मन्त्रालय छाड्नै लाग्दा विवादित व्यक्तिलाई नाथमको अध्यक्ष बनाए मन्त्री जीवनरामले – Nepal Press

मन्त्रालय छाड्नै लाग्दा विवादित व्यक्तिलाई नाथमको अध्यक्ष बनाए मन्त्री जीवनरामले

काठमाडौं । मन्त्री जीवनराम श्रेष्ठ पर्यटनमन्त्रालयबाट बाहिरिँदै गर्दा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को कार्यकारी निर्देशकमा यसअघि नै विवादित बनिसकेका नारदकुमार लुईँटेललाई नियुक्ति गरेको खुलेको छ ।

यसअघि मन्त्री प्रेम आलेले लुईँटेललाई तारा गाउँ विकास समितिको सदस्य सचिव बनाएका थिए । अहिले निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई रिझाएर नाथमको कार्यकारी निर्देशकमा बाजी मारेको भन्दै आन्तरिकरूपमै उनको टिप्पणी बढेको छ ।

तारा गाउँ विकास समितिका पूर्वअध्यक्ष तथा सदस्य सचिवसमेत बनिसकेका लुईँटेलमाथि अध्यक्ष भएको बेला अधिग्रहण जग्गा पुन: फिर्ता गराउने विषयमा आर्थिक चलखेल गरेको तथा अधिग्रहण जग्गाको फाइल लुकाएकोलगायतका आरोप लागेको थियो ।

उनलाई अनुसन्धान गर्न २०७८ माघ २५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखी पठाएको थियो ।

अख्तियारको पत्र बेवास्ता गर्दै उनले सदस्य सचिवको जिम्मेवारी पाएका थिए । पहिले अध्यक्ष भएको संस्थामा पुन: सदस्य सचिव भएको भनेर उनको आलोचना पनि भयो ।

अहिले जीवनराम श्रेष्ठले पुस ८ गते लुईँटेललाई नाथममा जिम्मेवारी दिएका छन् । लामो समयपछि नाथममा कर्मचारीभन्दा बाहिरबाट नियुक्ति गरिएको हो । पर्यटनसम्बन्धी पढाइ हुने यस सरकारी संस्थाको कार्यकारी निर्देशकलाई सचिवसरहको सेवासुविधा दिइन्छ ।

यस विषयमा प्रतिक्रियाका लागि निवर्तमान मन्त्री श्रेष्ठलाई सम्पर्क गर्दा फोन उठेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर