अन्तिममा शपथ लिएकी सुत्केरी सांसदलाई सौतेनी झमेला, गाउँपालिका पूर्वअध्यक्षसहितलाई बहुविवाह मुद्दा – Nepal Press

अन्तिममा शपथ लिएकी सुत्केरी सांसदलाई सौतेनी झमेला, गाउँपालिका पूर्वअध्यक्षसहितलाई बहुविवाह मुद्दा

राजनीति संरक्षण दिएर पीडामाथि पीडा थपेको पीडितको गुनासो

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित प्रत्यक्ष १६५ र समानुपातिकतर्फका ११० सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । पुस ८ मा सांसदहरूको शपथ समारोह आयोजना गरिएकोमा त्यसदिन छुटेका माया राई र प्रेम आलेले आज शपथग्रहण गरे ।

भर्खरै सुत्केरी भएकी माया अस्पतालमा भएका कारण पुस ८ मा उनको शपथ भएको थिएन । नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी भोजपुर हतुवागढी गाउँपालिका-४ की ४५ वर्षीया मायाले छातीमा सांसदको लोगो भिरिरहँदा बहुविवाहको ‘दाग’ पनि कायमै छ । भोजपुरकै साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राई र मायाविरुद्ध बहुविवाहको मुद्दा चलाउन परमादेश माग्दै पीडितले अदालतमा दिएको रिट अदालतमा विचाराधीन छ ।

सुरूमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि प्रहरी र सरकारी वकिलविरुद्ध दायर गरेको रिटउपर अदालतले परमादेश दिएको र पछि दर्ता गरिएपनि राजनीतिक दबाबमा मुद्दा ढिसमिस पारी पीडकलाई संरक्षण गरिएको भन्दै पीडित हिमालय राईले यही पुस १३ गते पाटन उच्च अदालतमा मुद्दा हालेकी छन् ।

भोजपुर खार्तम्छा घर भई हाल काठमाडौं ललितपुर बस्ने हिमालयले रिटमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन, महान्यायाधिवक्ताको कार्यालय, बौद्ध प्रहरी साथै महेश-माया को जोडीलाई विपक्षी बनाएकी छन् ।

यसअघि पीडीतले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर दुईजनालाई जोगाउन आरजु देउवा, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत लागेको आरोप लगाएकी थिइन् ।

३९ वर्षीय हिमालय एक वर्षदेखि न्याय माग्दै दिनहुँ प्रहरी, महिला आयोग र मिडियाको दैलो भौतारिइरहेकी छन् । महेशले मायालाई विवाह गरी आफूलाई अहिले घर न घाटको बनाइदिएको उनको गुनासो छ ।

यस्तो छ बहुविवाहको कहानी

४९ वर्षीय महेश राई २०७४ को स्थानीय निर्वाचनमा भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी कांग्रेसको महासमिति सदस्य छन्

महेशकी पहिलाकी श्रीमती सरस्वती गिरी (सरु) को २०७८ जेठ अन्तिम साता हृदयघातका कारण निधन भएको थियो । त्यसको ६ महिनामै महेशले हिमालयलाई मंसिर १३ मा विवाह गरे । सुनाकोटीमा रहेको घरबाटै विधिपूर्वक उनीहरूको बिहे भएको थियो । महेशसँगको बिहेको फोटो/भिडिओ हिमालयसँग सुरक्षित छ ।

हिमालय साल्पासिलिछोको सीमा जोडिएको षडानन्द नगरपालिकाका मेयर वीरबल राईको आफन्त (पत्नी मालती राईको ठूलीआमाकी छोरी) पर्छिन् । वीरबलकी पत्नी मालती राईले नेपाल प्रेससँग भनिन्, ‘मलाई घर चलाउन एउटा साथ नभइ भएन, तपाईंकी बहिनीलाई जे-जसो गरेर भए पनि सुखैले पाल्छु भनेपछि मेयर सा’व समेत लागेर हामीले बहिनीको परिवारसँग कुरा चलायौं । त्यसरी विवाह भएको हो ।’

(हिमालयले प्रहरी, अदालतमा प्रमाणको रूपमा पेश गरेको महेशसँग बिहेको तस्बिर ।)

मंसिर १३ मा विवाह भएपश्चात केही समय ठीकै चलेको थयो । पुसको अन्तिमतिर राई अर्जेन्ट काम परेको बहाना गरेर गाउँ गएको र माघ १ बाट आफूसँग सम्पर्कविहीन बनेको हिमालयले बताइन् । महेशले अर्की श्रीमती (माया राई) लाई घरमा ल्याएर आफूलाई फागुन १६ गतेदेखि घर पस्न नदिएको हिमालले बताइन् ।

‘फागुन १६ मा काठमाडौंको कपनमा भएको घरमा आउनुभएछ । बेलुका घरमा फर्किँदा मलाई ढोका खोलिएन… एकजना छोरी मान्छेले माथि बरण्डाबाट आएर हामीलाई गालीबेइज्जत गरेर उल्टै धम्क्याइन्,’ उनले सुनाइन् ।

हिमालयका अनुसार कपनमा रहेको घरमा छिर्न नदिएपछि फागुन १६ कै बेलुका उनले प्रहरीमा हारगुहार गरेकी थिइन्, तर सुनवाइ भएन ।

त्यसको केही दिनमै महेशले अगाडिको मिति राखेर बिहे दर्ता गरेको हिमालयको माइती पक्षले थाहा पाए । बिहे दर्ताको कागजमा स्पष्ट जालसाज देखिन्छ । साल्पासिलिछो गाउँपालिका-२ चौकिडाँडामा २०७८ फागुन १ को मितिमा विवाह दर्ताको लागि सूचना फाराम भरिएको छ । जबकि विवाह दर्ता फाराममा महेश राई र माया राईबीच साल्पासिलिछो गाउँपालिका-२ मा २०७८ मंसिर २ गते नै विवाह भएको उल्लेख छ । माया त्यसबेला कांग्रेसको १४ औं महाधिवेशनबाट महिला जनजातितर्फबाट केन्द्रीय सदस्य निर्वाचित भइसकेकी थिइन् ।

(महेश राई र माया राईको विवाह सूचना दर्ता फाराम ।)

‘कानूनमा तल पार्न मलाई कान्छी देखिने गरी कागज बनाएछन् । त्यसै जहाँ जाँदा पनि साथ पाएको छैन,’ हिमालयले भनिन् ।

हिमालयका जेठा दाइ प्रेम राई कसैले सुनुवाइ नगरेकाले राजनीतिक पावर देखिएको बताउँछन् ।

‘सबै गतिविधि हेर्दा राजनीतिक पावर प्रयोग भएको शंका हामीलाई छ । फोटो/भिडिओ प्रमाण देखाउँदा प्रहरीले पनि बिहे भएको होइन चाहिँ भन्न सक्दैन । प्रमाणले अर्कोलाई जेठी नै बनाएछ ल ठीक छ । तर, एउटा पुरुषले ११ दिनको अन्तरमा दुईवटा विवाह गर्न सक्छ ? त्यसमा प्रहरीले चासो नदिएको किन हो ?’ दाजु प्रेमले भने ।

आफूहरूलाई तुम्लिङटारको जग्गा र पैसाद दिने भन्दै अनेक लोभ देखाएर थुमथुम्याउन खोजेको पनि प्रेमले खुलाए ।

न्यायका लागि गुहार

हिमालयले महेशले गाउँपालिकाको अध्यक्ष हुँदा आफू मातहतको वडा नं. २ का अध्यक्षसमेतलाई दबाब र प्रभावमा पारेर माया राईसँग गरेको विवाहलाई अगाडिको मिति राखी विवाह दर्ताको निवेदन पेश गरेको कार्य शंकास्पद रहेको साथै महेश-माया राईले उक्त निवेदनमा उल्लेख गरेको व्यहोरा र अनुसन्धानको क्रममा कागज गर्दा उल्लेख गरेको व्यहोरा नै फरक फरक रहेको रिटमा उल्लेख गरेकी छन् ।

‘उक्त शंकास्पद तथ्यको बारेमा कुनै प्रमाण नै नबुझी, अनुसन्धान नै नगरी प्रहरी, सरकारी वकिल महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता समेतले राजनीतिक शक्तिको दबाब र प्रभावमा मुद्दा नचलाउने भनी गरेको निर्णय गैरकानूनी त्रुटिपूर्ण भएको स्पष्ट देखिएको हुँदा उक्त निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरी जाहेरी बमोजिमको अभियोग पत्र दर्ता गरी प्रत्यर्थीहरुका विरुद्धमा बहुविवाहको मुद्दा चलाउनू भनी जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंको नाममा परमादेशको आदेशसमेत जारी गरीपाउँ’, पीडितको माग छ ।

यो पनि पढ्नुस् : गाउँपालिका पूर्वअध्यक्षविरुद्धको बहुविवाह उजुरी ‘ढिसमिस’, आरजु राणा र गृहमन्त्रीले नै जोगाएको आरोप

आफूसँग विवाह गरेर त्यसको तीन महिनापछि अर्की श्रीमती ल्याई राईले छलकपटग री कागज बनाएर अलपत्र पारेको पीडितको भनाइ छ ।

२०७९ असार २९ गते पाटन उच्च अदालतले जाहेरी दर्ता गर्न दिएको आदेशअनुसार भदौ १३ मा जाहेरी दर्ता भएको थियो । विवाहका पण्डित, लमी, आफन्त र कांग्रेसका जिल्ला अधिवेशमा उपस्थित भएकाहरूले समेत जाहेरी सत्य भएको कागज गर्दागर्दै प्रहरीले मुद्दा नचलाउने निर्णय भएको जानकारी गराएपछि पुन: अदालतको ढोका ढकढक्याएको हिमालयको दाबी छ ।

मंसिर १ गते जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले महेश राईले हिमालय महेशको श्रीमती भएको ‘वस्तुनिष्ठ’ प्रमाण नपुगेकोले महेश र मायामाथि बहुविवाहको कसूरमा मुद्दा नचल्ने निर्णय गरेका छन् ।

हिमालयले जाहेरीसाथ पेश गरेको फोटो तथा भिडिओबारे महेशले आफूलाई बिहेको नभई महासमिति सदस्य भएकोमा फेटा लगाएर सम्मान गरेको भनेको, मायाले मंसिर २ गते सिद्धकाली मन्दिरमा बिहानको ४ बजे बिहे गरेको पार्टी काम र श्रीमान् महेश बिरामी भई अस्पताल भर्ना भएकाले विवाह दर्ता गर्न केही ढिला भएको बयानलाई आधार मानेर सरकारी वकिल कार्यालयले उक्त निर्णय गरेको छ ।

हिमालयले आफूलाई राजनीतिक नेता, प्रहरी र प्रशासनले थप पीडा दिँदै गलत गर्नेलाई अझ पुरस्कार दिएको गुनासो गरेकी छन् ।

(हिमालय र उनका आफन्तले २०७८ चैत पहिलो साता यसरी सुनाएका थिए घटना विवरण)

के छ कानूनी व्यवस्था ?

एक पुरुषले एकैपटक एकभन्दा बढी श्रीमती राख्नु गैरकानूनी हो । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ ले बहुविवाहसम्बन्धी सजायको व्यवस्था गरेको छ । दफा १७५ को उपदफा १ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा कुनै पुरुष र उपदफा २ मा पुरुष विवाहित भएको भन्ने जानीजानी कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ ।

सो कानूनअनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिबाना हुनेछ । साथै त्यस्तो विवाह स्वतः बदर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर