२४ वर्षअघि जिदानले ब्राजिललाई निराश बनाएका थिए, फ्रान्सविरुद्ध मेस्सी सफल होलान् ? – Nepal Press

२४ वर्षअघि जिदानले ब्राजिललाई निराश बनाएका थिए, फ्रान्सविरुद्ध मेस्सी सफल होलान् ?

काठमाडौं । सन् १९९८ को विश्वकप फ्रान्सका लागि खास थियो । एकातर्फ घरेलु मैदान अनि फाइनल यात्रा । अर्कोतर्फ उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने टोली साविक विजेता- ब्राजिल । चार वर्षअघि इटालीलाई टाइब्रेकरमा पराजित गरेर उपाधि जितेको ब्राजिल ३६ वर्षअघिको आफ्नै सफलता दोहोर्‍याउने प्रयासमा थियो- उपाधि रक्षा ।

८ वर्षअघि यस्तो सफलता नजिक पुगेको अर्जेन्टिना तत्कालीन पश्चिम जर्मनीसँग पराजित भयो । सन् १९९० विश्वकपको फाइनलमा अर्जेन्टिना उपाधि रक्षा गर्ने अभियानमा फाइनलसम्म पुगेपनि जर्मनी बदला लिन सफल भयो । तर, त्यो त्यति सहज भएन । ८५ औँ मिनेटमा आन्द्रेस ब्रेह्मले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई उपाधि जिताएका थिए । ६५ औँ मिनेटमा अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।

सन् १९८६ को विश्वकपमा पश्चिम जर्मनीलाई नै हराएर उपाधि जितेको अर्जेन्टिना लगातार विश्वकप जित्ने दुर्लभ अवसरमा चुक्यो । तर, ब्राजिलका लागि उपाधि रक्षा त्यति गाह्रो देखिएको थिएन सन् १९९८ मा, फाइनलसम्मको यात्रा हेर्दा । टोलीमा रोनाल्डो, रोबर्टो कार्लोस, डुंगा, रिभाल्डो, बेबेटोजस्ता होनाहार खेलाडी थिए । फाइनलमा भिड्नुअघिसम्म रोनाल्डोले ४ र अन्य तीन ब्राजिलियन खेलाडीले ३/३ गोल गरेका थिए रिभाल्डो र बेबेटोसहित ।

समूहगत चरणमा दुई जित र एक हार व्यहोरेको ब्राजिलले प्रिक्वाटरफाइनलमा चिलीलाई ४-१ र क्वाटरफाइनलमा डेनमार्कलाई ३-२ ले गोलले हराएको ब्राजिलले सेमिफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरेको थियो । यता समूहगत चरणमा तीनवटै खेल जितेको फ्रान्सले क्वाटरफाइनलमा पाराग्वेलाई १-० गोलले हराएको थियो । क्वाटरफाइनलमा साविक उपविजेता इटालीलाई टाइब्रेकरमा हराएको फ्रान्स सेमिफाइनलमा क्रोएसियामाथी २-१ गोलको जित निकाल्दै फाइनल पुगेको थियो ।

फ्रान्सको त्यो पहिलो विश्वकप फाइनल यात्रा थियो । फाइनलसम्म पुग्दा थिएरी हेनरीले सर्वाधिक ३ गोल गरेका थिए । लिलियाम थुरामको नाममा २ गोल रहेको थियो । तर, एट्याकिङ मिडफिल्डर जिनेदिन जिदानले भने गोल गर्न सकेका थिएनन् । स्टेड डे फ्रान्समा भएको फाइनलमा ७५ हजार दर्शकसामु घरेलु टोलीले ब्राजिलसँग उपाधि भिडन्त गर्दै थियो ।

फ्रान्स खरो उत्रियो, जिदान फाइनलमा आएर चम्किए । पहिलो हाफमै जिदानले दुई गोल गरे, फ्रान्सले खेल ३-० गोलले जित्यो र ब्राजिलको उपाधि रक्षा गर्ने प्रयास पूरा हुन सकेन । फ्रान्स विश्वकप जित्ने चौथो घरेलु टोली बन्यो । त्यसअघि सन् १९३० मा उरुग्वे, सन् १९६६ मा इङ्ल्यान्ड र सन् १९७८ मा अर्जेन्टिनाले मात्र त्यस्तो सफलता हात पारेका थिए । फ्रान्सले प्राप्त गरेको उक्त सफलता त्यसयता कुनैपनि टोलीले दोहोर्‍याउन सकेका छैनन् ।

कतारमा जारी विश्वकपमा फ्रान्स उपाधि रक्षा गर्ने अभियान कायम राख्दै फाइनल पुगेको छ । अर्जेन्टिनालाई आईतबार हुने फाइनलमा पराजित गर्न सके फ्रान्स ६० वर्षपछि विश्वकप उपाधि रक्षा गर्ने टोली बन्ने छ ।

फाइनलमा भिड्ने यी दुई टोलीबीच केही विशेषता छन् । दुवै टोलीले समूहगत चरणमा दुई जित र एक हार व्यहोरेका थिए । पहिलो खेलमा पराजित भएपछि दबाबमा आएको अर्जेन्टिनाले अन्तिम खेल जितेरमात्र नकआउट चरणमा स्थान पक्का गरेको थियो । फ्रान्सले भने सुरुका दुवै खेल जितेर अगाडि बढ्ने निश्चित गरेको थियो ।

फ्रान्स र अर्जेन्टिना दुवैले सेमिफाइनलमा गोल व्यहोरेनन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने शीर्ष चार खेलाडीमा फ्रान्स र अर्जेन्टिनाका दुई-दुई खेलाडी छन् । अर्जेन्टिनाका कप्तानसमेत रहेका लियोनल मेस्सीले ५ गोल र तीन असिस्ट गरेका छन् भने फ्रान्सका केलियन एमबाप्पेको ५ गोल र २ असिस्ट रहेको छ । यस्तै फ्रान्सका ओलिभर जिरोड र अर्जेन्टिनाका जुलियान अल्भारेजले ४/४ गोल गरेका छन् ।

७ पटकका फिफा वर्ष खेलाडी मेस्सी पहिलो विश्वकप उपाधि जित्ने प्रयासमा रहेका छन् । यसअघि सन् २०१४ मा पनि उनी सम्मिलित अर्जेन्टिना फाइनल पुगेको थियो तर उपाधि भिडन्तमा जर्मनीसँग १-० गोलले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *