चुनावी महासंग्राममा ‘गुमनाम’ वामदेव ! ज्वाइँ जिताउन मैदानमा आउलान् ? – Nepal Press

चुनावी महासंग्राममा ‘गुमनाम’ वामदेव ! ज्वाइँ जिताउन मैदानमा आउलान् ?

काठमाडौं । देशमा चुनावी महासंग्राम चलिरहेका वेलामा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम गुमनाम छन् । एमालेबाट अलग भएर नयाँ पार्टी दर्ता गरेका गौतम चुनावी सरगर्मीमा मौन छन् ।

राष्ट्रियसभा सदस्य छाडेर माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्ने सहमति कार्यन्वयन गर्न असफल भएपछि उनी तटस्थ छन् । गौतमका पूर्वसहकर्मीहरु चुनाव लक्षित कार्यक्रमका लागि देश दौडाहामा छन् । तर, उनी एमालेबाट अलग भएपछि जोडिएको सत्ता गठबन्धनसँग पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको भन्दै चिढिएका छन् ।

हँसिया हथौडा चिन्ह लिएर प्युठानबाट चुनाव लड्ने आन्तरिक गृहकार्य थालिसकेको अवस्थामा माओवादीले गौतमलाई सहभागी गराउन चाहेन । गौतमलाई हँसिया हथौडा चिन्ह दिने निर्णयप्रति माओवादी नेताहरुले नै असन्तुष्टि जनाएपछि प्रचण्ड ब्याक भएको नेताहरु बताउँछन् ।

प्युठानमा सत्ता गठबन्धनको सुरुदेखिकै साझेदार पार्टी राष्ट्रिय जनामोर्चाले नछाड्ने अवस्था भएपछि गौतमलाई गठबन्धनमा ल्याउनु नै समस्या पर्ने देखिएको थियो । २०७४ सालको निर्वाचनमा प्युठानबाट जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जितेकी थिइन् । अहिले पनि उनी नै उम्मेदवा। बनेकी छन् ।

२०७० सालको संविधानसभा चुनावमा बर्दिया र प्युठानबाट विजयी गौतम २०७४ मा बर्दियामा पराजित भए । वाम गठबन्धनका साझा उम्मेदवार गौतम बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । सञ्जयले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत पाएका थिए ।

बर्दियामा हारेपछि गौतम प्युठान फर्कन चाहेका थिए । तर, त्यहाँ उनले गठबन्धनबाट टिकट नपाउने परिस्थिति बन्यो । ३० वर्षपछि पहिलोपटक वामदेव उम्मेदवार बन्न पाएनन् ।

सत्ता गठबन्धनमा नअटेपछि असोज २६ गते विज्ञप्ति जारी गर्दै उनले भनेका थिए, ‘सिद्धान्त, विचार, नीति, योजना र देश विकासको स्पष्ट खाकाविहीन अवस्थामा मुलुकका मुख्य राजनीतिक पार्टीहरु दुई गठबन्धनमा आवद्ध भएका छन् । यी दुवै गठबन्धनको उच्चतम उद्देश्य संसदमा आफ्नो पक्षको बहुमत बनाएर आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्नेबाहेक अरु केही रहेको देखिन्न ।’

त्यसपछि उनी मौन छन् । उनले आफ्नो पार्टीका नेता-कार्यकर्तालाई समेत कुनै लोकप्रिय उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

‘प्रचण्डबाट धोका भयो’

स्वार्थ केन्द्रित भएर गठबन्धन गरेको भएकाले दुवै गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता निमकान्त पाण्डे बताउँछन् ।

उनी भन्छन्, ‘हामीले दुवै पक्षका गठबन्धनलाई मतदान गर्दैनौं । जनतासँग निरन्तर जोडिएका लोकप्रिय जुनसुकै व्यक्ति होस्, हामी त्यस्तो व्यक्तिलाई मतदान गर्छौं ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट धोका भएकै कारणले सत्ता गठबन्धनबाट चुनावमा सहभागी हुने निर्णय विफल भएको उनले बताए । ‘दल दर्ताकै समयमा अर्को पार्टीको चिन्हबाट लड्न सँगै दर्ता गर्नुपर्ने रहेछ । तर, हामीलाई धोका दिएर उहाँहरु एक्लै जानुभयो । उहाँहरुको पार्टीबाट निर्णय गराएर हल्ला गरेपछि हामीले पनि त्यहीअनुसारको तयारी थालेका थियौं’, पाण्डेले भने, ‘अब हामी आफ्नै संगठनलाई बलियो बनाउनतिर लाग्छौं ।’

यो चुनावमा अध्यक्षसहित आफ्नो पार्टीका कोही नेता–कार्यकर्ता नलाग्ने उनको भनाइ छ । पाण्डे थप्छन्, ‘हामी यो चुनावअघि कतै खुल्दैनौं । त्यो सम्भावना पनि छैन । अध्यक्षज्यू पनि अहिले पार्टीको संगठन विस्तार र बलियो बनाउनेबारे आन्तरिक रुपमा छलफलमा हुनुहुन्छ ।’

सधैं अस्थिर

कुनै समय नेपाली राजनीतिमा शक्तिशाली गौतम अस्थिरताकै कारण भूमिकाविहीन बनेका छन् । साविक नेकपाभित्रको विवादमा पनि नेता गौतमको अस्थिरको कारणले धरै गिजोलिएको कतिपयले टिप्पणी गर्छन् ।

पार्टीभित्रको विवादको क्रममा कहिले ओली त कहिले प्रचण्ड-माधव कित्तामा उभिन पुग्थे । उनकै कारणले पार्टीभित्रको विवादमा गहिरिँदै गइरहेको थियो ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपाको एकता भंग गर्ने आदेश भएपछि राष्ट्रिय एकता अभियान चलाए । तर, उनको अस्थिर स्वभावकै कारणले त्यो पनि सफल हुन सकेनन् ।

जुन कुरा पछि गौतम आफैंले स्वीकार्दै भनेका थिए, ‘धेरैजसोले वामदेवकै कारण विभाजित भयो भन्ने आरोप लाग्यो । मैले पनि गल्ती गरेकै हो । वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो । यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो । म आत्मालोचित भएको छु ।’

त्यसो त नेकपा र एमाले दुवै विभाजनबाट रोक्न नसकेपछि उनले नेकपा (एकता राष्ट्रिय अभियान) दल घोषणासमेत गरे । एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग नजिक भए पनि जबजको कारण देखाउँदै प्रवेश गर्ने रहर देखाएनन् ।

उनले नेकपा व्युँताउन भन्दै साविक नेकपाको बहुमत सदस्य (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) को पटक-पटक बैठक पनि राखे । तर, उनले सोचेझैं वार्ता अघि बढेन ।

उनले अहिलेमात्रै नभएर यसअघि २०५३ सालमा एमालेले संसदबाट महाकाली सन्धि अनुमोदन गरेपछि पार्टी फुटाएर हिँडेका थिए । उनले त्यसबेला पनि एमाले विभाजन गरेर २०५४ सालमा नेकपा माले गठन गरेका थिए । उनले महाकाली सन्धिलाई राष्ट्रघाती भएको ठहर गरेका थिए । भलै, अहिले आएर ओलीले पनि महाकाली सन्धि गरेर कमजोरी भएको स्वीकारिसकेका छन् ।

एमालेबाट विद्रोह गरेर बाहिरिएका गौतमको पार्टी नेकपा मालेले २०५६ सालक‍ो आमनिर्वाचनमा प्रतिनिधिसभाका २०५ सीटमा एक सीट पनि जित्न सकेन । निर्वाचनमा पार्टीको अस्तित्व जोगाउन नसकेपछि २०५८ सालमा उनी एमालेमै फर्किएका थिए ।

त्यसपछि एमालेमा शक्तिशाली नेताको रुपमा स्थापित गौतमलाई साविकको नेकपामा पनि पार्टीको विधान संशोधन गरेर उपाध्यक्ष बनाइएको थियो । तर, उनको अस्थिर स्वभाव र ओली-प्रचण्ड-माधवको स्वार्थको टकराबकै कारणले त्यो पार्टी पनि टिक्न सकेन ।

२०७४ सालमा वाम गठबन्धन गरेर कांग्रेसलाई २३ सीटमा खुम्च्याएको कम्युनिष्ट पार्टीहरु छिन्नभिन्न बनेका छन् । साविक नेकपा अहिले चार दलमा विभाजित भएको छ । विभाजित बनेर दुई दल (माओवादी र नेकपा एस) कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छन् । मुख्य घटक एमाले मधेस केन्द्रित दल जसपा, राप्रपा, राप्रपा नेपाललगायतको दलसँग तामलेल गरेर चुनावी प्रतिस्पर्धामा छ । गौतम नेतृत्वको दल तटस्थ बसेको छ ।

प्रधानमन्त्रीको महत्वाकांक्षा

तीन पटकसम्म उपप्रधानमन्त्री एवम् गृहमन्त्री भइसकेका गौतमको अझै प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्ने आश मरेको छैन । उनीसँगै राजनीति थालेका ओली, प्रचण्ड, डा. बाबुुराम भट्टराई, माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भइसक्दा उनी हुन सकेका छैनन् । अब उनको त्यो सम्भावना पनि क्षीण बन्दैछ ।

तर, उनको आश अझै जीवित छ । अहिले राष्ट्रियसभा सदस्य रहेका गौतम प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लड्न चाहन्थे । तर, त्यो प्रयास सफल भएन । राष्ट्रियसभा छाडेर प्रतिनिधिसभामा लड्न खोज्नुको मूल उद्देश्य पनि त्यही हो ।

माओवादीको चुनाव चिन्हबाट लड्ने सहमति भएपछि उनले साउन ३१ गते भनेका थिए, ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु । त्यसो भएर जित्न म यसमा आएको छु । जित्ने आधार भनेको गठबन्धन हो । हँसिया हथौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरू सबै गठबन्धन र पार्टीभन्दा अघि छ ।’

यसअघि पनि २०६६ मा माधव नेपालको सरकार गठन र उनकै सरकार ढालेर २०६८ मा झलनाथ खनाल नेतृत्वको सरकार गठनमा पनि गौतमले निर्णायक भूमिका खेलेका थिए । त्यसपछि २०७२ मा केपी ओली नेतृत्वको सरकार गठनमा पनि गौतम नै निर्णायक रहे । सरकार बनाउने र गिराउन निर्णायक भूमिका रहे पनि गौतम स्वयम् भने प्रधानमन्त्री बन्न सकेनन् ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता गराउन गौतम अग्र पंक्तिमा खटे । नेकपाभित्रको अन्तर्विरोधमा ओलीले गौतमलाई देखाएको आश आशैमा सीमित रह्यो । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गर्न अझै उनले आवाज उठाइरहेका छन् ।

वामदेवले छाड्दा उनका ज्वाइँ मैदानमा

वामदेव २०४८ सालदेखि २०७४ सम्म आउँदा ६ पटक चुनाव लडे । तीन पटक जीत र तीनै पटक हार व्यहोरेका वामदेव अहिले तटस्थ छन् । उनी तटस्थ बस्दा बर्दिया १ मा उनका बहिनी ज्वाइँ लक्ष्मण ज्ञवाली मैदानमा छन् ।

नेता ज्ञवाली एमालेभित्र सधैं गौतम निकट नै भएर काम गरेका थिए । तर, नेकपाभित्रको विवादमा गौतम छाडेर ओली कित्तामा पुगेका थिए । उनी पहिलो पटक निर्वाचनमा होमिँदैछन् ।

नेता गौतम तटस्थ बसे पनि ज्वाइँलाई जिताउन उनका छोरा हरिषदेव र उनका श्रीमती तुलसा गौतम लागिसकेका छन् । गौतम अन्त तटस्थ बसे पनि बर्दिया १ मा आफ्नो पुरानो विरासत जोगाउन भए पनि ज्वाइँ ज्ञवालीलाई जिताउनुपर्ने बाध्यतामा छन् ।

सो क्षेत्रमा गठबन्धनको तर्फबाट २०७४ मा गौतमलाई नै हराएका सञ्जयकुमार मैदानमा छन् । लक्ष्मण ज्ञवाली बर्दियामा इमानदार र कहिल्यै अवसर नपाएका नेताका रुपमा परिचित छन् । उनीप्रति वामदेवको सहानुभूति रहनु स्वाभाविक नै हो । उनी निकट मानिने नेता-कार्यकर्ता पनि ज्ञवालीको चुनावी अभियानमा उत्रिएका छन् ।

गौतम भने खुलेर चुनाव प्रचारमा निस्कने सम्भावना नरहेको पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर