प्रहरीमा ‘अब्बल सेलिब्रेटी’ हाकिमहरु सांसद बन्न भए असफल – Nepal Press

प्रहरीमा ‘अब्बल सेलिब्रेटी’ हाकिमहरु सांसद बन्न भए असफल

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा नेपाल प्रहरीका तीन पूर्वसेलिब्रेटी हाकिम प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरु तीनै जना पराजय भोगे । उनीहरुले काठमाडौं उपत्यकामै चुनाव लडेका थिए ।

पराजित हुने पूर्वआईजीपी सर्वेन्द्र खनाल र पूर्वडीआईजी नवराज सिलवाल नेकपा एमालेका उम्मेदवार थिए । पूर्वडीआईजी रमेश खरेल भने आफ्नै पार्टी खोलेर संसदीय राजनीतिमा आएका हुन् । तर, उनी पनि सफल हुन सकेनन् ।

खरेल र खनाल पहिलो चुनावी प्रतिस्पर्धामा पराजित भए । यसअघि प्रहरीको बर्दी फुकालेर राजनीतिमा प्रवेश गरेका सिलवाल २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । यसपटक उनी जीत दोहोर्‍याउन असफल भए ।

प्रहरी सेवामै रहँदा एमालेनिकट रहेको आरोप लागेका सिलवाल डीआईजी वरियताको पहिलो नम्बरमा रहेर पनि नेपाली कांग्रेस नेतृत्वको सरकारले आईजीपी नबनाइएपछि राजीनामा दिएर राजनीतिमा आएका हुन् । उनी तत्कालै एमाले प्रवेश गरेर प्रतिनिधिसभा उम्मेदवार बनेका थिए ।

२०७४ सालमा ललितपुर १ बाट उनी नेपाली कांग्रेसका युवा नेता उदयशमशेर राणालाई पराजित गरेर राजनीतिमा आएका थिए । तर, यसपटक उनै राणासँग सिलवाल पराजित हुन पुगे । राणाले २३ हजार ८९२ मत ल्याउँदा सिलवाल १९ हजार २७८ मा रोकिए ।

यता आफूलाई आईजीपी नबनाएपछि डीआईजीबाट राजीनामा दिएर भ्रष्टाचारविरोधी अभियान सुरु गरेका खरेल काठमाडौं १ बाट चुनावमा उत्रिएका थिए । पछिल्लो समय सुशासन पार्टी दर्ता गरेर दलीय राजनीति सुरु गरेका खरेललाई तीन हजार १२४ मत प्राप्त भयो । उनी समग्रमा चौथो स्थानमा रहे । उनको क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याएर निर्वाचित भए ।

यो क्षेत्रबाट सिंहलाई हराउन वैकल्पिक शक्तिहरु एकमत देखिए पनि चुनावी तालमेल उनीहरुबीच देखिएन । यतिवेला खरेलले राम्रै मत ल्याए पनि कच्चा खेलाडीको विशेषण खेपिरहेका छन् । यद्यपि दलीय रुपमा खरेलको पार्टीले प्राप्त मतलाई उल्लेख्य मानिएको छ ।

यसअघि स्थानीय निर्वाचनमा खरेलको पार्टीका उम्मेदवार केही ठाउँमा निर्वाचित भएका थिए । खरेलले जसलाई आईजीपी बनाएको भनेर राजीनामा दिएका थिए उनै पनि यसपटक चुनावी मैदानमा थिए ।

चुनावअघि मात्र औपचारिक रुपमा एमाले प्रवेश गरेका सर्वेन्द्र खनाललाई काठमाडौं ६ बाट उम्मेवार बनाइएको थियो । तर, यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २०४ मतसहित सांसद चुनिए । सर्वेन्द्र ८ हजार ९११ मत ल्याएर दोस्रो भए । सर्वेन्द्र सेवाबाट बाहिरिएपछि एमालेमा खुलेर लागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर