीय गठबन्धन बनाउँदै शीतल निवास र अदालत पुगे । जुन प्रचण्डलाई ओलीसँग जान नदिन आफ्ना नेता कार्यकर्ताको राजनीतिक कत्लेआम गर्दै गठबन्धनका नाममा सीट दिएर चुनावमा गए ।

तीनै प्रचण्ड, माओवादीलाई मत दिएका कांग्रेस मतदाताको नङको मसी सुक्न नपाउँदै बालकोटको बार्दलीमा पुग्दा पनि देउवा पटक्कै उनीप्रति नकारात्मक नदेखिनुको निकै दूरगामी अर्थ छ । प्रचण्ड अहिले ओलीको समर्थनमा प्रधानमन्त्री बने पनि त्यसमा आफ्नो हक जताइरहेका छन् देउवा ।

हो यहिँनेर धेरै कुरा लुकेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि नैतिकरूपमा देउवा विपक्षी दलको नेता बन्न मिल्दैन । यो विषय कांग्रेस बैठकमा छलफल भएर केही नेताले यही विषयमा नोट अफ डिसेन्ट लेख्दा पनि देउवाले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गराउनुमा भूराजनीतिक अर्थ छ ।

तस्बिर : रासस

ओलीले रोष्टमबाट कांग्रेसले ढोक्सा थापेको हो भने उसले माछा नपाउने त बताए तर ओली आफैं त्यसमा कति ढुक्क छन् ? भूराजनीतिक चलखेलबारे ओलीजत्तिको नेता जानकार नहुने कुरै भएन ।

प्रचण्डलाई प्रधानमन्त्री नबनाउनु ठूलो गल्ती हो भन्ने महसुस कांग्रेसको सकल दर्जाले गरिसकेको छ । यसबीचमा ओलीले धेरै ठूलो ढोक्सा थापेको पत्तै नपाउनु ‘ब्लण्डर’ हो भन्ने ‘एहसास’ देउवादेखि दक्षिणसम्मले गरिसकेको छ । अब जतिसक्दो चाँडो ड्यामेज कन्ट्रोल गर्नेतिर भूराजनीतिक चलखेल हुनेछ ।

उनले यसबीचमा नेपाली आफैंले बनाएको सरकार भन्दै यसलाई ढाल्न भूराजनीतिक चलखेल भएको र छिमेकीले पर्खाल नाघेर गतिविधि गरेको प्रष्ट बताइसकेका छन् । जुन छिमेकीले देउवालाई ढुक्क बनाएको थियो, त्यही छिमेकीले देउवा र प्रचण्डलाई पुनर्मिलन गराउन कुनै हर्कत बाँकी राख्ने छैन भन्नेमा ओली जानकार छन् र देउवा आशावादी छन् ।

ओलीको बोलीमा प्रचण्डको बडी ल्याङ्ग्वेज पढेका कांग्रेसहरू साढे २ वर्ष कुर्न पर्दैन भन्नेमा छन् । हुनसक्छ सभामुख चुनावपछि राष्ट्रपति चुनावसम्म पुग्दा आफ्नो ढोक्सामा माछा पार्न सकिन्छ कि भन्ने जिजिविशा कांग्रेस नेतृत्वमा अहिले पनि पलाएकै छ ।

देउवाले सबै चीज गुमेर बालुवाटारबाट धुम्बाराही पुगेपछि ‘हामी फेरी फर्किनेछौं’ भनेका छन् । विमलेन्द्र निधी दिल्ली उड्दा ‘विमल दाइ दिल्ली जानुभयो, अब हामी फेरि सत्तामा फर्किन्छौं’ भनेर साँझको बसाइलाई सुखद बनाउने आशावादी कांग्रेसजनले देउवाले हानेको दाउ खेर जाँदैन भन्ने जिजिविशा पाल्नु अनौठो होइन ।

ढोक्सा थापेको कि रिजर्भ फोर्स राखेको ?

नेपालको राजनीति कसैले पूर्वानुमान गरेजस्तो हुन्न । अरुको के कुरा, १२ बजेसम्म बालुवाटारमा गठबन्धनकै सरकार बन्नेमा ढुक्क भएका शीर्ष नेताहरू २ बज्दा अर्कैतिर लागिसकेका हुन्छन् । लाग्नेहरूले पनि २ घण्टा अगाडि अब यस्तो हुन्छ भन्ने सोचेको हुँदैनन् ।

केपी ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍याइएको भनेर गर्व गर्नेहरूले यति चाँडै उनी सत्ताको चाबी बोक्ने ठाउँमा पुग्लान् भनेर सोचेका थिएनन् । ‘प्रतिगमन’ लाई अन्तिम धक्का दिन हिँडेकाहरू त्यो त उहिल्यै सच्चियो भनेर एकताको एकतारे बजाउन हानाथाप पनि गर्ने थिएनन् ।

एउटा ओपन सेक्रेट सत्य के हो भने, अहिले जुन व्यक्ति र शक्तिको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् यसबाट कांग्रेसबाट बढी आहत दक्षिण छिमेकीलाई परेको छ । यसबीचमा भएका लगातारका दक्षिणका प्रतिनिधिका भ्रमण र यताका नेताहरूको भ्रमणको एकमात्र उद्देश्य जतिसक्दो चाँडो प्रचण्डलाई ओलीको कब्जाबाट मुक्त गर्ने नै हो ।

प्रचण्डलाई प्रधानमन्त्री नबनाउनु ठूलो गल्ती हो भन्ने महसुस कांग्रेसको सकल दर्जाले गरिसकेको छ । यसबीचमा ओलीले धेरै ठूलो ढोक्सा थापेको पत्तै नपाउनु ‘ब्लण्डर’ हो भन्ने ‘एहसास’ देउवादेखि दक्षिणसम्मले गरिसकेको छ । अब जतिसक्दो चाँडो ड्यामेज कन्ट्रोल गर्नेतिर भूराजनीतिक चलखेल हुनेछ ।

प्रचण्ड फौजी लडाइँको कमाण्डर बनेर आएका नेता हुन् । फोर्टिफिकेशन दह्रो बनाएर मोर्चामा जाँदा ‘रिजर्भ फोर्स’ पनि केही पर तैनाथ गर्नुपर्छ भन्ने सैन्य ज्ञान उनलाई छ । कांग्रेस उनको रिजर्भ फोर्स हो र कांग्रेसले ढोक्सा थापेको छ भन्ने भन्ने सन्देश पनि विश्वासको मतसँगै एकसाथ प्रवाह भएको छ ।

अहिलेको सरकारको आर्किटेक्ट केपी ओली भए पनि त्यसमा प्राविधिक सहयोग चीनको रहेको बुझाइ अर्को पक्षको छ । कतै कम्युनिस्ट पार्टी पुनः एकीकरण गराउन चीनियाँहरूको भ्रमण बाक्लिएको त होइन ? उनीहरूलाई थप संशय भएकाले जतिसक्दो चाँडो ढोक्सा थापिँदैछ ।

अर्कोतिर प्रचण्डलाई विभिन्न ठाउँबाट ‘जे भयो भयो,अब पहिलेकै गठबन्धनमा फर्कौं’ भन्नेहरू सक्रिय नै छन् । अघिल्लो गठबन्धन भत्किएर प्रचण्ड बालकोटको बार्दलीमा पुगेकोमा सबैभन्दा चोट देउवा र दक्षिणलाई भन्दा पनि माधव नेपाल र बाबुराम भट्टराईलाई परेको छ । उनीहरू कुनै पनि हालतमा प्रचण्डले कोर्ष करेक्सन गरुन् र टुटेको कडी जोडियोस् भन्नेमा छन् ।

कांग्रेसलाई विश्वासको मत दिने ठाउँमा ल्याउन उनीहरूसहित माओवादी केन्द्रक जनार्दन शर्मादेखि कांग्रेसका परिष्ठ नेता रामचन्द्र पौडेलसमेतको ठूलो योगदान छ ।

पौडेलले विश्वासको मत दिएलगत्तै केपी ओलीले हाइज्याक गरेको गठबन्धन फिर्ता गर्ने उद्देश्यले पनि विश्वासको मत दिएको भन्नुले सबै आशंका, अनुमान र अपेक्षाहरुको लागि ‘पाण्डोराको बाकस खुलेको छ’ ।

विश्वासको मत लिने अघिल्लो साँझको देउवा निवासको वार्ता ‘कर्टेसी कल’ हुँदै होइन । कांग्रेसको समर्थन प्रचण्डलाई गणितीयरूपमा चाहिएकै होइन ।

पत्र लेखेर विश्वासको मत माग्न सकिने ठाउँमा धुम्बाराहीको मेजमानी देउवा र प्रचण्डको ‘प्याचअप’ गराउने प्रस्थानविन्दु पनि हुनसक्छ । कांग्रेसले विश्वासको मत दिएको ढोक्सा थापेको मात्र होइन,आफू प्रचण्डको ‘ब्याकअप’ मा खडा भएको सन्देश पनि हो ।

तस्बिर : रासस ।

प्रचण्ड फौजी लडाइँको कमाण्डर बनेर आएका नेता हुन् । फोर्टिफिकेशन दह्रो बनाएर मोर्चामा जाँदा ‘रिजर्भ फोर्स’ पनि केही पर तैनाथ गर्नुपर्छ भन्ने सैन्य ज्ञान उनलाई छ । कांग्रेस उनको रिजर्भ फोर्स हो र कांग्रेसले ढोक्सा थापेको छ भन्ने भन्ने सन्देश पनि विश्वासको मतसँगै एकसाथ प्रवाह भएको छ ।

राष्ट्रपति चुनावसम्म पुग्दा कांग्रेस ‘कमब्याक’ हुने आशाको सञ्चार कांग्रेसजनमा पलाएको देखिन्छ । यद्यपि जुन अवयवहरूको मेहनतबाट प्रचण्ड प्रधानमन्त्री बनेका छन्, यति चाँडै उनले सत्ता राजनीतिमा तलमाथि गर्ने अनुमान लगाउन सकिन्न । कम्तीमा उनको कार्यकाल अढाई वर्षसम्म अहिलेको समझदारी र गठबन्धनलाई उनले तलमाथि नगर्लान् भन्न सकिन्छ ।

हेर्न बाँकी यतिमात्र हो कि, प्रचण्डले मोर्चामा रहेको फोर्सलाई ब्याक गरेर रिजर्भ फोर्सलाई ‘फोर्टिफिकेशन’ मा ल्याउँछन् कि आफू सुरक्षित रहेसम्म रिजर्भ फोर्सलाई ‘इन्ट्री प्वाइन्ट’ मै राख्छन् । यद्यपी उनीमाथि रिजर्भ फोर्सलाई अघि बढाएर ‘ओली बटालियन’ ब्याक गर्न ‘मल्टी हेडक्वार्टरको कासन’ हुनेछ ।

राष्ट्रपति चुनावसम्म पुग्दा कांग्रेस ‘कमब्याक’ हुने आशाको सञ्चार कांग्रेसजनमा पलाएको देखिन्छ । यद्यपि जुन अवयवहरूको मेहनतबाट प्रचण्ड प्रधानमन्त्री बनेका छन्, यति चाँडै उनले सत्ता राजनीतिमा तलमाथि गर्ने अनुमान लगाउन सकिन्न । कम्तीमा उनको कार्यकाल अढाई वर्षसम्म अहिलेको समझदारी र गठबन्धनलाई उनले तलमाथि नगर्लान् भन्न सकिन्छ ।

तर, प्रचण्ड भूराजनीतिक दबाबमा छन्, उनले कांग्रेसलाई रिजर्भ फोर्सका रूपमा राख्छन् कि ढोक्सा भर्छन् ? अझै केही दिन यो प्रश्न अनुत्तरित बनेर रहनेछ । किनकी नेपालमा नहुने केही पनि छैन । धोका दिन र खान अभिशप्त भएका नेताहरू आफैंप्रति विश्वस्त हुन सकेका छैनन् ।

प्रचण्ड आफैं भन्ने गर्छन्, म अस्थिर होइन गतिशील नेता हुँ । गतिशील नेताले कुनै पनि बेला रिजर्भ फोर्स अघि बढाएर कांग्रेसको ढोक्सामा माछा पारिदिने अपेक्षा कांग्रेसजनले राख्नु अन्यथा होइन ।


प्रतिक्रिया

2 thoughts on “कांग्रेसले ढोक्सा थापेको कि प्रचण्डले ‘रिजर्भ फोर्स’ राखेको ?

  1. ढाेक्सा थाप्नेहरु
    थापिरहून्
    थाहा छैन
    ढाेक्सा भरिन्छ वा खाली !

  2. प्रचण्डलाई विश्वासको मत दिएर काँग्रेस, एस र लोसपाले भारतको आदेश पालना गरेका मात्र हुन् । यो सरकारले तस्कर तह लगाउन थालिसक्यो । ठेकेदार तह लगाउँछ । त्यसैले अब यो सरकारलाई टिक्न नदिन भारत र यहि देशका ठग, चोर, फटाहाहरू लाग्छन् । प्रधानमन्त्री प्रचण्ड नै हुने तर गठबन्धन पुरानै हुनसक्छ । खाली प्रचण्डले प्रधानमन्त्री नपाएर गठबन्धन भत्केको त हो नि । तर प्रचण्डले के ख्याल गरून् भने काँग्रेससँगको गठबन्धनले काम गर्न नदिएर उनीलाई पंगु बनाउँछ । जनार्दन नै उनको विरूद्वमा छन् । जनार्दन तस्कर र भारतीय ठग व्यापारीसँग पैसा खाएको झल्झली सम्झदै तिलमिलाएर अहिलेको गठबन्धन भाँडन हिडिरहेका छन् । साथै प्रचण्डले के ख्याल गरून् भने अहिलेको गठबन्धन छोडे भने उनी पङ्गु हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *