ओलीले भने- चुनावमा धाँधली भयो, हाम्रो विजय खोसियो (भिडिओ) – Nepal Press

ओलीले भने- चुनावमा धाँधली भयो, हाम्रो विजय खोसियो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न भएको आम निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग भएको आरोप लगाएका छन् । जनताको सार्वभौम अधिकारको हनन गरेर आफ्नो पार्टीको हातबाट विजयी खोसिएको उनको दाबी छ ।

आज एमालेले आयोजना गरेको विशेष सम्मान कार्यक्रममा बोल्दै ओलीले थुप्रै ठाउँमा धाँधली भएको र चुनाव गराउने निकायको भूमिका पनि निष्पक्ष नदेखिएको गुनासो गरे ।

उनले भने, ‘यस चुनावमा हाम्रो विजय खोसिएको छ । राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भयो । जनताको सार्वभौम अधिकार हनन गरियो । निर्भय वातावरणमा जनताले प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो । यो जनताको सार्वभौमसत्तामाथिको प्रहार हो । लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।’

ओलीले धेरै ठाउँमा धाँधली भएको प्रमाण हुँदा पनि आयोगले पुन मतदान नगराएको बताए ।

‘बुथ क्याप्चर भएका प्रमाणहरू छन् तर दोहोर्‍याएर निर्वाचन गरिएन । ९९ प्रतिशत भोट खस्नु, मरेका मान्छेले भोट हाल्नु, विदेश भएकाले भोट हाल्नु जस्ता कुराहरू भए । तर, देख्नुपर्ने ठाउँबाट ती देखिएनन्,’ ओलीले भने ।

एमालेले अपेक्षा गरेको सीट नल्याएको भए पनि आफूहरूले उत्सव मनाइरहेको उनले बताए ।

ओलीले थपे, ‘हामी उल्लासमय वातावरणमा छौं । चुनावअघि हामीलाई धुलो चटाउने, दिउँसै टर्च बालेर खोज्नुपर्ने कुराहरू भएका थिए । तर, एमालेलाई खोज्न टर्च बाल्न पर्दैन । एमालेको आवाज र गतिविधि जसले जहाँबाट पनि सुन्न सक्छ विश्वभरिबाट ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर