मेयरको टिकट लिएर जाँदा कार्यकर्ताले कुटे, अहिले सत्ता गठबन्धनविरुद्ध बागी उठे – Nepal Press

मेयरको टिकट लिएर जाँदा कार्यकर्ताले कुटे, अहिले सत्ता गठबन्धनविरुद्ध बागी उठे

काठमाडौं । गएको स्थानीय तह निर्वाचनमा प्रदेश कमिटीको सिफारिसमा मेयरको टिकट लिएर हेलिकोप्टरमार्फत् जिल्ला पुगेका कांग्रेस नेता धर्मराज पोखरेललाई पार्टीकै कार्यकर्ताले हातपात गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गर्न पुगेका धर्मराजमाथि धरपकड भयो ।

धर्मराजको उम्मेदवारीविरुद्ध जिल्लाको पार्टी कार्यालयमा तालाबन्दीसमेत गरिएको थियो । धर्मराजलाई नभई जिल्ला उपसभापति तीर्थराज भट्टराईलाई टिकट दिनुपर्ने माग राखेपछि उनी पछि सरे । धर्मराजको टिकट खोसियो । अन्ततोगत्वा तीर्थराजले नै टिकट पाए । निर्वाचनमा एमालेका कुमार आचार्यलाई पराजित गरेर तीर्थराज मेयरमा निर्वाचित पनि भए ।

स्थानीय तह निर्वाचनको घाउ राम्रोसँग निको हुन नपाउँदै धर्मराज फेरि पार्टीको कारबाहीमा परेका छन् । खोटाङमा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीको कारबाहीमा पर्ने निश्चित भएको छ ।

सत्ता गठबन्धनको तर्फबाट खोटाङमा संघका लागि माओवादी केन्द्रका रामकुमार राई पासाङ, प्रदेश (क) मा नेकपा एसका बिरकलकाजी राई र (ख) मा कांग्रेसका भूपेन्द्र राईको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनले खोटाङमा कांग्रेसलाई एउटामात्रै सीट दिएपछि कांग्रेस जिल्ला कमिटी नै आक्रोशित बनेको थियो । कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईका अनुसार सत्ता गठबन्धनले न्यायोचित रुपमा टिकट वितरण गरेन । उनले नेपालप्रेससँग भने, ‘हाम्रो जनमतमाथि सत्ता गठबन्धनले अन्याय गर्‍यो । ११०० मत भएको नेकपा एसलाई प्रदेशको टिकट दियो ।’

टिकट वितरणमा अन्याय भयो भनेर जिल्लाका नेताहरु काठमाडौं पनि पुगे । तर, उनीहरुको माग सुनुवाइ भएन । यसपछि पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति सुवासकुमार पोखरेल र धर्मराज पोखरेलले सत्ता गठबन्धनको निर्णयविरुद्ध बागी उम्मेदवारी दिए ।

तर, पार्टीले असोज ३१ गतेसम्म बागी दिएकाहरुले उम्मेदवारी फिर्ता गर्नुपर्ने अल्टिमेटम दिएपछि सर्वधन र सुवास ब्याक भए । धर्मराजले भने उम्मेदवारी फिर्ता गरेनन् । बरु पार्टीको कारबाही सहने भनेर बागी उठे । अहिले ‘धारा’ चुनाव चिह्न पाएर चुनावी प्रचारमा लागेका धर्मराजले आफू बागी नभएको दाबी गर्दै भने, ‘म कुनै बागी होइन । म स्वतन्त्र हो ।’

सत्ता गठबन्धन हुनुपर्छ भनेर प्रचारप्रसारका गीत पनि तयार गरेका धर्मराजले टिकट नपाएपछि गीत पनि सार्वजनिक गर्न पाएनन् । लोकगायक उनले नेपालप्रेसलाई भने, ‘गठबन्धन हुनुपर्छ भनेर गीत बनाउने मान्छे हो म । तर, गीत सार्वजनिक गर्न नपाउँदै खोटाङमा गठबन्धनको औचित्य सकियो । खोटाङमा कांग्रेसको जनमतको कदर गर्न स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’

तर, हेर्दाखेरि स्वतन्त्र जस्तो देखिए पनि आफू कांग्रेसको आधिकारिक उम्मेदवार भएको दाबी धर्मराजको छ । उनले भने, ‘मलाई खोटाङको सम्पूर्ण कांग्रेसको समर्थन छ । टिकट वितरणमा सत्ता गठबन्धनले गरेको अन्यायको विरुद्धमा खोटाङ कांग्रेस छ । प्रदेश (क) मा ११२६ भोट भएको नेकपा एसका उम्मेदवारलाई १७ हजार मत भएको कांग्रेसले भोट हाल्दैन । त्यसैले हेर्दा स्वतन्त्र जस्तो देखिए पनि म कांग्रेसको आधिकारिक उम्मेदवार हो ।’

जिल्ला पार्टी सभापति विष्णुकुमारले पनि खोटाङमा कांग्रेसको आधिकारिक उम्मेदवार नै धर्मराज भएको बताए । केन्द्रले अन्याय गरेका कारण सत्ता गठबन्धनविरुद्ध सिंगो कांग्रेस एक ठाउँमा उभिनु परेको उनको तर्क छ । केन्द्रले कारबाहीको धम्की दिए पनि त्यसलाई झेल्नसमेत आफूहरु तयार भएको बताउँदै उनले भने, ‘पार्टीले कारबाही गर्दैगर्दा सिंगो कांग्रेसलाई कारबाही गर्नुपर्छ । त्यो सम्भव छैन । त्यसैले हाम्रो भोट धर्मराजलाई जान्छ ।’

गएको स्थानीय तह चुनावमा थोरै गज्याङगुजुङ भए पनि अहिले पार्टी एक ढिक्का भएर आफ्नो पक्षमा उभिएको धर्मराजको दाबी छ । अलि लफडा भएपछि तीर्थराजलाई मेयरको टिकट छाडिदिएको र सबै कांग्रेस मिलेर जिताएकाले पनि यसपटक आफूले कांग्रेसको सिंगो मत ल्याउने बताए ।

प्रदेश (क) मा कांग्रेसको १७ हजार हाराहारी मत छ भने एमालेको १३ हजार हाराहारी छ । माओवादीको आठ हजार हाराहारी छ । यस हिसाबले आफ्नो जीत सुनिश्चित भएको धर्मराजको दाबी छ । तर, माओवादीले आफूलाई सहयोग गरेको खण्डमा मात्रै कांग्रेसले माओवादीको संघका उम्मेदवार पासाङलाई भोट हाल्ने बताए ।

सभापति विष्णुकुमारले पनि यदि माओवादीले धर्मराजलाई सहयोग गरेको खण्डमा संघमा माओवादीलाई सहयोग गर्ने बताए । उनले भने, ‘यदि माओवादीले धर्मराजलाई सहयोग गरेको खण्डमा संघमा उहाँहरुलाई सहयोग हुन्छ । धर्मराजलाई सहयोग नगरी संघमा जितिन्न भनेर उहाँहरुले राम्रैसँग बुझ्नुभएको छ ।’

सत्ता गठबन्धनविरुद्ध खोटाङमा एमालेको तर्फबाट संघमा विशाल भट्टराई र प्रदेश (क) मा पाँचकर्ण राई उम्मेदवार रहेका छन् । धर्मराजले बागी उम्मेदवारी दिएपछि कांग्रेसको धेरै भोट आफूहरुलाई आउने एमाले नेताहरुको आँकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर