रात्रीकालीन व्यवसाय सहज बनाएका छौं: गृहमन्त्री खाण – Nepal Press

रात्रीकालीन व्यवसाय सहज बनाएका छौं: गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता देशमा रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने काम गर्ने बताएका छन् ।

भैरहवामा शुक्रबारदेखि सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै खाणले यो सरकारले पनि उद्योगी ब्यवसायीको विषयमा गम्भीरताका साथ बिषय उठान गरेको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई सम्बोधन गर्ने रहेको बताए ।

सरकारले रात्रीकालीन ब्यवसाय सञ्चालन गर्ने निर्णय गरिसकेको हुँदा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई ब्यवसाय सञ्चालन गर्न सकिने उनले बताए ।

यससँगै राति १२ बजेसम्म सञ्चालन हुने रेष्टुरेन्ट, भोजन घरलगायतका ब्यवसायको लागि भने रात्रीकालीन ब्यवसाय सञ्चालन सम्बन्धि कुनै पनि स्वीकृति लिन आवश्यक नपर्ने मन्त्री खााको भनाइ छ । यस्तो ब्यवसायलाई प्रहरीले हस्तक्षेप गर्नुको सट्टा सहयोग गर्ने उनले आश्वासन दिए ।

गृहमन्त्री खाणले बजेट ब्यवस्थापन सरकारले गर्ने आश्वासन दिएका छन् । सिद्धार्थनगरको सुखदुखमा साथ रहने प्रतिवद्धतासंगै गौतमबुद्ध अन्तर्राष्टिय बिमानस्थल आर्थिक विकासको केन्द्र बन्ने खाणको भनाइ छ । भविष्यमा बिमानस्थलले आमनागरिकको जीवनमा परिवर्तन ल्याउने उनको भनाइ छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले विषम परिस्थितिमा पनि आशा नमरेको बताए । “आशा मरेको छैन यसैभित्र सम्भावनाहरुको खोजीमा निजी क्षेत्र रहेको छ ।” उनले भने “यसको लागि सहि सरकारी नीति, निजी क्षेत्र मैत्रीय बनाउन साथै अब आर्थिक क्रान्तिका वारेमा वहस गर्न जरुरी छ ।”

न्यौपानेले अब आउने सरकार र संसदमा देशको निजी क्षेत्रको भूमिका देश निर्माणमा भन्ने नारासहित बृहत छलफलका साथै सुशासन र समृद्धितर्फ अगाडि बढ्न्पर्ने देखिनुपर्ने जिकिर गरे । पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार भन्ने नाराका भैरहवामा आठौं लुम्बिनी राष्ट्रिय महोत्सव शुक्रबारदेखि सुरु भएको छ ।

लुम्बिनी महोत्सव २०७९ मा २ सय ५० स्टल रहेको छ । मेलामा आउने दर्शकलाई लुम्बिनीसंग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने प्रचार प्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।

करिब २ लाख ५० हजार दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिव १० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको घिमिरेले बताए ।

 


प्रतिक्रिया

One thought on “रात्रीकालीन व्यवसाय सहज बनाएका छौं: गृहमन्त्री खाण

  1. तस्करी, भ्रष्टाचार, कमिशन, रात्रिकालीन व्यवसाय यिनैलाई त सहज बनाएका छौ तिमीहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर