चीनले भन्यो- नेपालको नयाँ सरकारसँग बीआरआईबारे नयाँ ढंगले अघि बढ्न तयार छौं – Nepal Press

चीनले भन्यो- नेपालको नयाँ सरकारसँग बीआरआईबारे नयाँ ढंगले अघि बढ्न तयार छौं

काठमाडौं । चीनले नेपालसँग बेल्ट एण्ड राेड इनिशियटिभलाई नयाँ ढंगले अगाडि बढाउन तयार रहेको जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ मिङले नियमित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।

उनले नेपालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरिन् । परम्परागत रुपमा नेपाल-चीन छिमेकी भएको नाताले चीनले नेपालसँगको सम्बन्धलाई गहिरो महत्व दिने बताइन् ।

पत्रकारले नेपालमा नयाँ प्रधानमन्त्रीका रुपमा प्रचण्ड नियुक्त भएका छन् । तपाईंको टिप्पणी र नेपाल-चीन सम्बन्ध कसरी अगाडि बढ्छ भनेर सोधेको प्रश्नमा प्रवक्ता मिङले भनिन्, ‘म प्रचण्डलाई बधाई दिन चाहन्छु । नेपालको भर्खरै सम्पन्न शान्तिपूर्ण निर्वाचन हामीले हेरेका छौं । नेपाल सरकार र जनताको साझा प्रयास एवम् विभिन्न राजनीतिक शक्तिहरुबीचको परामर्श र समन्वयबाट नेपालले समृद्धि, दिगो स्थायीत्व तथा आर्थिक विकास हुने विश्वास लिएका छौं ।’

उनले अगाडि बीआरआई परियोजनाको विषय उठाउँदै नेपालको नयाँ सरकारसँग बेल्ट एण्ड रोड करपोरेशनबारे नयाँ तरिकाले अघि बढ्न तयार रहेको आशय व्यक्त गरिन् ।

‘नेपालसँग उच्च गुणस्तरको बेल्ट एण्ड रोड परियोजनालाई अघि बढाउन, विकास र समृद्धिको लागि चिरस्थायी मित्रताका रणनीतिक सहकारी साझेदारी गर्दै दुई देशका जनताका थप फाइदाहरुका लागि हामी नयाँ प्रेरणा दिन तयार छौं’ उनले भनेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर