कपिलवस्तु कांग्रेसमा रडाको : सभापतिसहित यी १२ नेतालाई हटाउन देउवालाई अभिषेकको पत्र – Nepal Press

कपिलवस्तु कांग्रेसमा रडाको : सभापतिसहित यी १२ नेतालाई हटाउन देउवालाई अभिषेकको पत्र

रुपन्देही । कपिलवस्तुमा मंसिर ४ को निर्वाचन परिणामको विषयमा कांग्रेस नेताहरूबीचको विवाद छताछुल्ल भएको छ ।

कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पराजित नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले जिल्ला सभापति अब्दुल कलामलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन् ।

सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै शाहले जिल्ला सभापतिसहित १२ जना नेतालाई कारबाही गर्न माग गरेका हुन् ।

शाहले लेखेको पत्रमा जिल्ला उपसभापति हुमकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, जिल्ला प्रवक्ता ईश्वरी पाण्डे, जिल्ला सदस्य हरिप्रसाद पोख्रेललाई समेत साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरिएको छ ।

०६४ देखि लगातार चुनाव जित्दै आएका शाह ५ दलीय गठबन्धनको साथ पाएर पनि हारेपछि दलकै नेताहरूको असहयोगले चुनाव जित्न नसकेको बताउँदै आएका छन् । निर्वाचनपछि कांग्रेस कपिलवस्तुमा एक पक्षले अर्को पक्षलाई आरोप लगाएर भाँडभैलो मच्चिएको छ ।

यसअघि क्षेत्रीय समितिले उनै शाहलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रतिउत्तरमा शाह उत्रेका हुन् ।

कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले शाह र कृष्ण नगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

यो क्षेत्रमा अहिलेसम्म एमालेले जित्न नसकेकोमा अहिले बलियो गठबन्धन हुँदा पनि पार्टीभित्रको विवादले गुमाउनुपरेको कांग्रेस नेताहरू बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर