गठबन्धनको छलफलमा सभापतिजीले बोलाउनुभएन, नबोलाई घरमा जाने कुरा भएन : गगन थापा (भिडिओ) – Nepal Press

गठबन्धनको छलफलमा सभापतिजीले बोलाउनुभएन, नबोलाई घरमा जाने कुरा भएन : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन टुटेकोमा सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट जनाएका छन् । पोखरामा जारी लिटरेचर फेस्टिबलमा बोल्दै उनले आफूलाई गठबन्धनको बैठकमा नबोलाएको बताए ।

थापाले भने, ‘मैले समचार के पढेँ भने- सभापतिले पार्टीसँग छलफल गर्छु त्यसपछि गठबन्धनको बैठकमा निर्णय गर्छु भन्नुभएछ । त्यो पार्टीभित्र त म पनि अनिवार्य पर्छु । मलाई लागेको थियो मैले बेलुकाको यो कार्यक्रमको सत्र चाहिँ छुट्छ होला । बेलुकाको त्यो बैठकमा म हुनुपर्छ । त्यसैले यहाँ छुट्छ होला जस्तो लागेको थियो । पार्टी कार्यालयमा होइन निवासमा भइरहेको छलफल । उहाँको घरमा नबोलाई जाने कुरा पनि भएन ।’

गठबन्धनको बैठकमा आफूलाई खबर आउँछ भनेर पोखरा जानुपर्ने प्लेनको टिकट सारेर २ बजेसम्म कुरेको उनको भनाइ थियो ।

‘बैठकमा बोलाइनेमा त पर्छु भनेर म टेलिफोन कुरेर बसेको थिए । प्लेनको टिकट पनि १० बजेलाई १२ बजे १२ बजेलाई सारेर बसेको । त्यसैले म यहाँ आउँदै गर्दा त एक किसिमले भन्नुपर्दा अपमानित भएर आएको जस्तो लागेको छ । मैले त्यही कुरा महसुस गरेको हो’, उनले भने, ‘हिजोको घटनापछि पहिलोपटक म यो कुरा आज यहाँ राख्दैछु ।’

https://youtu.be/74Wth1mA1oI

उनले पार्टीका कार्यकर्तालाई हिजोबाट एउटा हारजितको प्रकरण सकिएको बताए । कांग्रेस फेरि उठ्ने र उठाउन आफू सक्रिय भएर लाग्ने उनको भनाइ छ । आफूहरू अहिले कांग्रेसलाई कसरी सुदृढ बनाउने भन्नेबारेमा सोचिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर