नेपाल टी–२० : काठमाडौंको तेस्रो जित, जनकपुर ९० रनले हार्‍यो – Nepal Press

नेपाल टी–२० : काठमाडौंको तेस्रो जित, जनकपुर ९० रनले हार्‍यो

काठमाडौं । अविनाश बोहराको उत्कृष्ट बलिङमा जनकपुर रोयल्सलाई ९० रनले पराजित गर्दै काठमाडौं नाइट्सले जारी नेपाल टी–२० लिगमा तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९।१ ओभरमा अलआउट हुँदै ९० रनमा सीमित भयो ।

जनकपुरका लागि सरार्फुदिन असरर्फले सबैभन्दा धेरै ३७ रन बनाए । उनले ३१ बल खेल्दै २ चौका र तीन छक्का प्रहार गरे । त्यो बाहेक सोमपाल कामी २१ रन र अडक बोहरा १० रन बाहेक जनकपुरका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गरे । उनले ३।१ ओभरमा १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । अज्मतुल्लाह ओमारजाईले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चिएर दुई विकेट लिए । कमल ऐरी, अनिल खरेल र वसिर अहमदले समान एक÷एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार पारेको थियो ।

काठमाडौंका लागि ओपनर सुनाम गौतमले ४७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले । रायन बर्लले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको अविजित इनिङ खेले । एलेक्स ब्लेकले २१ बलमा २ चौका र १ छक्काको मद्दत लिँदै २० रन योगदान गर्दा अज्मतुल्लाह ओमारजाई १० बनाएर पभेलियन फर्किएका थिए ।

जनकपुरको बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा ३८ रन खर्चिएका थिए । ट्रेभोन ग्रिफ्त र सरार्फुदिन असरर्फले समान एक÷एक विकेट लिए ।

जारी प्रतियोगितामा जनकपुर ५ खेलमा ४ जित र १ हारको नतिजासहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । ५ खेल खेलेर तीन जित र दुई हारको नतिजा निकालेको काठमाडौं ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्स र लुम्बिनी अलस्टार्सबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर