समाजवादको आधार सामाजिक उद्यमशीलता – Nepal Press

समाजवादको आधार सामाजिक उद्यमशीलता

आम रुपमा बुझिने उद्यमशीलताको अवधारणाभन्दा बिलकुल भिन्न अवधारणा हो सामाजिक उद्यमशीलता । यद्यपि यी दुई फरक अवधारणाका बीच थुप्रै समानता छन् । सिर्जनात्मक उद्देश्यमा यिनीहरुको भिन्नता छुट्टिन्छ । सामाजिक उद्यमशीलता नाफामुखी हुँदैन । यसले समाजको बृहद रुपान्तरणमा जोड दिन्छ । सामाजिक उद्यमीहरुले विभिन्न खालका साधन र स्रोतको प्रयोग गरी समाजको उत्थानमा टेवा दिन्छन् । मानव जीवन सुधार गर्न यसले समुदाय, समाज र विश्वव्यापी हितका समस्याहरु समाधान गर्ने वा कम्तिमा कम गर्ने लक्ष्य राख्दछ । व्यापार वा व्यवसायिक क्षेत्रका कार्यहरु पूरा गर्न विशेष गरी विज्ञापनका विशिष्ट विधिहरु र भाषण (नारा) प्रयोग गर्दछ ।

सामाजिक उद्यमशीलताका चार गुण हुन्छन् । (१) सिर्जना (२) उद्यमशील (३) सामाजिक प्रभाव र (४) नैतिक मूल्य र मान्यता । सन् १९८० को दशकमा विकास भएको सामाजिक उद्यशीलताको अवधारणालाई खास गरेर पाकिस्तानी विकासविद् एवं समाज वैज्ञानिक अख्तर हमिद खान र बङ्गलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले प्रवर्द्धन गरेका हुन् । अख्तर हमिद खान विकासोन्मुख देशमा सहभागितामूलक ग्रामीण विकासको प्रवर्द्धन गर्ने व्यक्ति हुन् ।

उनका अनुसार विकासका लागि सामुदायिक सहभागिता हुनुपर्दछ । उनको प्रयासको कदरस्वरुप उनलाई एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागेसेसे पुरस्कार दिइएको थियो । मोहम्मद युनुस ग्रामीण बैंकका संस्थापक हुन् । उनले नव-प्रवर्द्धनलाई प्रोत्साहन गर्ने लघु कर्जाको अवधारणा ल्याएका थिए । सामाजिक विकासको यो मोडेल एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा लोकप्रिय छ । उनको यो प्रयासको कदरस्वरुप नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

सामाजिक उद्यमीहरुका क्षेत्रहरु हुन्- सामाजिक कार्य, समुदाय विकास, उद्यमशीलता र वातावरण विज्ञान । तसर्थ सामाजिक उद्यमीहरु को को हुन् भनेर ठ्याक्कै परिभाषित गर्न सकिन्न ।

सामाजिक उद्यमीहरुका क्षेत्रहरु हुन्- सामाजिक कार्य, समुदाय विकास, उद्यमशीलता र वातावरण विज्ञान । तसर्थ सामाजिक उद्यमीहरु को को हुन् भनेर ठ्याक्कै परिभाषित गर्न सकिन्न । उनीहरुलाई सामाजिक नवप्रवर्तक (सोसल इनोभेटर) पनि भन्ने गरिन्छ । किनकि उनीहरुले परम्परागत नभएर सिर्जनात्मक रणनीति प्रयोग गर्दछन् । सामाजिक उद्यमशीलता परोपकारी प्रकृतिको उद्यमशीलता हो, जसले बृहत्तर सामाजिक हितलाई ध्यान दिन्छ । यो अन्य स्वेच्छिक क्षेत्र र च्यारिटी (दान) सम्बन्धित गतिविधिहरुभन्दा भिन्न हुन्छ । यसको माध्यमबाट सामाजिक पूँजीलाई सकारात्मक सामाजिक रुपान्तरणतर्फ लैजान सकिन्छ ।

मोहम्मद युनुसले प्रतिपादन गरेका सामाजिक उद्यमका सात सिद्धान्त

सामाजिक व्यवसायले सामाजिक समस्या सम्बोधन/समाधान गर्छन् । यसबाट समग्र अर्थतन्त्रमा सकारात्मक तरंग पैदा हुन्छ । सामाजिक उद्यमका सिद्धान्तले अरु सिद्धान्तले जस्तै आफ्नो उद्देश्य र सञ्चालन विधिको परिभाषा गर्छन् । यी सिद्धान्तलाई विश्वभरका सामाजिक उद्यम गर्ने/वा प्रवर्द्धन गर्ने संघ, संस्था वा व्यक्तिले पालना गर्दछन् :

  • गरिबी निवारण गर्ने र जल्दाबल्दा सामाजिक विषय सम्बोधन गर्ने ।
  • वित्तीय तथा आर्थिक स्थायित्व कायम गर्ने ।
  • यस्तो व्यवसायमा लगानीकर्ताले आफ्नो लगानी उचित प्रतिफलसहित मात्रै फिर्ता पाउँछन् । तर, व्यवसायबाट निरन्तर नाफा भने पाउँदैनन् ।
  • लगानीको रकम भुक्तान भएपछि कम्पनीको नाफा कम्पनीमा नै रहन्छ र कम्पनीको थप विस्तार र सुधारमा खर्च गरिन्छ ।
  • वातावरणीय चासोलाई ख्याल गरेर व्यवसाय प्रवर्द्धन गरिन्छ ।
  • कामदारले न्यायोचित पारिश्रमिक पाउने सुनिश्चितता हुन्छ ।
  • आनन्द र हर्षले आफ्नो रुचि र चासोका क्षेत्रमा काम गर्ने वातावरण हुन्छ । नाफा आर्जन गर्ने दबाब हुन्न ।

सामाजिक व्यवसायले सामाजिक समस्या सम्बोधन/समाधान गर्छन् । यसबाट समग्र अर्थतन्त्रमा सकारात्मक तरंग पैदा हुन्छ ।

को हुन् सामाजिक उद्यमी ?

समकालीन समाजका जल्दाबल्दा समस्या समाधान गर्ने मनसायले सिर्जनात्मक र नवप्रवर्द्धनात्मक सोच भएका व्यक्ति नै वास्तवमा सामाजिक उद्यमी हुन् । नाफा आर्जन गर्नु उनीहरुको दोस्रो प्राथमिकता हुन्छ । त्यसैले यिनीहरु आफ्नो कर्ममा दत्तचित्त र दृढ भएर लाग्छन् । उनीहरुमा उच्च तहको प्रेरणा हुन्छ र समाजमा देखिने परिवर्तन ल्याउने उत्कृष्ट अभिलाषा रहेको हुन्छ ।

सामाजिक उद्यमीमा समग्र समाजको अनुहार बदल्ने गरी काम गर्ने उत्साह हुन्छ । स्वास्थ्य, सरसफाइ, शिक्षालगायतका हरेक क्षेत्रमा उनीहरु क्रियाशील भएको पाइन्छ । यिनीहरुले आधुनिक अन्वेषण र खोजको क्षेत्रमा पनि परिवर्तन गर्ने काम गरेको पाइन्छ । जस्तो कि हामी हाम्रै देशका महावीर पुन, डा. सन्दुक रुइतलाई लिन सक्छौं । उनीहरुले प्रणालीगत सुधारमा काम गर्छन्, नयाँ–नयाँ समाधानका विधि र अभ्यास संस्थागत गर्छन् ।

प्रसिद्ध अमेरिकी मानव अधिकार नेतृ सुसान बी एन्थोनी, भारतकी दलित अभियन्ता विनोभा भावे, मण्टेश्वरी शिक्षाकी प्रणेता मारिया मण्टेश्वरी, नर्स प्mलोरेन्स नाइटिंगेल र परिवार नियोजन प्रणालीलाई विश्वव्यापी बनाउने अभियन्ता मार्गरेट सेन्जर विश्व प्रख्यात सामाजिक उद्यमीहरु हुन् । त्यस्तै नेपालमा पनि हामी थुप्रै यस्ता व्यक्ति पाउँछौं, जो सामाजिक उद्यमको सोचबाट समाज परिवर्तन गर्ने अभियानमा अहोरात्र खटिरहेका छन् ।

पूँजीवादले उत्पन्न गरेको संकटको समाधान गर्नसक्छ सामाजिक उद्यमशीलताले

‘आर्थिक असमानता’ राजनीतिमा सदियौंदेखि तातो बहसको विषय हुने गरेको छ । शक्तिशाली राजनीतिक, सामाजिक आन्दोलन र महत्वाकांक्षी प्रयासहरु नभएका पनि होइनन् यस विषयलाई सम्बोधन गर्न । विश्वभर नै यही मुद्दालाई लिएर रक्तपातपूर्ण आन्दोलन भएर जनधनको समेत ठूलो क्षति भएको छ । नेपालमा पनि २००७ साल यतादेखिका हरेक खालका आन्दोलनमा यस्तो भएको छ । सामाजिक न्याय स्थापना गर्ने, गरिबी निवारण गर्ने, आर्थिक असमानता हटाउने भन्ने कुरा सबै राजनीतिक दलका साझा एजेण्डा हुन् । तर, यथार्थमा त्यसो हुन सकेको छैन । पूँजीवाद हावी भएको छ । जसले गर्दा असमानताको खाडल झन् झन् गहिरिँदै गएको छ ।

सामाजिक उद्यमीमा समग्र समाजको अनुहार बदल्ने गरी काम गर्ने उत्साह हुन्छ । स्वास्थ्य, सरसफाइ, शिक्षालगायतका हरेक क्षेत्रमा उनीहरु क्रियाशील भएको पाइन्छ । यिनीहरुले आधुनिक अन्वेषण र खोजको क्षेत्रमा पनि परिवर्तन गर्ने काम गरेको पाइन्छ ।

पूँजीवादी व्यवस्थामा नाफाका लागि प्रतिस्पर्धा हुन्छ । उत्पादन अत्यधिक हुँदा मूल्यमा गिरावट आउँछ । श्रमिकको ज्याला घट्छ, बेरोजगारी बढ्छ र नाफाको दरमा पनि क्रमशः गिरावट आउँछ र आर्थिक मन्दीको अवस्था सिर्जना हुन्छ । पूँजीवादी व्यवस्थामा उल्लेखित समस्याहरु चक्रिय रुपमा भई नै रहन्छन् । पूँजीवाद उत्पादक भयो भने मात्र उद्योग व्यवसाय फस्टाउँछन्, थप रोजगारीको सिर्जना हुन्छ । यसबाट नाफा, अर्को अझ ठूलो उद्योग, अझ थप रोजगारी र नाफा बढ्दै जान्छ । तर, व्यवहारतः हामी त्यस्तो भएको छैन र त विश्वव्यापी संकट देखिँदैछ । यो संकटको प्रभाव बहुआयामिक हुन्छ । यसले मान्छेको प्रगति, सामाजिक एकता, मानव अधिकार र प्रजातन्त्रलाई पनि संकटमा लैजान्छ ।

मानिस स्वार्थी प्राणीमात्रै पनि होइन भन्ने कुरा उनीहरुका परोपकारी भावना र चाहनामा देख्न सकिन्छ । यदि त्यसो हुन्थेन भने कसैले पनि त अप्ठ्यारो, जोखिमयुक्त जटिल काम गरेर अरुलाई सहयोेग गर्ने थिएनन् । लाखौंको संख्यामा न्यून वेतन, ज्याला, तलबमा काम गर्ने विद्यालय तहका शिक्षक, सामाजिक कार्यकर्ता, नर्सहरु, नागरिक अभियन्ता, स्वयंसेवकहरुलगायतका सेवा यसैका ज्वलन्त उदाहरण हुन् ।

हामी सैद्धान्तिक/दार्शनिक विरोधाभाषका बीच बाँचिरहेका छौं । अझै पनि खुला बजारमुखी पूँजीवादले सबै प्रकारका मानवीय समस्या समाधान गर्ने एकमात्र उत्कृष्ट प्रणाली मान्दछन् । सँगसँगै अर्कोतिर खुला बजार प्रणालीका कमीकमजोरी पनि स्वीकार्दै ती कमीकमजोरी हटाउन र समाधान गर्न प्रत्येक वर्ष खर्बौं डलर खर्चिने गर्छन् । तर पनि समस्या झन् गहिरिँदै गएको छ । मुठ्ठीभर मान्छेका हातमा पूँजी केन्द्रीकृत भैरहेको छ । तसर्थ अब अर्थतन्त्रको परम्परागत ढाँचालाई पुनर्संरचना गर्न जरुरी छ ।

यस्तो पुनर्संरचित आर्थिक प्रणालीमा मुख्य तीन तत्व हुन्छन्ः (१) सामाजिक व्यवसायको अवधारणालाई आत्मसात गर्ने । जुन व्यक्तिगत स्वार्थभन्दा माथि मानव कल्याणमा आधारित हुन्छ । (२) मान्छेहरु मात्र जागिर खोज्छन् भन्ने मान्यता त्यागेर उनीहरु उद्यमी बन्न सक्छन् भन्ने मान्यता स्थापित गर्ने । (३) समग्र आर्थिक/वित्तीय प्रणालीलाई पिंधमा रहेको वर्गको उत्थान गर्ने गरी पुनर्संरचना गर्ने ।

पूँजीवादी व्यवस्थामा नाफाका लागि प्रतिस्पर्धा हुन्छ । उत्पादन अत्यधिक हुँदा मूल्यमा गिरावट आउँछ । श्रमिकको ज्याला घट्छ, बेरोजगारी बढ्छ र नाफाको दरमा पनि क्रमशः गिरावट आउँछ र आर्थिक मन्दीको अवस्था सिर्जना हुन्छ ।

नयाँ सभ्यताको विकास गर्न सामाजिक उद्यम/व्यवसाय जस्तोे प्रति-अर्थशास्त्र (काउन्टर इकोनमिक्स) को विकास गर्नुपर्दछ । असमानता हटाउने पुरातन माध्यमहरु- च्यारिटी र सरकारी कार्यक्रमले मात्रै माथि उल्लेखित समस्या समाधान गर्न सकिन्न । यसका लागि परम्परागत पूँजीवादी माइण्ड सेट बदल्नुपर्छ । स्वार्थरहित सामाजिक उद्यमतर्फ अग्रसर हुनुपर्दछ । सुन्दा सानो प्रयास लाग्नसक्छ । तर, यसैको माध्यमबाट मानवीय समस्या सम्बोधन गर्न सकिन्छ ।

विश्वव्यापीकरणको वर्तमान युगले विश्व मानव परिवारको सिर्जना गर्दै मानिसहरुका बीच अझ बढी सामिप्यता, भाइचारा र बन्धुत्वको विकास गर्न सक्नुपर्थ्यो । तर, यथार्थमा विश्वव्यापीकरणले व्यापक रुपमा तनाव र द्वन्द्व सिर्जना भैरहेको छ । मानिसहरु र राष्ट्रहरुका बीचमा आ-आफ्नो स्वार्थअनुसारको चासो पूरा गर्ने होडबाजी छ । विश्वयुद्ध ताकाको वेलामा जस्तै विश्व ध्रुवीकृत भैरहेको छ ।

रुस-युक्रेन युद्धको तनावले शीतयुद्धकालीन समयको झल्को दिइरहेको छ । शक्ति राष्ट्रहरुका बीच विश्वशक्ति/महाशक्ति बन्ने होडबाजी छ । चीन र अमेरिकाबीच व्यापार युद्ध छ । आर्थिक सिद्धान्तभित्र पर्ने शून्य-परिणाम (जिरो सम) को मान्यताले सबैलाई आर्थिक लडाइँमा विजेता बन्न प्रेरित गर्दा- अर्कातिर सबैले पराजय व्यहोर्नुपर्ने अवस्था सिर्जना भैरहेको छ । अति राष्ट्रवाद, विदेशीलाई घृणा गर्ने (जेनोफोयिबा), सर्वत्र अविश्वास र त्रासजस्ता कुरा त्यसैको परिणाम हुन् ।

देश यतिवेला आमनिर्वाचनको संघारमा छ । तर, पार्टीहरुका अर्थ-राजनीतिक मुद्दामा नवीन सोच, विचार र दृष्टिकोण देखिँदैन । घोषणापत्रमा यस्ता कुराले प्राथमिकता पाएका छैनन् । तीन दशकअघि देखिका बासी मुद्दा बोकेर हिंडिरहेका छन् । आशा गरौं, अब हामी विश्व दृष्टिकोण बुझ्दै आफ्नै मौलिक खालको अर्थ-राजनीति निर्माण गर्न सकौं । सबै नीतिको सर्वोच्च नीति राजनीति भएकाले राजनीतिज्ञहरु र क्रियाशील राजनीतिक दलमा सामाजिक उद्यमको चेत आउन सकेमात्र समृद्धि हासिल हुनसक्छ । समाजवादतर्फको यात्राले तबमात्र गति लिन सक्नेछ ।

(लेखक  पाैडेल लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका अध्यापक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *