जब राष्ट्रपतिले राष्ट्रिय विभुति घोषणा गरेर पेलेलाई विदेशका क्लबमा खेल्नबाट रोके – Nepal Press

जब राष्ट्रपतिले राष्ट्रिय विभुति घोषणा गरेर पेलेलाई विदेशका क्लबमा खेल्नबाट रोके

काठमाडौं । हालैमात्र ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला डा सिल्भाले पेलेलाई स्मरण गर्दै भनेका छन्- उनले खेल्थेनन् मात्र त्यो पुरा ‘सो’ हेरेजस्तो हुन्थ्यो । सिल्भाजस्ता लाखौँ, करोडौँ ब्राजिलियनलाई एक सुत्रमा बाँधेका पेले नै हुन् जसले ब्राजिललाई फुटबलरको घर परिचय दियो । १५ वर्षको उमेरमा व्यवसायियक फुटबल खेल्न थालेका पेलेले त्यसको एक वर्षमै, सन् १९५७ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

सन् १९५८ मा ब्राजिल विश्व विजेता बन्दा १७ वर्षीय पेलेले विश्व फुटबलमा नयाँ स्टारको जन्म भएको सन्देश दिएका थिए। त्यतिबेला उनी फाइनलमा भिड्नुअघि विश्वकपमा गोल गर्ने र ह्याट्रिक गर्ने सबैभन्दा कम उमेरका खेलाडी भइसकेका थिए । फाइनलमा गोल गर्दै विश्वकपमा यस्तो सफलता हात पार्ने पहिलो किशोर बने । उनी विश्वकप जित्ने पनि सबैभन्दा कम उमेरको खेलाडी भए ।

त्यसयता, झन्डै ६० वर्षपछि फ्रान्सका केलियन एमबाप्पे मात्र विश्वकप फाइनलमा गोल गर्ने किशोर खेलाडी भए । विश्व विजेता बन्ने सबैभन्दा कम उमेरको खेलाडीसमेत भएपछि पेलेलाई ‘ओ रेई’ अर्थात राजा उपनामले समेत सम्बोधन गर्न थालिएको थियो ।

त्यसअघि उनले क्लब फुटबलमा सान्तोसबाट खेल्दै राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । हरेक वर्ष क्लब फुटबलमा गोलको वर्षा गरिरहेको अवस्थामा पेलेलाई सन् १९६१ मा तत्कालिन ब्राजिलका राष्ट्रपति जानियो क्वाड्रोसले घरेलु फुटबलमै राख्न राष्ट्रिय विभुति घोषणा गरेका थिए ।

त्यही कारण पेले विदेशका लिगमा गएर खेल्ने बाटो बन्द भयो । त्यसको अर्को वर्ष ब्राजिल फेरी विश्व विजेता बन्यो । सन् १९६८ मा पेलेको खेल हेर्न नाइजेरियामा भइरहेको गृह युद्ध ४८ घण्टाका लागि युद्ध विराम भएको बताइन्छ । त्यतिबेला सान्तोस नाइजेरिया भ्रमणमा थियो ।

सन् १९७० मा तेस्रोपटक विश्वकप जितेपछि उनी फेरी यो प्रतियोगितामा देखिएनन् । सन् १९७१ मा अन्तिमपटक उनी राष्ट्रिय जर्सीमा देखिए । सन् १९७४ मा खेलाडी जिवनबाट सन्याश लिनुअघिसम्म उनी सान्तोसबाट क्लब फुटबल खेलिरहेका थिए ।

सन्यास लिएपछि उनी अमेरिका पुगेर करिब तीन वर्ष फेरि व्यवसायिक फुटबलमा सक्रिय भएका थिए । उनको विदाई खेलमा पेले खेल्दै आएको न्युयोर्क कसमस र उनी लामो समय खेल्दै आएको सान्तोषबीच प्रदर्शनी खेल भएको थियो । पेलेले पहिलो हाफ कसमस र दोस्रो हाफ सान्तोसबाट खेलेका थिए ।

पेलेले अफिसिय खेलमा कति गोल गरे भन्नेमा त्यति धेरै विवाद नरहे पनि करियरमा गरेका गोललाई लिएर सँधै विवाद हुने गरेको छ । सन् २०१३ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले पेलेले करियरमा १२८१ गोल गरेको भनेर करियरमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा प्रमाणपत्र दिएको थियो । गिनिज बुकका अनुसार पेलेले आफ्नो करियरको एक हजारौँ गोल सन् १९६९ को नोभेम्बर १९ तारिखमा गरेका थिए ।

त्यतिबेला रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा पेलेले सान्तोषका लागि उक्त गोल गरेपछि दर्शक मैदान प्रवेश गरेर करिब आधा घण्टा खेल प्रभावित भएको उल्लेख रहेको पाइन्छ । त्यही गोलको स्मरणमा सान्तोषमा नोभेम्बर १९ तारिखलाई पेले डेका रुपमा मनाउने गरिएको हुन्छ । पेले र उनको पुस्ताबाटै हो, हरेक ब्राजिलियनको रगतमा फुटबल बगिरहेको हुन्छ भन्ने मान्यता सुरु भयो ।

सन् १९८० को दशकमा अर्जेन्टिनाका डिएगो म्याराडोना उदाएपछि उनको तुलनामा पेलेसँग भएन मात्र, यी दुईबीच को सर्वोत्कृष्ट भन्ने बहस पनि सुरु भयो । सन् १९९५ देखि तीन वर्ष पेले ब्राजिलको खेलकुद मन्त्री पनि बने । त्यही अवधिमा ब्राजिल सरकारले घरेलु फुटबलमा हुने भष्ट्रचारविरुद्ध ल्याइएको कानुनलाई ’पेले ल’का रुपमा सार्वजनिक गर्यो ।

सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी-आईओसीले पेलेलाई २० औँ शताब्धीका सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको थियो। तर त्यस विषयमा विरोध भएपछि एक वर्षलगत्तै विश्व फुटबल महासंघ-फिफाले म्याराडोना र पेले दुवैलाई शताब्दिकै सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको थियो । को सर्वोत्कृष्ट भन्ने बहस चलेपनि पेले र म्याराडोना धैरैपटक एउटै स्टेजमा देखिए । उनीहरुबीच सौहार्दपूर्ण व्यवहार भएको पनि देखिएको थियो ।

पछिल्लो १० वर्ष रोगसँग संघर्ष

सन् २०१२ पेलेले हिपमा समस्या देखिएपछि शल्यक्रिया गराएका थिए । त्यसको दुई वर्षपछ मृगौलामा पत्थरी देखिएपछि अर्को शल्यक्रिया भएको थियो । तर शल्यक्रियामा उनको मुत्र प्रणालीमा संक्रमण देखिएपछि समस्या बढेको थियो । झन्डै एक महिना अस्पताल बसेर डिस्चार्ज भएका पेलेको सन् २०१५ मा प्रोस्टेटको शल्यक्रिया पनि भएको थियो ।

सन् २०१६ रियो दि जेनेरियोमा आयोजित ओलम्पिकमा पेलेले दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेपनि उनी स्वास्थ्य समस्याका कारण सहभागी हुन सकेका थिएनन् । सन् २०१९ को अप्रिलमा मुत्र प्रणालीमा समस्या देखिएपछि उनी फेरि अस्पताल भर्ना भएका थिए ।

मृगौलामा पत्थरी रहेको पाइएपछि फेरी शल्यक्रिया भएको थियो । सन् २०२१ को सेप्टेम्बरमा उनको कोलोनमा ट्युमर देखिएपछि फेरी अस्पताल भर्ना भएका थिए । शल्यक्रिया गरेर ट्युमर हटाइएपनि त्यसैबाट पछि क्यान्सर बढेको थियो । उनी गत महिना फेरि अस्पताल भर्ना भएका थिए । यसपटक भने उनी घर फर्कन सकेनन् । अल्बर्ट आइन्सटाइन अस्पतालबाटै उनले कतार विश्वकप हेरेका थिए ।

पेलेसँग तुलना हुने गरेका म्याराडोनाको भने दुई वर्षअघि नै मृत्यु भइसकेको छ । त्यतिबेला पेले आफुले एउटा महान् साथी र विश्वले लिजेन्ड गुमाएको प्रतिक्रिया दिएका थिए । अहिले पेलेको मृत्युमा क्रिस्टियानो रोनाल्डोलगायतका खेलाडीले उनी अमर रहने प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर