एक साताअघिको ‘त्यो सहमति’ बाट देउवा ‘यु टर्न’ हुँदा सबै गर्ल्यामगुर्लुम्म – Nepal Press

एक साताअघिको ‘त्यो सहमति’ बाट देउवा ‘यु टर्न’ हुँदा सबै गर्ल्यामगुर्लुम्म

प्रचण्डको गुनासो– देउवाले मलाई ह्युमिलेट गरे

काठमाडौं । पाँचदलीय गठबन्धन टुटेको सन्दर्भमा बालुवाटारमा भएको धक्कामुक्कीका बारेमा एक सातापछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शनिबार स्पष्टीकरण दिँदै भनेका छन्- केही विषयमा फरक तरिकाले बहसमात्र भएको हो हामी साथीभाइबीच ।

खड्काले एक सातापछि आफूमाथि डा. प्रकाशशरण महतले त्यस बेला झम्टिएको प्रसङ्गलाई घुमाउरो ढंगले पुष्टि गरेका छन् । गठबन्धन कसरी भङ्ग भयो भन्ने सन्दर्भमा धेरै नेताका बकपत्र आइसकेका छन्, तर प्रचण्डलाई प्रधानमन्त्री दिने सहमतिमा देउवा एक साता पनि टिक्न सकेनन् भन्नेबारे भने कोही बोलेको छैन ।

गठबन्धनमा पहिलो चरणको प्रधानमन्त्री दाबी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेतृत्व छाड्न गठबन्धन टुट्नु एक साताअघिमात्र देउवा तयार भएको खुलेको छ । प्रचण्डले नै यो कुरा शीर्ष तहमा सुनाएका छन् ।

प्रचण्डले आलोपालोमा चुनावपछिको नेतृत्व आफूलाई दिनेबारे सीट बाँडफाँटकै क्रममा कांग्रेससँग भद्र सहमति भएको बताउँदै आएका थिए । तर, संसदीय दलको चुनावको संघारमा आफूलाई प्रधानमन्त्री दिन देउवाले ओके गरेको प्रचण्डले केहीलाई सुनाएका छन् । यति हुँदाहुँदै वाचाबाट किन ब्याक भए त देउवा ? कांग्रेस नेताहरुबीच धक्कामुक्कीको जड पनि यहीँनेर छ ।

देउवाको सूचना संयन्त्र (इन्टलिजेन्स) फेल

गठबन्धनको बलमा ठूलो दल बनेको कांग्रेस लास्ट आवरमा प्रदेशदेखि केन्द्रसम्म एकाएक बढारिनुमा देउवासहित उनका केही यस म्यानहरू जिम्मेवार देखाइरहेका छन् कांग्रेसजन ।

पुस ९ र १० गतेको संवादलाई नजिकबाट नियालेका कांग्रेसका एक सांसद भन्छन्, ’प्रचण्ड कुनै हालतमा गठबन्धन तोडेर जान नसक्ने रिपोर्टिङ देउवालाई सुनाइएको थियो । यतिसम्म कि बालकोटको बार्दलीबाट सँगै ओली र प्रचण्डले हात हल्लाउँदासम्म बालुवाटार फर्किन्छन् भन्ने भ्रममा थिए हाम्रा नेता ।’

नेता शशांक कोइरालाले पनि नेतृत्वले रणनीति नमिलाएका कारण यो दुर्घटना भएको बताइसकेका छन् ।

हिजो चितवन पुगेका शशांकले देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै भनेका थिए, ‘ठूलो पार्टीको नाताले पहिलोपटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।’

राष्ट्रपतिको रेसमा रहेका रामचन्द्र पौडेल अब माओवादीले पालो पाउनुपर्ने भन्दै देउवालाई पनि त्यसरी कन्भिन्स गरिरहेका थिए । तर, ९ गते प्रचण्डलाई भेटेपछि उनले केही नेताहरूलाई प्रधानमन्त्री नपाए माओवादीले गठबन्धन तोड्ने सुनाए ।

प्रचण्ड कुनै हालतमा ओलीसँग नजाने जनार्दन शर्मालगायत माओवादीका केही नेताले बालुवाटारमा गरेको ब्रिफिङ र सबै मिलाउँदैछौं भनेर आरजू देउवा, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महतले सभापतिलाई विश्वास दिलाएको कांग्रेसका एक नेताले नेपाल प्रेसलाई भने । सँगै रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रचण्डलाई प्रधानमन्त्री दिएरै भएपनि गठबन्धन जोगाउनुपर्ने बताउँदा डा. महतले झम्टिएको विषय बाहिर आइसकेको छ ।

’देउवासँगको निर्णायक वार्तामा कुरा नमिलेपछि प्रचण्ड बालकोट लागेपछि घुर्क्याएर केहीबेर प्रचण्ड गएको भनेर सुनाइयो । राष्ट्रपतिले समय थप्नेमा ज्ञानेन्द्र दाइ ढुक्क देखिनुहुन्थ्यो । शेखर दाइले पनि प्रचण्डले कांग्रेसको साथ नछाड्ने भनेर केही दिनअघिबाटै सभापतिज्यूलाई सुनाउनुभएको थियो । यी सबै फेल खाए ’, प्रवक्ता महतको भनाइ उद्धृत गर्दै स्रोत भन्छ ।

’बालकोट लागेका प्रचण्ड खुमलटारमा केहीबेर अड्किँदासम्म फर्किन्छन् भन्ने भ्रमले शेरबहादुर दाइले फोन गर्नुभएन । पछि कल गर्दा म बालकोट हिँडे । साथीहरूको पनि दबाब छ । अब ढिलो भयो भन्नुभयो’, ती नेता सुनाउँछन् ।

सवा १ बजे ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन मुलुकको आवश्यकता भएको दोहोर्‍याउँदै प्रधानमन्त्रीले निरन्तर छलफल गरेर शीतल निवासबाट प्राप्त समय सीमाभित्रै सहमति हुने भनेर आन्तरिक छलफलका लागि प्रचण्ड निस्केको पत्रकारलाई सुनाइरहेका थिए । तर, त्योबेला बालकोटमा सातदलीय गठबन्धनको खाका धमाधम कोरिँदै थियो ।

प्रचण्डले चालिरहेको ’ट्रयाक टु’ को प्रयास, एमाले र माओवादीका दोस्रो तहको नेताको निरन्तरको छलफलको सूचनामा सरकारी गुप्तचर निकम्मा देखिएको , शीर्ष नेताहरूले अनुमानसम्म नलाएको भन्दै एक नेता भन्छन्, ’शासकहरूले निजी खर्चमै सुराकीहरू राख्न सक्नुपर्छ । सभापतिको सही सन्देश प्रचण्डसम्म पुर्‍याउने राम्रो दूतसमेत भएनन् ।’

दलको नेतामा जिताउन सबै सांसदलाई मिलाउन सकेको आरजूको खुबीले केही मिलाएको होला भनेर देउवा अझ बढी ढुक्क परेको एकथरी बताउँछन् । त्यस्तै, सांसदहरूको बालुवाटार भेलामा कुनै हालतमा प्रधानमन्त्री नछाड्न दिइएको दबाबले प्रचण्डसँगको सहमति पालनामा देउवा अप्ठ्यारोमा परे ।

अर्कोतर्फ, माओवादीको भोटले कांग्रेसले धेरै ठाउँ जितेको, कांग्रेसले धेरै ठाउँ धोका दिएको निष्कर्षसहित वर्षमानसहित माओवादीका केही प्रभावशाली नेता प्रचण्डलाई बाहिर निकाल्न निर्णायक पहलमा लागेका थिए ।

सरकार गठनका लागि माओवादीविनै समीकरण बनाउन कांग्रेसले अन्य दलसँग बढाइरहेको संवाद र ओलीसँग कांग्रेसीको बाक्लो सम्पर्कको सूचना पाएका प्रचण्डलाई समेत झस्का पसिसकेको थियो ।

प्रचण्डको गुनासो– देउवाले मलाई ह्युमिलेट गरे

प्रधानमन्त्री नियुक्त भएको पर्सिपल्ट मंगलबार बधाई दिन पुगेका कांग्रेसका केही नेता र सांसदसँग प्रचण्डले निकै गुनासो गरेको त्यहाँ सहभागी एक नेता सुनाउँछन् ।

वर्षौँसम्म सँगै जाने प्रतिबद्धता तोडेर एकाएक माओवादीलाई अण्डरस्टिमेट गरेको र आफूलाई देउवाले अपमानित गरेको महसुस भएको प्रचण्डले सुनाएका थिए ।

भेटमा कांग्रेससँगको गठबन्धन छाड्न भित्रैदेखि नचाहेको अनुभव सुनाउँदै प्रचण्डको भनाई उद्धृत गर्दै ती नेता भन्छन्, ’एकाएक उहाँ कसरी डाइभर्ट हुनुभयो । मैले बुझ्न सकिनँ । अन्तिममा आएर मलाई ह्युमिलेट गर्नुभयो ।’

प्रचण्डले कांग्रेसका ती नेतासँग देउवाको कुरा लिएर आउने पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधीहरूले गठबन्धनको भविष्यभन्दा पनि आफूलाई केन्द्रमा राखेर डिल गर्ने गरेको बताएका थिए ।

धेरै दल र नेता अझ राजनीतिमा बामे सरेकालाई मिलाउनुपर्दा सरकार चलाउन गार्‍हो हुन्न ? भन्ने जिज्ञासामा प्रचण्डले आफूसँग अन्य विकल्प नै नभएको सुनाएका थिए ।

माधव नेपालले दिएको धोका

पुस ९ गते साँझ प्रचण्डले नेताहरूसँग नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूलाई धोका दिएको सुनाउँदै गठबन्धन जोगाउन नसकिएको ब्रिफिङ गरे । प्रचण्डनिकटका एक नेता माधव नेपालले प्रचण्डलाई माइनस गर्दा आफूले बढी भाग पाउने लोभले प्रधानमन्त्री नछाड्न देउवालाई भनिरहेको बताउँछन् ।

’कम्तीमा माधव कमरेडले नै पनि प्रचण्डलाई च्याप्दै दबाब दिनुभएको थियो भने गठबन्धन टुट्दैनथ्यो । अध्यक्ष कमरेडले संकटका बेला काँध थापेको उहाँले चटक्कै भुल्नुभयो’, ती नेताले नेपाल प्रेससँग भने ।

माधव नेपालले बरु देउवा र प्रचण्डको विवादमा आफू प्रधानमन्त्री बन्ने सपना देख्न थाले । उनको एकमात्र उद्देश्य गठबन्धन नटुटोस् भन्ने चाहिँ थियो । गठबन्धन टुट्दा सबैभन्दा दुःखी माधव नेपाल बनेका छन् । उनी एमाले बलियो बनेको देख्न चाहदैनन् ।

माधव र झलनाथलाई देउवासँगै छाडेर १० गते बालुवाटारबाट बालकोट निस्केका प्रचण्डले माधवलाई केही सूचना दिएनन् । पार्टीको आन्तरिक बैठकमा नेपालले अप्रत्याशित रूपमा गठबन्धन भत्किएको सुनाइसकेका छन् ।

बिहीबार पार्टीका जनवर्गीय संगठन, उपत्यका र प्रवास कमिटीलाई जुम बैठकमा गठबन्धन तोडिनुअघिको क्लाइमेक्स सुनाउँदै नेता नेपालले भनेका थिए, ’मेरो र शेरबहादुरजीको कुरा हुँदा उहाँले (प्रचण्डलाई प्रधानमन्त्री) मान्नुभएन । पूर्णबहादुर खड्काहरुले मान्नुभयो । ज्ञानेन्द्र कार्कीले मान्नुभएन । त्यसपछि प्रचण्डजी र म छतमा गएर आधा घण्टा कुरा गर्‍यौं । प्रचण्डले भन्नुभयो, ‘अब गठबन्धन टुट्छ । कांग्रेसले मान्दैन । के विकल्प हुन्छ, त्यसबारे सोचौँ । तपाईँ, म र केपी ओली बसौँ’ भन्नुभयो । हामी निस्कियौँ ।’

तर, बालकोट जाँदा आफू मात्र गएको उनले बताइरहेका छन् । आजदेखि जारी स्थायी कमिटी बैठकको सुरुमा उनले केही व्यक्तिमा आएको सोचको समस्याले गर्दा सहज ढंगले जान नसकिएको बिताए । नेता नेपालको भनाइ देउवातर्फ लक्षित रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

नयाँ समीकरणमा निर्णायक भूमिकामा रहेकामध्ये माओवादीका एक नेता माधव नेपाललाई सुनाएर बालकोट गएको भए यो फेरबदल नहुने सुनाउँछन् ।

’माधवजी पनि प्रचण्ड ओलीसँग नजाने भनेर देउवालाई विश्वस्त पार्दै हुनुन्थ्यो । उहाँबाट छलिएरै गएका हौं । अझै केही सिन देखिएला ’, उनले यतिमात्र भनेँ ।

माधव नेपालले आन्तरिक बैठकमा यसो पनि भनेका छन्- ’मलाई शेरबहादुरले ४ बजे फोन गर्नुभयो । आउनुस्, तपाईँलाई प्रधानमन्त्री बनाऔँ, त्यसपछि प्रचण्डजीलाई बनाऔँ भन्नुभयो । मैले ‘अब सबै कुरा बिग्रिएपछि केही हुँदैन’ भनेँ ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले नेपाल प्रेससँगको कुराकानीमा देउवा र प्रचण्डले माधव नेपाललाई प्रधानमन्त्री बनाउन मानेका भए गठबन्धन भङ्ग नहुने बताएका छन् ।

‘देउवाले प्रचण्डलाई प्रधानमन्त्री हुन नदिने अवस्थामा अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर पनि अघि जान सकिन्थ्यो । कांग्रेसले देउवाबाहेक अर्को नेतालाई पनि बनाउन सक्थ्यो । तर, विकल्प हुँदाहुँदै पनि प्रचण्ड एमालेसँग एकाएक गठबन्धन गरेर सरकार बनाउनुभयो । यसले के फाइदा पुर्‍याउला र बेफाइदा होला, त्यो परिणाम बिस्तारै देखिएला ’, खतिवडाको यो भनाइले एक वर्ष भएपनि आलोपालोमा प्रधानमन्त्री दाबी गरिरहेका माधव एकाएक प्रचण्डलाई उछिन्न खोजिरहेको प्रष्टिन्छ ।

अघिल्लो दिन प्रचण्ड अब कुनै हालतमा प्रधानमन्त्री बन्न नसक्ने ओलीको ठोकुवालाई देउवा र किचन क्याबिनेटका मान्छेले रणनीतिक भाषण हो भनेर बुझ्न नसकेको भन्दै कांग्रेसमा तीव्र आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर