गठबन्धन भत्किएसँगै प्रदेश १ कांग्रेस सांसदमा फेरियो समीकरण, सिटौलानिकट थापालाई ज्ञानेन्द्र कार्कीको साथ – Nepal Press

गठबन्धन भत्किएसँगै प्रदेश १ कांग्रेस सांसदमा फेरियो समीकरण, सिटौलानिकट थापालाई ज्ञानेन्द्र कार्कीको साथ

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ मा केहीबेरमा संसदीय दलको नेताको चुनाव हुँदैछन् । यहाँ तीनजनाले उम्मेदवारी दर्ता गरेका कारण दोस्रो चरणको मतदानपछि मात्रै दलको नेता छानिने देखिएको छ । कांग्रेस विधानअनुसार संसदीय दलको नेता बन्न प्रदेशसभामा रहेका पार्टीका प्रदेशसभा सदस्यको ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

प्रदेश १ सभामा कांग्रेसका प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ सीट गरी २९ सांसद छन् । बहुमतका लागि १५ भोट चाहिन्छ । तीनजना प्रतिस्पर्धामा हुँदा कसैले ५० प्रतिशत नकटाउने देखिएकाले अर्को चरणको निर्वाचनले मात्रै दलको नेता बन्ने देखिएको हो ।

दलको नेताका लागि अमृत अर्याल, केदार कार्की र उद्धव थापा भिडेका छन् । अर्याल सभापति शेरबहादुर देउवानिकट, कार्की शेखर कोइरालानिकटका हुन् । प्रदेश सभापतिसमेत रहेका थापा कृष्ण सिटौलानिकट मानिन्छन् ।

तीनजनामध्ये कसैले पनि १५ मत नल्याए बढी मत ल्याउने दुईजना बीच पुन: मतदान भई निर्वाचित गरिने निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले नेपाल प्रेसलाई बताए ।

पाँचदलीय गठबन्धन भत्किएर नयाँ सत्ता तालमेल बनेसँगै यहाँ कांग्रेस सांसदहरूमा एकाएक समीकरण फेरिएको एक नेता सुनाउँछन् ।

तीनमध्ये सिटौला पक्षका उद्धव थापाको पल्ला भारी देखिएको छ । यस प्रदेशमा सिटौला पक्षका ९ सांसद छन् । तीबाहेक उनलाई देउवाका विश्वास पात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीले समेत सघाएको कांग्रेस स्रोतले बताएको छ । ३ जना सांसद कार्कीनिकटका छन् । यस्तै संस्थापन पक्षकै प्रभावशाली नेता तथा प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले समेत थापालाई साथ दिएका छन् । रायमाझीले २ मतसम्म थप्न सक्ने बताइएको छ ।

यसो हुदाँ थापाले २९ मध्ये १३ देखि १४ भोट पाउने छन् । यसअघि संस्थापन पक्षसँग १२ मत रहेकोमा ज्ञानेन्द्रबहादुर कार्कीनिकटका ३ सांसदको भोट घट्दा संस्थापन पक्षका अमृत अर्यालसँग ९ मत रहने देखिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमले संस्थापन भोटमा असर गरेको कांग्रेसका एक प्रदेश पदाधिकारी नेपाल प्रेसलाई बताउँछन् । संस्थापनकै कारण संघदेखि प्रदेशसम्म सत्ता गुमाउनुपरेको भन्दै देउवासँग उनीनिकटकै सांसद चिढिएका छन् । यसका असर अर्याललाई पर्ने देखिएको छ । विजय गच्छदारनिकट रहेका दुई सांसद पछिल्लो समय नखुलेको बताइएको छ ।

प्रदेश १ मा कोइराला पक्षका ८ सांसद छन् । केदार कार्कीलाई केही मत अझ थपिन सक्ने आँकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर