गर्ल्यामगुर्लुम ढल्नुअघि बालुवाटारमा जब डा. महतले पूर्णबहादुरलाई झम्टिए… – Nepal Press

गर्ल्यामगुर्लुम ढल्नुअघि बालुवाटारमा जब डा. महतले पूर्णबहादुरलाई झम्टिए…

काठमाडौं । एकाएक गठबन्धन गर्ल्यामगुर्लुम ढलेसँगै कांग्रेसभित्र आरोप प्रत्यारोप चलिरहेका बेला बालुवाटारमा आइतबार नेताहरुबीचको विवाद जाइलाग्ने तहसम्म पुगेको सूचना चुहिएको छ ।

शेरबहादुर देउवाको कोर टिमभित्रकै नेताहरुबीच विवाद हुँदा प्रवक्ता डा. प्रकाशशरण महतले उपसभापति पूर्णबहादुर खड्कालाई झम्टिएको सोही बैठकमा सहभागीहरूले बाहिर सुनाएका हुन् ।

स्रोतका अनुसार प्रचण्ड निर्णायक वार्ता गर्न बालुवाटार पुग्नुअघि देउवाको कोर टिमबीच छलफल चलेको थियो । सो छलफलमा सहभागीमध्ये उपसभापति पूर्णबहादुर खड्का प्रचण्डलाई प्रधानमन्त्री दिएर गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएका थिए ।

रामचन्द्र पौडेलले त पटक पटक नेताहरूलाई प्रचण्डलाई धोखा नदिन भन्दै कांग्रेसले नत्र सबै चिज गुमाउने चेतावनी दिइरहेका थिए ।

प्रचण्डसहितको निर्णायक बैठक बस्नुअघि कोर टिमको छलफलमा आरजू देउवानिकट नेताहरू ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महतले कुनै हालतमा प्रधानमन्त्री छाड्न नहुने अडान लिए ।

राष्ट्रपति विद्यादेवि भण्डारीको दाजु समेत रहेका कार्कीले विश्वासका साथ राष्ट्रपतिबाट समय थप हुने बताएका थिए । तर खड्काले त्यो सम्भावना आफूले नदेखेको र प्रचण्डलाई प्रधानमन्त्री नदिए सोही साँझ ५ बजेभित्र राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश हुने जानकारी आफूले राखेको बताए ।

विवाद बढ्दै जाँदा आफू बसेको स्थानबाट उठेर महतले खड्कालाई झम्टिन खोजेको त्यहाँ सहभागीले सुनाए । त्यस क्रममा दुई नेताबीच भनाभन समेत भएको थियो । खड्काले आफूमाथि महतले हातपात गर्न खोजेको भन्दै ठाउँको ठाउँ प्रतिवाद गरेका थिए । त्यो माहौल निकै अशान्त र राणा शासन शुरु हुनु अघिको भारदारी सभाजस्तो भान भएको नेताहरू बताउँछन् ।

कार्की र महत प्रचण्डलाई ओलीले प्रधानमन्त्री कुनै हालतमा नबनाउनेमा विश्वस्त थिए । तर खड्काले यो सूचना पाइसकेका थिए । देउवालाई गुमराहमा राखेको भन्दै खड्कालगायतका देउवा टिमकै नेताहरू आक्रोशित थिए । एकाएक प्रचण्ड गठबन्धन तोडेर हिँडेदेखि कार्की र महत बालुवाटारको सम्पर्कबाट बाहिरिएको बताइएको छ ।

खड्का, बालकृष्ण खाँणलगायतका नेताहरूले बालुवाटारमा सांसद भेला गरेर प्रधानमन्त्री नछाड्न दबाब दिइएकोमा समेत असन्तुष्टि जनाएका थिए । पूर्णबहादुर खड्का र डा. महतबीच कर्णालीको संसदीय दलको नेता चयनको विषयमा समेत यसअघि विवाद भएको थियो ।

आफ्नो प्रदेशको मामिलामा हस्तक्षेप गरेकोमा खड्का असन्तुष्ट थिए । बालुवाटारको कोर टिममै गठबन्धन जोगाउने भन्दा देउवालाई ‘सबै ठिक छ हामी मिलाउँदैछौं’ भन्नेहरू हाबी भएको आरोप कांग्रेसमा खुलेआम चलिरहेको छ ।

त्यसो त तत्कालीन अर्थमन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्माले पनि बालुवाटारको कोर टिमलाई प्रचण्ड अन्तिमसम्म मिल्ने र गठबन्धनबाट बाहिर जान नसक्ने ब्रिफिङ गरेको कारण पनि आफूहरू ढुक्क बनेको ती नेताहरूले बताउन थालेका छन् ।


प्रतिक्रिया

2 thoughts on “गर्ल्यामगुर्लुम ढल्नुअघि बालुवाटारमा जब डा. महतले पूर्णबहादुरलाई झम्टिए…

  1. एकोहोरो महतको काम जसलाई पनि झम्टने ह‍ो । कुनै दिन मालिक देउवालाइ नै झम्टेको सुन्न पाईन्छ ।

  2. प्रकाशसरण महत एक नम्वरका लठैत र जनाधार नभएका चाकरीबाज हुन भन्ने फेरि एकपल्ट पुष्टि भयो। कांग्रेसलाई सिध्याउने भए यस्ता धमिराहरुले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर