लुम्बिनी : खाणको साथ छाडेर इतर क्याम्पमा अब्दुल, संसदीय दलमा चौधरीसँग भिड्ने सम्भावना – Nepal Press

लुम्बिनी : खाणको साथ छाडेर इतर क्याम्पमा अब्दुल, संसदीय दलमा चौधरीसँग भिड्ने सम्भावना

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणनिकटका सांसद अब्दुल रज्जाकले लुम्बिनी प्रदेश संसदीय दलको नेतृत्वका लागि गुट फेरेपछि इतर समूह उत्साहित भएको छ ।

नेपाली कांग्रेस लुम्बिनीमा संसदीय दलको नेतृत्वका लागि संस्थापन र इतर समूहबीच सहमति नजुटेपछि निर्वाचनको तयारी भइरहेको बेला रज्जाक संस्थापनइतरको बैठकमा उपस्थित हुन थालेका छन् । लुम्बिनीमा कांग्रेसका २७ सांसद छन् । यहाँ संस्थापन समूहका बहुमत (१५ सांसद) छ ।

संस्थापन पक्षमा बहुमत भएपनि इतर समूहले निर्विरोध नछाड्ने भएपछि निर्वाचनकै विधि अपनाइने भएको हो । रज्जाकलाई ल्याएर संस्थापनलाई पराजित गर्ने योजनामा इतर समूह लागेको छ । लुम्बिनी प्रदेश समितिमा भने संस्थापन इतरको वर्चश्व छ ।

यसअघि संघीय सांसद तथा राज्यमन्त्री बनिसकेका रज्जाक नेता खाणको बलियो खम्बा मानिन्थे । खाणकै सहयोगमा रुपन्देहीको दुई कार्यकाल नेतृत्व गरेका उनले पछिल्लो समय दूरी बढाउँदै लगेका छन् । हालै सम्पन्न निर्वाचनमा असहयोग गरेको भन्दै खाणले रज्जाकलाई दलको नेता बनाउन नचाहेको स्रोतले बताएको छ ।

यसअघि संस्थापन समूहबाट जितेका डिल्ली चौधरी, राजु खनाल र रज्जाक तथा इतर समूहबाट पाल्पाका वीरबहादुर राना दलको नेताका आंकांक्षी थिए । तर, संस्थापनबाट सिनियर रज्जाकलाई छाडेर नेता खाणले दाङका डिल्ली चौधरीलाई च्यापेका छन् ।

रज्जाक केन्द्रीय सदस्य, खनाल प्रदेश उपसभापति तथा चौधरी महाधिवेशन प्रतिनिधि छन् । संस्थापनइतर समूहका आकांक्षी रहेका वीरबहादुर रानाले भने आफूले दाबी नछोडेको र कसैलाई समर्थन नगरेको बताए । तर, उनकै समूहका नेताले रज्जाकलाई ल्याएर चौधरीसँग भिडाउने बताएका छन् ।

कांग्रेसले आजै दलको नेता चयनको प्रक्रिया अघि बढाउने बताएको छ । प्रदेश सभापति अमरसिंह पुनले भोलिसम्ममा दलको नेता टुंग्याउने जानकारी दिए । आइतबार दिउँसो शपथ लिएपछि संसदलीय दलको चुनावी प्रक्रिया सुरू गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर