पहिला भारतीय खानेकुराको सेफ भन्थे, अहिले नेपाली सेफ भन्छ: शाह – Nepal Press

पहिला भारतीय खानेकुराको सेफ भन्थे, अहिले नेपाली सेफ भन्छ: शाह

काठमाडौं । बीस वर्षदेखि पाँचतारे होटेलमा भारतीय खानेकुरा बनाइरहेका मास्टर सेफ सन्तोष शाहले युके मास्टर सेफ रिम्याचसमेत जिते । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा आफ्नो अनुभव शेयर गर्दै शाहले भनेका छन्, ‘इण्डियन खानेकुराले सेमिफाइनलसम्म मात्रै मलाई पुर्‍याउँथ्यो ।लण्डनमा प्रतिस्पर्धाको तयारी गरिरहेको थिएँ । मलाई नेपाली खानेकुरा बनाउनुपर्ने भयो । तर, त्यहाँ इनग्रेडियन्स कहाँबाट ल्याउने ? लकडाउन थियो । एक-दुई महिना नेपाल आउन पाएको भए झनै राम्रो गर्थें होला ।’

नयाँ स्वादसहितको खानेकुरा बनाउनै चुनौती थियो शाहलाई । यसैका लागि उनले लण्डनमा रहेका नेपाली समुदायको घरघरमा फोन गर्न थाले । शाहलाई विश्वास थियो, नेपालीहरु संसारको जुनसुकै कुनामा पुगोस्, केही न केही सामान लिएर गएको हुन्छ ।

शाहले नेपाली किराँती समुदायमा प्रचलित तथा सांस्कृतिक महत्व बोकेको परिकार ‘तिते’ बताउन नेपालीहरुलाई फोन गर्दै सरसामान मगाउन थाले । ‘तिते’ कुखुराको भुत्ला पोलेर, त्यसमा मरमसला हालेर, स्पाइसी तरीकाले बनाइने खानेकुरा हो । यस परिकारको किराँती समुदायमा वेग्लै सांस्कृतिक महत्व पनि छ ।

अनि ‘तिते’ले नै शाहलाई युके मास्टर सेफको विजेता बनायो ।

पोखरामा आफ्नो अनुभव साट्दै शाह सुनाउँछन्, ‘नेपालीलाई आफ्नै खानाप्रति विश्वास छैन । हामीलाई अरु देशको भन्दा हाम्रै मुलुकको खाना मीठो र स्वादिलो छ भन्ने विश्वास नै छैन । यदि त्यति विश्वासमात्रै हुने हो भने हाम्रा खानाले संसार शयर गर्छ ।’

शाह नेपाली खानेकुरा अझै स्वादिलो गरी बनाउन सिकिरहेका छन् । अझै राम्रोसँग काम गर्ने योजनामा पनि छन् । शाह सुनाउँछन्, ‘पहिला भारतीय खानेकुराको सेफ भन्थें । अब नेपाली सेफ नै भन्छु ।’

संसारका साना देशहरु थाइल्याण्ड, भियतनामका खानेकुराले संसारभर प्रचार पाइरहेको छ । श्रीलंकन खानेकुराको पनि प्रचार भइरहेको छ । शाहको अनुभवले भन्छ, ‘ती सबै मुलुकका खानेकुरा हेर्दा नेपालका पनि दश बीस खानेकुरालाई संसारभर प्रचार गर्न सकिन्छ । त्यसमा थारु, नेवारलगायत समुदायमा प्रचलित खानेकुरालाई अगाडि बढाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *