देउवा क्याबिनेटका १४ मन्त्री : चार निर्वाचित हुँदा ४ पराजित, अरुको के छ अवस्था ? – Nepal Press

देउवा क्याबिनेटका १४ मन्त्री : चार निर्वाचित हुँदा ४ पराजित, अरुको के छ अवस्था ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रधानमन्त्रीसहित १४ जना मन्त्रीले निर्वाचनमा होमिएका थिए । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका ७ जना, नेकपा (माओवादी केन्द्र)का ४ जना र नेकपा (एकीकृत समाजवादी)का ३ जना गरेर १४ जना मन्त्रीले सत्ता गठबन्धनबाट चुनावी मैदानमा थिए ।

अहिलेसम्म प्रधानमन्त्री देउवासहित ४ जना मन्त्रीले निर्वाचन जितिसकेका छन् भने ४ जना मन्त्री पराजित भइसकेका छन् । यस्तै ४ जना मन्त्रीले नै अग्रता लिइरहेका छन् भने २ जना मन्त्री प्रतिस्पर्धामा पछि परेका छन् । निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका देउवासँगै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्रप्रसाद बडु रहेका छन् । यस्तै नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल रहेका छन् भने नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवारी दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर रहेका छन् ।

प्रधानमन्त्रीसहित निर्वाचित हुने ४ जना मन्त्री

प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् । २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका देउवाले डडेल्धुराबाट सातौँ पटक संघीय संसद्मा निर्वाचित भएका हुन् । उनले २५ हजार ५३४ मत ल्याएर जित हासिल गर्दै गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ३१ वर्षका सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे । देउवाले १२ हजार ४९२ मतान्तरले विजय हासिल गरेका हुन् । देउवा विजयी भएसँगै नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएमा पुन प्रधानमन्त्री हुने बाटो पनि खुलेको छ । यद्यपि संसदीय दलको निर्वाचन भने उनले सामना गर्न बाँकी छ । नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाले संसदीय दलको निर्वाचन लड्ने प्रधानमन्त्रीका लागि दाबी गर्ने घोषणा गरिसकेका छन् ।

२०७४ सालको निर्वाचनमा समानुपातिकबाट संघीय सांसद बनेका उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू भने यस पटक प्रत्यक्षतर्फ दार्चुलाबाट निर्वाचित भएका छन् । बडूले नेकपा (एमाले)का उम्मेदवारसमेत रहेका पूर्वमन्त्री गणेशसिंह ठगुन्नालाई २ हजार १३१ मतान्तरले पराजित गरेका हुन् । बडूले २८ हजार ५१५ मत प्राप्त गर्दा ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बाग्लुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भइसकेका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार मञ्जु शर्मालाई ४ हजार ६०० मतान्तरले पराजित गरेका हुन् । पौडेलले २४ हजार ७८० मत प्राप्त गर्दा शर्माले २० हजार १८० मत प्राप्त गरेकी छन् । पौडेल २०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम क्षेत्र नम्बर एकबाट निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार झपटबहादुर बोहरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरेका हुन् । कुँवरले १९ हजार ५३४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बोहराले १५ हजार ४५ मत प्राप्त गरेका छन् । कुँवर यसअघि राष्ट्रियसभा सदस्य थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मन्त्री कुँवर यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

अग्रता कायम गरेका ४ मन्त्री

नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाण एमालेसहितको गठबन्धनबाट राप्रपाका उम्मेदवार दीपक बोहरासँग प्रतिस्पर्धा गरिरहेका छन् । जसपाकोसमेत समर्थन पाएका बोहरा खाणबिच कडा प्रतिस्पर्धा भइरहेको छ । खाणले २० हजार ८०४ मत प्राप्त गर्दा बाहोराले २० हजार ७३५ मत प्राप्त गरेका छन् । उनीहरूबिच ६९ मतको मात्रै फरक छ । मन्त्री खाण २०७४ सालको निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यस पटक आफू प्रत्यक्षमा निर्वाचन लडेर समानुपातिकमा भने श्रीमती मञ्जु खाणलाई सुरक्षित बनाएका छन् ।

नेपाली काँग्रेसबाटै उदयपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका परराष्ट्रमन्त्री नारायण खड्का नेकपा (एमाले)का उम्मेदवार मञ्जुकुमारी चौधरीसँग भिडिरहेका छन् । चौधरीलाई खड्काले एक हजार १२३ मतले पछि पारेर खड्काले १३ हजार १० मत प्राप्त गरेका छन् भने चौधरीले ११ हजार ८८७ मत प्राप्त गरेकी छन् । मन्त्री खड्का २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

नेकपा (माओवादी केन्द्र)बाट रुकुम पश्चिममा उम्मेदवारी दिएका अर्थमन्त्री जनार्दन शर्मा भने जित नजिक पुगेका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार नन्दराम देवकोटालाई १६ हजार ७९३ मतान्तरले पछि पारेका छन् । शर्माले २४ हजार ८२४ मत प्राप्त गर्दा देवकोटाले ८०३१ मत मात्रै प्राप्त गरेका छन् । शर्मा २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

नेकपा (एकीकृत समाजवादी)बाट दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका सहरी विकासमन्त्री मेटमणि चौधरीले पनि अग्रता लिइरहेका छन् । १९ हजार ४०० मत प्राप्त गरेका चौधरीले नेकपा (एमाले)का उम्मेदवार शान्ता चौधरीलाई ४ हजार २८९ मतान्तरले पछि पारेका छन् । एमाले उम्मेदवार चौधरीले १५ हजार १११ मत प्राप्त गरेकी छन् । मन्त्री चौधरी २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

यी हुन पराजित ४ मन्त्री

ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.तोशिमा कार्कीसँग पराजित भएकी छन् । उनी कार्कीसँग निकटतम प्रतिस्पर्धामासमेत अटाउन नसकेर तेस्रो स्थानमा पुगिन् । कार्की र मन्त्री भुसालविचमा २२ हजार ३६७ को मतान्तर छ । कार्कीका निकटतम प्रतिस्पर्धी भने नेकपा (एमाले)का उम्मेदवार अमृत खड्का बने । उनले कार्की भन्दा १८ हजार १७३ मतले पछि परेका खड्काले १२ हजार ९६३ मत प्राप्त गरे भने भुसालले ८ हजार ७६९ मत मात्रै प्राप्त गर्न सकिन् । मन्त्री भुसाल २०७४ सालको प्रतिनिधि सभा निर्वाचन र २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

माओवादीबाटै बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज पनि पराजित भएका छन् । २०७४ सालमा यसै क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार माधवराम खत्रीलाई २ हजार ९५६ मतान्तरले पराजित गरेका गहतराजलाई यस पटक नेकपा (एमाले)का सूर्यप्रसाद ढकालले ५ हजार ३९४ मतान्तरले पराजित गरेका छन् । ढकालले २५ हजार २४ मत प्राप्त गर्दा गहतराजले १९ हजार ६३२ मत प्राप्त गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ८ मा उम्मेदवार बनेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराज श्रेष्ठ पनि पराजित भएका छन् । श्रेष्ठ २०७४ सालको निर्वाचनमा नेकपा (एमाले)बाट यसै क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार स्वर्गीय नवीन्द्रराज जोशीलाई ४४४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । यस पटक भने उनलाई भर्खरै मात्र गठन भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले तेस्रो नम्बरमा पुर्‍याइदिएका छन् । श्रेष्ठ उक्त निर्वाचन क्षेत्रबाट विजेता बनेका श्रेष्ठको निकटतम प्रतिस्पर्धीसमेत बन्न सकेनन् । बरु हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी निकटतम प्रतिस्पर्धी बन्न सफल भए । रास्वपाका श्रेष्ठले निकटतम प्रतिस्पर्धी सायमीलाई ३ हजार ९३१ मतान्तरले पराजित गरेका हुन् । विजेता श्रेष्ठले १० हजार १०५ मत प्राप्त गर्दा सायमीले ६ हजार १७४ मत प्राप्त गरे भने मन्त्री श्रेष्ठले ४ हजार ८७७ मत मात्रै प्राप्त गरे ।

यस्तै नेपाली काँग्रेसबाट चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भएका छन् । उनलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछानेले पराजित गरेका हुन् । लामिछानेले १६५ वटै निर्वाचन क्षेत्रमध्ये अहिलेसम्मको नजिता अनुसार सबैभन्दा धेरै ३४ हजार १६२ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् । लामिछानेले ४९ हजार २६४ मत प्राप्त गर्दा श्रेष्ठले १४ हजार ९८३ मत मात्रै प्राप्त गरे भने नेकपा (एमाले)का उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत प्राप्त गरे । मन्त्री श्रेष्ठ २०७४ सालको निर्वाचनमा ललितपुरबाट समानुपातिक सांसद निर्वाचित भएका थिए ।

प्रतिस्पर्धामा पछाडि रहेका २ जना मन्त्री

सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली काँग्रेसबाटै सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिस्पर्धामा छन् । उनीसँग नेकपा (एमाले)का जगदिशप्रसाद कुसियत प्रतिस्पर्धामा गरिरहेका छन् । अहिलेसम्मको मतपरिणाम कुसियैतले कार्कीलाई पछि पारेका छन् । कुसियतले १३ हजार ७१५ मत प्राप्त गर्दा कार्कीले १३ हजार १७२ मत प्राप्त गरेका छन् । कुसियत र कार्कीविच ५४३ मतान्तर रहेको छ । कार्की २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार रहँदा कुसियैतलाई जसपाको समर्थन रहेको छ ।

कांग्रेसबाटै खानेपानीमन्त्री उमाकान्त चौधरीले बारा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले पनि जित्ने सम्भावना कम देखिएको छ । उनीसँग प्रतिस्पर्धामा रहेका नेकपा (एमाले)का उम्मेदवार अच्युतप्रसाद मैनालीले चौधरीलाई ७ हजार ६३२ मतले पछि पारेका छन् । मैनालीले ३३ हजार १७७ मत प्राप्त गर्दा चौधरीले २५ हजार ५४५ मत प्राप्त गरेका छन् । चौधरी २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

३ मन्त्री र २ राज्यमन्त्री उम्मेदवार बनेनन्

संघीय मन्त्रिपरिषद्का १९ जना सदस्यमध्ये १४ जना मन्त्रीले चुनावी मैदानमा रहे पनि ३ जना मन्त्री र दुइ जना राज्यमन्त्री भने उम्मेदवार बनेनन् । जसमा कांग्रेसबाट महिला बालबालिका मन्त्री बनेकी उमा रेग्मी र माओवादी केन्द्रबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी शशि श्रेष्ठ र एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री भएको भवानीप्रसाद खापुङ उम्मेदवार बनेनन् । माओवादी केन्द्रबाट शिक्षा राज्यमन्त्री बोधमायाकुमारी यादव र नेकपा (एकीकृत समाजवादी)बाट स्वास्थ्य तथा जनसंख्या रहेका राज्यमन्त्री हिराचन्द्र केसी पनि चुनावी प्रतिस्पर्धामा छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर