अशोक भन्छन्- केपी ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा हाम्रो सहयोगी भूमिका हुन्छ (भिडिओ) – Nepal Press
नेपाल टक

अशोक भन्छन्- केपी ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा हाम्रो सहयोगी भूमिका हुन्छ (भिडिओ)

‘मेरो घर धरान रेलवेमा छ, स्थानीय भएकैले प्रतिनिधिको वारेसनामा दिएर पठाउन जनता तयार भइसके’

विराटनगर । सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ४१ हजार ८७८ मतदाता छन । ती मतदातासामु विभिन्न आश्वासन र एजेण्डा बोकेर उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । यस क्षेत्रमा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १, २, ३, ४, ५ वडा र रामधुनी नगरपालिकाको वडा नम्बर ६ र ७ पर्छ । यहाँ त्रिपक्षीय भिडन्तको सम्भावना छ ।

एमाले-जसपा गठबन्धनका अशोक राई, सत्ता गठबन्धनबाट माओवादीका मुक्साहाङ्ग मेन्याङ्वो र एमालेबाटै विद्रोह गरी स्वतन्त्र उठेका मनोज मेनाङ्वोको प्रतिस्पर्धाका कारण यो क्षेत्र चासोका साथ हेरिएको छ ।

एमालेका तत्कालीन उपाध्यक्ष रहेका अशोक एमालेबाट विद्रोह गरेको १० वर्षपछि त्यही पार्टीको समर्थनमा मैदानमा छन् । एकल जातीय पहिचानसहितको प्रदेशको पक्षमा वकालत गर्दै २०६९ मा उपाध्यक्ष राई, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रकम चेम्जोङसहितका नेताहरूले संघीय समाजवादी बनाएका थिए । अहिले राई जसपाका संघीय परिषद् अध्यक्षसमेत हुन् । लामो समय एमालेको नेतृत्वमा रहेका राई एमाले छाडेर जसपा लागेका थिए ।

अहिले भने उनै राईलाई जिताउन एमाले नेता तथा कार्यकर्ता लागेका छन् । २०७४को निर्वाचनमा एमालेका जयकुमार राईसँग २२ हजार ४ सय ५ मत अन्तरले पराजित भएका राईलाई जिताउन स्वयम जयकुमार पनि सँगसँगै हिँडेका भेटिन्छन् ।

अशोक राईका लागि भोट माग्न स्वयं एमाले अध्यक्ष केपी ओलीसमेत शुक्रबार धरान आएर भने- उहाँ त मेरो उपाध्यक्ष हो । राईसँग गरिएको कुराकानी नेपाल टकमा-

– एमाले अध्यक्षले त यहाँलाई उपाध्यक्ष भनेर सम्बोधन गर्नुभयो नि ? पहिला त यहाँ एमालेकै उपाध्यक्ष हुनुहुन्थयो । पूर्व भइरहने कि फेरि उपाध्यक्ष हुने हो ?

राजनीति अनन्त सम्भावनाहरूको खेल हो, हामी अहिले सहकार्यमा छौँ । नेकपा एमाले र जसपा मिलेर नयाँ समीकरणमा मूलुकलाई सम्बोधन गर्ने चेष्टा गरिरहेका छौं । त्यसो भएको हुनाले ‘प्रिजेन्ट टाइम इज त मोष्ट इम्पोर्टेन्ट टाइम ।’ अहिले यही सत्य हो ।

– भविष्यमा उपाध्यक्ष हुने सम्भावना छ ?

भविष्य चाहिँ राजनीतिमा अनप्रेडिक्टेवल हुन्छ । तर, जे हुन्छ त्यो सकारात्मक कुराका लागि हुन्छ । अनन्त सम्भावना हुन्छ राजनीतिमा ।

– तर, यहाँसँग नेकपा एमाले छाडेर गएका यहाँका सहयात्रीहरू एमालेमै फर्किसक्नुभएको छ । हेमराज राई विजय सुब्बाहरू । यहाँ फर्कने सम्भावना के छ ?

यस सम्बन्धमा मैले अघि पनि भनिसकेँ अहिले चाहीँ सहकार्य नै सत्य हो ।

– एमाले र जसपाका बीचमा चुनावी तालमेल भइरहेको छ । यो तालमेललाई प्राकृतिक भएन, मिलेको छैन भन्छन् नि ?

प्राकृतिक केलाई भन्ने ? अहिले हामीसँग जुन गठबन्धन प्रतिस्पर्धामा छ त्यसलाई कति प्राकृतिक भन्ने ? त्यहाँ चित्रबहादुर कामरेड हुनुहुन्छ । प्रचण्ड कमरेड पनि हुनुहुन्छ । त्यहाँ शेरबहादुरजी पनि हुनुहुन्छ प्रधानमन्त्रीको रूपमा । मलाई तीतोकुरा बोल्न त्यति मन पर्दैन । त्यसकारणले कति प्राकृतिक कति अप्राकृतिक भन्ने केलाउनुभन्दा पनि संसद विघटन भएको बेला हामीले यो गलत भयो भन्ने कुरा चाँही उठाएको हो । त्यहाँ हामीले सहकार्य गर्‍यौं र संसदलाई ब्युँताउने काम भयो । संसद भंग गर्नुभएको थियो तत्कालीन प्रधानमन्त्रीले । त्यसलाई ५ बर्ष चल्न दिनुपर्छ भनेका थियौँ हामीले । ५ वर्ष चलिसकेको छ ।

उहाँले नयाँ संसदमा जानुपर्छ भन्नु भएको थियो । अहिले स्वाभाविक र प्राकृतकि बाटोबाट नयाँ संसद ल्याउनका लागि हामी अग्रसर भएका छौँ । यो चुनाव त्यसैका लागि हो । एउटा प्रक्रिया एउटा कालखण्डको पटाक्षेप भएको छ । नयाँ संसद ल्याउने अभ्यासमा हामी रहेका छौँ यसमा समीकरण फेरिएको छ । नयाँ परिस्थिति नयाँ समीकरण । अहिले नयाँ परिस्थिति भएकाले प्राकृतिक/अप्राकृतिक भन्नु आवश्यक छैन ।

– यहाँहरू जतिबेला सत्तामा हुनुहुन्थयो । सत्ता गठबन्धनसँगै चुनावी गठबन्धनको तयारीमा हुनुहुन्थ्यो । यसपछि एकाएक यहाँहरू सरकार छाडेर एमालेसँगको चुनावी तालमेलमा आउनु भयो । एमालेसँग जसपाको चुनावी तालमेललाई भारतले नाचाहेका पात्रहरू एक ठाँउमा आए भन्छन् नि ?

हैन हामीकहाँ चाहीँ पात हल्लियो भनेपनि विदेशी शक्तिले फुक्यो भन्ने प्रचलन छ । यसमा मलाई विश्वास लाग्दैन । त्यो खाले मानसिकताबाट माथि उठ्न जरुरी छ । कसैले हामीलाई मन पराउँछ कि पराउँदैन भन्नेसँग हाम्रो समीकरणको कुनै साइनो छैन ।

– सीट बाँडफाँटको कुरा पनि भइरहेको बेला सत्तागठबन्धनबाछ जसपा आउट र लोसपा इन संयोगमात्रै हो ?

उहाँहरूको कुरा उहाँहरूले नै गर्नुहुन्छ । यसमा मलाई व्याख्या गर्न मिल्दैन । हामीले चाहीँ हाम्रो पार्टीको आवश्यकता, मुलुकको आवश्यकताका बारेमा छलफल बहस गरेर एउटा सुविचारित निष्कर्षका आधारमा यो समीकरण गरेका हौँ ।

अचानकजस्तो भयो । यस कारण कि हामी जुन गठबन्धनमा थियौँ त्यहाँबाट पनि फुत्त उठेर हामीले हिँड्न मिल्दैन थियो । त्यहाँ पनि बहस चलिरहेको थियो । त्यहाँको हाम्रो बहस र छलफलले किनारा पाउन सकेन । स्वाभाविक हिसाबले यतातिर पनि अनौपचारिक छलफल चलिरहेको थियो । नेताहरूका बीचमा कुराकानी त भइरहन्छन् नी ! छलफल चलिरहेकै हुन्छन् । उतापट्टीको सहकार्यलाई समापन र अन्त्य गरेपछि हामीले यता औपचारिक वार्ता थाल्यौँ र यो समीकरण गर्नसक्ने अवस्थामा आइपुग्यौँ ।

– सरसरर्ती हेर्दा/सुन्दाखेर सत्तागठबन्धनसँग भागबण्डामा कुरा नमिलेर एमालेसँग गठबन्धन गर्न आएको देखियो । म्यासेज पनि यही आयो तर एमालेसँगको तालमेल र समीकरणमा पनि सत्तागठबन्धनले दिने भनेको जति पनि सीट क्षेत्र पाउनुभएन नि ?

सीटकै कुरा गर्नुहुन्छ भनेपनि कम त हैन । कुरा सीट र क्षेत्रको मात्रै पनि रहेन । कुरा अरूपनि छन् । अलिकति समस्याहरूलाई कसरी हेर्ने कसरी हल गर्ने भन्ने प्रसंगमा पनि हाम्रो बहस थियो । बीचमा समस्याहरू थिए । संघीयतालाई सुदृढ गर्नका लागि सामान्य प्रशासन मन्त्रालयबाट गएको संघीय निजामती सेवा ऐन ड्र्राफ्ट भएर ८ महिनासम्म पास भएन । संसदमै रोकियो । संसदमा प्रवेश नै पाएन । यसैगरी स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विषेश क्षेत्रहरूसम्बन्धी ऐन ड्राफ्ट भयो त्यो अगाडि बढ्न सकेन ।

यस्ता कुराहरू थुप्रै छन् थिए । कसरी मुलुकको संघीयतालाई वर्कएवेल बनाउने ? स्थानीय तहलाई पनि कसरी बलियो बनाउने ? भन्ने सन्दर्भमा पनि कुरा मिलेको थिएन । चुनाव भन्नेवित्तिकै आफ्नो उपस्थिति बलियो होस् भन्ने चाहन्छ । चुनावमा राम्रो ढंगले उपस्थिति बलियो होस् भन्ने चाहन्छ । त्यो सन्दर्भमा पनि कुनै निकास र किनारा पाउने अवस्था देखिएन । यसले हामीले विकल्प खोज्नुपर्ने अवस्था आएको थियो । यो कुरा वीरगञ्जको बैठकले नै निर्णय गरेको थियो । पछि केन्द्रीय कार्यकारणीको बैठकले कार्यान्वयनमा लग्यो ।

– यहाँ उम्मेदवार भएसँगै धरानमा एमालेले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ कै नारा लिएर मत मागिरहनुभएको छ । कुरा सबै मिलेको हो कि नारामात्रै हो ?

७४ पछिको संयुक्त सरकारमा हामी पनि थियौँ । त्यो सरकारमा त हाम्रा अध्यक्ष उपेन्द्र यादव पनि हुनुहुन्थ्यो । त्यो बेलाको नारा कार्यान्वयनमा लैजाने कुरामा हामीले सहयोगी भूमिका खेलेका हौँ । समृद्ध नेपाल बन्नुपर्छ नेपाली सुखी हुनुपर्छ भन्ने कुरामा विरोध गर्नुपर्ने आपत्तिको विषय वस्तु नै छैन नि । त्यसमा सकारात्मक ढंगले जसले काम गर्छ उसलाई हाम्रो सहयोग रहन्छ ।

– यहाँ अघिल्लो निर्वाचनमा पनि यहाँबाट निर्वाचनमा उठ्नुभयो । यसपटक पनि निर्वाचनमा उठ्नुभएको छ । तर, अशोक राई चुनावका बेला धरानमा आउने हो त्यसपछि गइहाल्ने हो भन्छन् ?

अब धरानमा स्थानीय खोज्ने भन्ने नै हाँस उठ्दो कुरा हो । सबै मान्छे बाहिरबाट आएर यहाँका बासिन्दा भएका छन् । म खोटाङमा जन्मिएपनि मेरो घर धरानको वडा नम्बर १७को रेलवेमा छ । म त्यहाँ बस्छु । म त्यहाँको निवासी हुँ । म यहाँको प्रतिनिधि भएर जान चाहन्छु । यहाँका जनताले मलाई प्रतिनिधिको रूपमा वारेसनामा दिएर पठाउन तयार भइसकेका छन् । जसले यसखाले हावादारी प्रचार गर्छ त्यो त्यसको कमजोरी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर