गण्डकी कांग्रेसमा ट्वीस्ट- मुख्यमन्त्रीमा प्रचण्डका उम्मेदवार पाण्डेलाई महेन्द्रध्वज जिसीको चुनौती – Nepal Press

गण्डकी कांग्रेसमा ट्वीस्ट- मुख्यमन्त्रीमा प्रचण्डका उम्मेदवार पाण्डेलाई महेन्द्रध्वज जिसीको चुनौती

जिसी भन्छन्- गण्डकी संसदीय दलमा हाम्रो बहुमत छ, अबको मुख्यमन्त्री म हो

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्रध्वज जिसीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । कांग्रेसबाट गोरखाका सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्डले समेत सार्वजनिक घोषणा गरिसकेका वेला जिसीले दाबी गरेका हुन् ।

पूर्वी नवलपुर १ को प्रदेशसभा १ बाट निर्वाचित जिसीले गण्डकीको संसदीय दलको नेतामा आफू चुनाव लड्ने बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै जिसीले आफू प्रदेशबाट निर्वाचित भएकामध्ये सबैभन्दा सिनियर र केन्द्रको संसदीय दलकाे सचिवसमेत भइसकेको व्यक्ति भन्दै मुख्यमन्त्री नछाड्ने बताए ।

गण्डकी प्रदेशसभामा शुक्रराज शर्मा समानुपातिकको एक नम्बरमा थिए । तर, सबै महिला पर्ने भएपछि उनी निर्वाचित हुन सकेनन् । शर्मा निर्वाचित नभएपछि आफूले उम्मेदवारी घोषणा गरेको जिसीले बताए । उनले आफू पार्टीभित्र शेखर-गगन समूह र रामचन्द्र-शशांक समूहको साझा उम्मेदवार रहेको बताए ।

जिसीले भने, ‘शुक्रराज दाइ हुँदा मेरो उम्मेदवारी नरहने थियो । तर, अब म साझा उम्मेदवार हुँ र मैले मुख्यमन्त्री दाबी गरेको छु । अरु को को कसको समर्थनमा उठ्छन् मलाई थाहा छैन, गण्डकीमा हाम्रो २७ जनाको संसदीय दलमा हाम्रो बहुमत छ ।’

कांग्रेसबाट प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी गण्डकी प्रदेश सभामा २७ जना सांसद छन् । बहुमतका लागि ३१ जना चाहिन्छ । गठबन्धनको सरकार बन्दा दुईतिहाइ बहुमत पुग्ने देखिन्छ । सुरेन्द्र पाण्डे देउवा समूहका हुन् । गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १६ जना सांसद देउवाइतर समूहका निर्वाचित भएको बताइन्छ ।

शशांक कोइराला निकट मानिने जिसी संस्थापन इतर समूहबाट साझा उम्मेदवार बन्ने सम्भावना रहेको कांग्रेस नेताहरुले बताएका छन् । यदि जिसी उम्मेदवार बनेमा दलको चुनाव जित्न सुरेन्द्र पाण्डेलाई मुस्किल हुनेछ । उनीसँग देउवा समूहकै नेतासमेत रुष्ट छन् ।

चुनावका वेला कांग्रेसलाई चिढ्याएर प्रचण्डलाई गिरिजाप्रसाद कोइराला जस्तै महामानव भनेको भाइरल भिडिओ अहिले कांग्रेसका सांसदहरुबीच आदानप्रदान भइरहेको छ । कांग्रेस संसदीय दलमा पाण्डेलाई प्रचण्डका उम्मेदवार भनेर प्रचार गरिएको छ भने जिसीलाई कांग्रेसका साझा उम्मेदवार भनिएको छ ।

जिसी २०५१ सालमा नवलपरासी १ बाट सांसद जितेका थिए भने २०६४ मा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य जितेर कांग्रेस संसदीय दलको सचिव बनेका थिए । उनी अहिले कांग्रेसको नवलपरासी जिल्ला सभापति छन् ।


प्रतिक्रिया

2 thoughts on “गण्डकी कांग्रेसमा ट्वीस्ट- मुख्यमन्त्रीमा प्रचण्डका उम्मेदवार पाण्डेलाई महेन्द्रध्वज जिसीको चुनौती

  1. महेन्द्र जि सि लाई जिताउनु पर्छ । अनुभवले खारिएका ब्याक्तित्व हुन, जनता सङ्ग बस्न रुचाउने नेता हुन यिनी ।

  2. Mahendra GC khas janajaati ma parxan tesai le janajaati ko pratinidhi ko rupma hune vayeko le yinilai dinu ramro pani ho jasto laagcha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर